संगठित अपराध मुद्दाका फरार व्यक्ति वीरगञ्जबाट पक्राउ

संगठित अपराध मुद्दाका फरार व्यक्ति वीरगञ्जबाट पक्राउ

विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले वीरगञ्जबाट पक्रेको छ । वीरगञ्ज महानगरपालिका २४ बस्ने ३३ वर्षीय विवेक सिंह भन्ने फुलहसन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले २०७६ साउन २४ गते बेलुकी वीरगंज महानगरपालिका ४ स्थित बिर्ता बजारमा बम पड्काएर त्रास फैलाएका थिए । वीरगञ्जका उद्योगी व्यापारी र सर्वसाधारणलाई फोनबाट धम्काउने आपराधिक कार्यका उनी मुख्य योजनाकार थिए ।

सोही अपराधमा संलग्न स्थानीय इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई २०७६ भदौ ४ गते ४ थान गोली र सुतली बमसहित पक्राउ गरेको थियो । जिल्ला अदालत पर्साबाट उनीहरुलाई विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध अन्तर्गत कसूरमा जनही २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना फैसला भएको थियो ।

अरुले कारागार कार्यालय, पर्सामा कैद सजाय भोगिरहे पनि फुलहसन अन्सारीको हकमा मुद्दा मुल्तबीमा रहेको थियो ।

उनी भारतको मुजफ्फरपुरमा परिचय र भेष बदलेर अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएका थिए । उनी बेलाबखत रक्सौल आई वीरगञ्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको र वीरगञ्जमा उक्त काण्ड गराउने योजना बनाएको आधारमा भारतीय प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सालेले वीरगञ्ज रामगढवास्थित उनी घरतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

फुलहसन यसअघि २०६५ पुस ७ गते वीरगञ्ज उपमहानगरपालिका १३ बस्ने राजेश क्याललाई गोली हानेर हत्या गरेको घटनामा समेत पक्राउ परी अदालतबाट सर्वस्वसहित जन्मकैद ठहर भएको थियो । तर २०७४ असोज ८ गते बाँकी कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट कैद मुक्त भएका हुन् ।

टिप्पणीहरू