चीनमा झुण्डिए नेपाली ठिटा

इलाम जिल्ला साविक गाविस वडा नं. ५ (हाल इलाम नगरपालिका वडा नं. २) स्थायी बसोवास भएका ४२ वर्षीय भाष्कर दियालीको गत हप्ता युन्नान प्रान्तको हिमाली भूभाग सांग्रिलामा मृत्यु भएको छ । चिनियाँ युवतीसँग बिहे गरेर रेष्टुरेण्ट चलाउँदै आएका भाष्करले आत्महत्या गरेको खुन्मिङबाट एक नेपाली महिलाले टेलिफोनमा जनआस्थालाई बताइन् । 
 
भाष्करलाई एकजना तिब्बतीले २०५६ सालमा लिएर गएका थिए । ती व्यक्ति लामो समयसम्म यतै बसेकाले राम्रोसँग नेपाली भाषा बोल्न जान्दथे । बौद्धमा भाष्कर उनकै रेष्टुरेण्टमा कुकको काम गर्थे । ती दयालु तिब्बतीले चीनको गान्सु प्रान्तमा लगेर आफ्नो रेष्टुरेण्टमा कुकको काम दिए । त्यहाँ चार वर्षसम्म काम गरेर २०६० सालमा छिङघाइ गए । त्यहाँ केही समय तिब्बती रेष्टुरेण्टमै काम गरेर सिचुवान प्रान्तको चेङ्दु पुगे । त्यहाँ पनि तिब्बती रेष्टुरेण्टमै काम गरे । २०६३ सालमा पुगे चीनकै युन्नान प्रान्तको सांग्रिला भन्ने ठाउँमा । यो पर्यटकका लागि अन्यन्त आकर्षक ठाउँ हो । सबै तिब्बती जातिका मानिसहरु बसोबास गरेको सांग्रिला सफा र चिटिक्क परेको छ । त्यो ठाउँमा जान हरेक पर्यटकले ११५ युआनको टिकट काट्नुपर्छ । त्यस्तो ठाउँमा पुगेका भाष्करले एउटा तिब्बती रेष्टुरेण्टमा भान्छेको काम गर्न थाले ।
 
अरुकोमा काम गर्दागर्दै तिब्बती मूलकी चिनियाँ युवतीसँग २०६७ सालमा बिहे गरे । ‘भाष्कर रेष्टुरेण्ट’ चलाउन थाले । नेपालका कला शैलीले सिँगारिएको भाष्कर रेष्टुरेण्ट निकै आकर्षक थियो । कमाइ पनि राम्रै थियो । भाष्करका छोरा ६ वर्षका भइसके ।
 
सांग्रिलामा निकै राम्रो प्रतिष्ठा बनाएका भाष्करका ससुराली ठीकै आर्थिक अवस्थाका थिए । यो वर्ष ससुराले छोरीज्वाइँका लागि घर बनाइ दिने बताएका थिए । तर सुनौला भविष्य र सपनाहरुलाई पन्छाउँदै आवेगमा आएर भाष्करले इहलीला समाप्त पारेका छन् । गत हप्ता साउन ३२ गते बुधबार राति पासो लगाएर आत्महत्या गरेका छन् । भाष्करको मृत्युले इलामको सुम्बेक शोकमग्न बनेको छ भने चीनमा श्रीमती र छोरा पनि बेसहारा बनेका छन् ।
 
कसरी गरे आत्महत्या
 
हँसिलो अनुहारका भाष्कर काममा निकै मिहिनेती थिए । यसै कारण जहाँ–जहाँ काम गरे त्यहाँ राम्रो प्रभाव छोडे । मानिसमा राम्रा गुण मात्र हुँदैनन् केही कमजोरी पनि हुन्छन् । भाष्करमा पनि रिसाउने र आबेगमा आउने नराम्रो अवगुण थियो । उनीसँग रेष्टुरेण्टमा काम सिकेका व्यक्तिहरु उनको रिससँग निकै परिचित थिए । रिस उठेपछि अगाडि जो छ त्यसैलाई, जे पायो त्यहीले हान्न पछि पर्दैन थिए । उनलाई नजिकबाट चिन्नेहरुले उनको छेउमा हतियार राख्नु हुँदैन भन्थे । श्रीमतीसँग कहिलेकाहीँ झैझगडा भइरहन्थ्यो । 
 
गत बुधबार पनि राति सुत्ने बेला पति–पत्नीबीच झगडा भयो । त्यतिबेला छोरा मामाघर गएका थिए । भाष्करले श्रीमतीलाई त्यो दिन पनि बेस्सरी पिटे । श्रीमती पिटेपछि पनि रिस मरेन । मध्यरातमा कोठाबाट निस्किए । ढोकाको छेस्केनीलाई बाहिरबाट मोबाइल चार्ज गर्ने चार्जरको तारले बाँधेँ र ढोकाको छेउमै पासो लगाएर झुण्डिए ।
 
भाष्करकी श्रीमतीले केही थाहा पाइनन् । जब बिहान उठेर ढोका खोल्न खोजिन्, बाहिरबाट बाँधेको ढोका खुलेन । जोड लगाएर तानेपछि खुल्यो । एकाबिहानै लोग्ने झुण्डिरहेको देखिन् । हत्तपत्त डोरी काटिन् । तर भाष्करको प्राण राति नै उडिसकेको थियो । श्रीमतीले प्रहरीलाई खबर गरेपछि प्रहरीले लास लगेर अनुसन्धान थालेको छ ।
 
वियोगको श्रृंखला 
यतिबेला इलाम सुम्बेकमा भाष्करको कान्छा भाइ रितुकान्त दियाली मात्र छन् । रितुकान्तको परिवारको वियोगको कथा भाष्करको मृत्युमा मात्र सीमित छैन । जेठो दाइ बेपत्ता भएको तीस वर्षभन्दा बढी भयो । माइलो भाष्कर निकै मिहिनेती र चलाख थिए । साइँलो भाइ काम गर्न गएको बेला दुई वर्षअगाडि खाडी मुलुकमै मरे । बिधवा श्रीमती घरमा छिन् । दुई वर्षअगाडि भाइ विदेशमा मरेर लाश ल्याउँदा भाष्कर चीनबाट नेपाल आएका थिए । त्यो नै परिवारसँग अन्तिम भेट थियो । परिवारसँग मात्र होइन राष्ट्रको माटोसँग नै भाष्करको अन्तिम स्पर्श भयो । आर्थिक अभावका कारण भाष्करको लाससमेत चीनबाट ल्याएर दाहसंकार गर्नसक्ने अवस्थामा परिवार छैन । चिनियाँ प्रशासन यतिबेला भाष्करको मृत्युबारे अनुसन्धान गरिरहेको छ र त्यो सकिएपछि चीनमै दाहसंस्कार गर्न परिवारले सहमतिपत्र पठाइसकेको छ ।
 
अभागीको खप्पर जता गयो उतै ठक्कर भनेजस्तै जेठो दाजु सानैमा बेपत्ता भएका र दुईवटा दाजुहरु विदेशमै मरेपछि रितुकान्त दियालीलाई वियोगको पीडा थपिएको हो ।
 
– सटेन्द्र जबेगुबाट

टिप्पणीहरू