कक्षा १२ को परीक्षामा अन्यौल, खोप लगाउने र नलगाउने कसले जाँच दिने पाउने ?

कक्षा १२ को परीक्षामा अन्यौल, खोप लगाउने र नलगाउने कसले जाँच दिने पाउने ?

कोभिड–१९ विरुद्ध न्यूनतम मापदण्ड अपनाएर सञ्चालन गर्नु पर्ने कक्षा १२ को परीक्षामा नीतिगत अस्पष्टताका कारण अन्यौलता देखिएको छ ।

भोलिदेखि सञ्चालन हुने परीक्षामा कोभिड–१९ विरुद्धको खोप लगाएका १८ वर्ष पुगेका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने वा उमेर नपुगेकोले खोपबाट वञ्चित भएका विद्यार्थीले पनि सहभागिता जनाउन पाउने भन्ने स्पष्ट निर्देशन नभएकोले अन्यौलता देखिएको केन्द्राध्यक्षहरुले बताएका छन ।

रामजानकी माध्यमिक विद्यालय उदयपुर, त्रियुगा नगरपालिका ३ मोतीगडाका प्राचार्य पुन्य कार्कीका भन्नु हुन्छ, ‘खोप लगाएका मात्र विद्यार्थीहरुलाई परीक्षामा सहभागी बनाउने हो भने ५० प्रतिशत भन्दा बढी परीक्षाबाट विमुख हुने अवस्था छ । खोप लगाउन नपाएका कक्षा १२ को परीक्षा दिने विद्यार्थी पनि त्यतिकै संख्यामा रहेका छन ।’

राष्ट्रिय परीक्षा बोर्डले २०७८ साउन ३१ गते सञ्चालन गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा देशभर फैलिएको कोभिड–१९ संक्रमणको कारण स्थगित गरेर भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डले भदौ १० गते विज्ञप्ती जारी गर्दै स्थगित परीक्षा सञ्चालन गर्नुअघि परीक्षामा सहभागी हुने १८ वर्ष वा सोभन्खा बढी उमेर भएका विद्यार्थीहरुलाई अनिवार्य कोभिड–१९ विरुद्ध खोप लगाउने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुरुप प्रवेश पत्रका आधारमा १८ वर्ष पुगेका विद्यार्थीहरुलाई मात्रै खोप लगाएको थियो भने १८ वर्षभन्दा कम उमेर नपुगेका कक्षा १२ का विद्यार्थीहरु कोभिड–१९ खोपबाट बञ्चित भएका थिए ।

परीक्षा बोर्डको लहानस्थित कार्यालयका प्रमुख पुष्कल खनालले परीक्षा र खोप छुट्टाछुट्टै विषय भएको बताउँदै परीक्षामा खोप लगाउने र नलगाउने दुवै खाले विद्यार्थीहरु सम्मिलित हुन सक्ने राय व्यक्त गरे । लहानस्थित परीक्षा बोर्डको सेवा कार्यालयले उदयपुर, खोटाङ, ओखलढुंगा, सिरहा र सप्तरीको एसईई र कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएको छ ।

भोलिदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा पाँच जिल्लाका २५४ परीक्षा केन्द्रमा १८ हजार १० विद्यार्थी छन । खनालले परीक्षा सञ्चालन गर्ने विद्यालयका शिक्षकदेखि १८ वर्षका उमेर माथिका सबै विद्यार्थीले खोप लगाएको अतलिनु पर्ने अवस्था नरहेको बताउनु भयो ।

परीक्षा नियन्त्रण कार्यालय काठमाडौंका कृष्णप्रसाद घिमिरेका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा नेपालभरि ४ हजार ३ सय १५ केन्द्रमा ३ लाख ७४ हजार १२५ जना विद्यार्थी सहभागी हुनेछन । घिमिरेले भने १८ वर्ष नपुगेका विद्यार्थीहरुको संख्या ८ सय ४५ जना मात्रै रहेकोे बताउँदै परीक्षाका कठिनाइँ नहुने राय व्यक्त गर्नु भयो ।

उहाँले त्यस्ता विद्यार्थीहरुलाई छुट्टै राखेर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको बताउनु भयो । तर अधिकांश केन्द्राध्यक्षहरुले भने कोभिड–१९ विरुद्धको न्यूनतम मापदण्ड पुरा गर्नुपर्ने निर्देशनबाहेक अन्य निर्देशन नभएको बताएका छन ।

परीक्षा सञ्चालन हुने अधिकाँश विद्यालयहरुमा कोभिड १९ विरुद्धको न्यूनतम मापदण्डलाई अपनाउन स्रोत साधनको अभाव पनि रहेको छ । राष्ट्रिय माध्यमिक विद्यालय त्रियुगा नगरपालिका ५ का प्राचार्य एवं केन्द्राध्यक्ष यादव कार्की भन्नु हुन्छ,‘ स्वास्थ्य मापदण्ड पुरा गर्नको लागि अधिकांश विद्यालयमा स्वास्थ्यकर्मी छैनन । स्कूलमा परीक्षार्थीहरुको थर्मल गन (ज्वरो नाप्ने यन्त्र) समेत छैन ।’

प्राचार्य कार्की थप्नु हुन्छ,‘ सामान्य ज्वरो आएको विद्यार्थीलाई ज्वरोको वास्तविक कारण थाह नपाइकन परीक्षा केन्द्रबाट निष्काशन गर्न पनि सकिने अवस्था छैन । यस्तोमा कोभिड १९ संक्रमित विद्यार्थीले अन्य विद्यार्थीलाई संक्रमित तुल्याए के गर्ने ? त्यसको जिम्मेवारी कसले लिने ?’ ग्रामीण भेगका परीक्षा केन्द्रहरुमा थर्मल गन, मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीको अभाव छ ।

यसले गर्दा सामाजिक दुरीका आधारमा मात्र परीक्षा सञ्चालन गर्न निकै अप्ठ्यारो हुने प्राचार्यहरुले बताएका छन । उनीहरुका अनुसार विद्यालयको भवनलगायतका भौतिक पूर्वाधार पनि घामपानी र हावाहुन्डरीका बेला परीक्षा सञ्चालन गर्न उपयुक्त छ छैन भन्ने कुराको अध्ययन नैं नगरी परीक्षा केन्द्र तोकिनु गैरजिम्मेवारी काम नै हो । यसले गर्दा विद्यार्थीको कार्यक्षमतामा प्रतिकूलता थप्न सक्छ ।

ग्रामीण भेगमा सञ्चालनमा रहेका अधिकांश विद्यालयहरुमा कक्षा १२ को पढाइ अनलाइनबाट पनि नभएको, विद्यालय पनि सञ्चालनमा नभएको र खोपबाट पनि वञ्चित भएकोले गर्दा समस्या हुन सक्ने पूर्व प्राचार्य टंकप्रसाद गुरागाँइले बताउनु भयो ।

टिप्पणीहरू