कांग्रेस महाधिवेशन : महामन्त्रीमा युवा पुस्ताको पालो

कांग्रेस महाधिवेशन : महामन्त्रीमा युवा पुस्ताको पालो

१४औँ महाधिवेशनमा होमिएको सत्तारुढ दल नेपाली काँग्रेसमा भावी नेतृत्वलाई लिएर रस्साकस्सी शुरु भएको छ । महाधिवेशनको मिति नजिकिंदै जाँदा सभापति, महामन्त्रीलगायतका पदमा उम्मेद्वारी घोषणासमेत हुन थालेका छन् ।

कांग्रेस महाधिवेशनमा मूलत: संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । तर, आफ्नै समूहभित्र एउटै पदमा एकभन्दा बढी आकांक्षी देखिएपछि महाधिवेशन अझ रोचक हुनसक्ने देखिएको छ ।

वर्तमान सभापति शेरबहादुर देउवाले अर्को एक कार्यकाल दोहोर्याउने चाहना राखेको चर्चाका बीच उहाँकै विश्वासपात्र विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । संस्थापनबाटै गोपालमान सिंहले समेत सभापतिमा दावेदारी प्रस्तुत गरिरहेका छन् ।

यता, पौडेलपक्षलाई पनि उम्मेद्वारी टुंगो लगाउन सकस परिरहेको छ । आकांक्षीको संख्या धेरै भएपछि पौडेल पक्षले हालसम्म उम्मेद्वारी घोषणा गर्न सकेको छैन । पौडेल समूहमा स्वयं रामचन्द्र पौडेल, शशांक कोइराला,प्रकाशमान सिंह सभापति पदको दौडमा अगाडि देखिएका छन् । आफ्नो समूहबाट एउतै साझा उम्मेदवार घोषणा गर्ने सो समूहको तयारी छ ।

सभापतिपछि सबैभन्दा महत्वपूर्ण मानिएको महामन्त्री पदमा भने दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । आजभोलिमै अर्का एक नेताको पनि उम्मेद्वारी सार्वजनिक हुने बताइएको छ । महामन्त्री पदमा युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेद्वारी घोषणा गरेका हुन् । थापालाई पौडेल समूहको उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपि पौडेल समूहले औपचारिक जानकारी भने दिएको छैन । शर्मालाई भने संस्थापन पक्षको बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

यता,नेता कृष्णप्रसाद सिटौला समूहबाट युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका छन् । क्षेत्रीय प्रतिनिधिमा अधिकांश युवा निर्वाचित भएकाले महाधिवेशन प्रतिनिधिमा पनि युवाहरुको बर्चस्व रहने दाबी गर्दै पौडेलले त्यसको प्रभाव महाधिवेशनमा देखिने बताएका छन् । उनले गुट भत्काएर युवा नेतृत्वको पक्षमा उभिन कांग्रेसका आम कार्यकर्तालाई आव्हानसमेत गरेका छन् ।

महामन्त्रीका अन्य आकांक्षीमा नेताहरु बालकृष्ण खाँण,एनपी साउद,प्रकाशशरण महत,रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल,धनराज गुरुङ, गुरुराज घिमिरेलगायत रहेका छन् । कांग्रेसको विधानमा २ जना महामन्त्री हुने व्यवस्था छ । उम्मेद्वारी घोषणा गरिसकेका र उम्मेदवारको चर्चामा रहेका जसले जितेपनि १४ महाधिवेशनमा काँग्रेसले युवा महामन्त्री पाउने सम्भावना बलियो बनेको छ।

नेता प्रदिप पौडेलले वडा तहका अधिवेशनमा युवा पुस्ताले हस्तक्षप गर्न थालेपछि उत्साहित भएको प्रतिक्रिया दिए । उनले अब कांग्रेसको भविष्य युवाले कोर्ने दावी पनि गरेका छन् । वडा सभापति, उपसभापति, सदस्य, क्षत्रिय प्रतिनिधिजस्ता पदमा युवा पुस्ताको बढ्दो सहभागिताले आफू उत्साहित भएको उनको भनाइ छ।

टिप्पणीहरू