​छालामा भन्दा लफडा आफ्नै चालामालामा « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

​छालामा भन्दा लफडा आफ्नै चालामालामा

प्रकाशित मिति :  १ श्रावण २०७४, आईतवार १९:१९


  • विश्वमणि सुवेदी

दोस्रो चरणको निर्वाचनक्रममा आफ्नो गृहभूमि सुनसरी पुग्दा देखिए र बुझिएका केही कुरा यस्ता छन्– अहिले इनरुवा नगरपालिकामा गाभिएर वडा नंं. ६ बनेको साविकको मधेसाबाट फोन बज्यो । ‘भाइ, म हरिनारायण बोलेको । चिन्यौ ?’ उहाँ त्यो व्यक्ति हो, जसले सुनसरी जिल्लामा किसान आन्दोलन उठाउन र त्यहाँका थारु समुदायलाई नेकपा (एमाले) मा आकर्षित गर्न खेलेको भूमिका लेखेर यहाँ अट्दैन । भन्नुभयो, ‘यसपालि हामीले इनरुवा हार्ने भयौँ !’ सोधेँ, ‘किन दाइ ?’ उहाँले भन्नुभयो, ‘तिमी आफैँ आएर हेर, म भन्दिनँ !’

असारको पहिलो साता इनरुवा ओर्लिएँ । वडा नंं. ३ को सखुवागाछी हो, मेरो घर । हजुरआमालाई ढोग्न नपाउँदै भन्नुभयो, ‘तेरो साथी भनेर दिनैपिच्छे आउँछ । आमा ! म नाती हुँ, मलाई जिताउनुपर्छ भन्छ ।’ त्यसरी मेरी हजुरआमालाई दिनैपिच्छे ढोग्न पुगेका रहेछन्, मेयरका कांग्रेस उम्मदेवार राजन मेहता । हुन पनि उनी पंक्तिकारका वाल्यकालीन साथीमध्येमा पनि सबभन्दा मिलसार । स्वाभाविक हो, उम्मेदवार भएर चुनाव जित्नुपरेपछि भोट माग्ने आ–आफ्ना तरिका अपनाइन्छन् । ‘होइन, भोट पोष्ट दाइलाई (एमाले) हाल्नुपर्छ’, मैले भनेँ । सबै अनुत्तरित † उपमेयरका लागि पंक्तिकारले घरमा आफ्नो पार्टीलाई भोट माग्ने स्थिति नै भएन । हजुरआमाकी साख्खै भाइबुहारी हुन्, जमुना दाहाल पोखरेल, कांग्रेसकी उपमेयर उम्मेदवार । पार्टी जिताउन काठमाडौंदेखि हान्निएर पुगेको, हजुरआमासमेत नातीको साथीलाई र बुहारीलाई भोट हाल्ने भइसकेपछि दिक्दारीले कति सतायो होला ?

घर सखुवागाछी भए पनि पंक्तिकारले दुःखमा रुन र सुखमा हाँस्न पुग्नुपर्ने ठाउँ मधेसा नै हो (पढेको, बढेको, राजनीति थालेको) । माहोल बुझ्न र वास्तविकता जान्नका लागि फोनमा झस्काउने हरिनारायण दाइलाई नभेटी नहुने भयो । पंक्तिकारको घरबाट आधा किलोमिटरको गोरेटो बाटो छिचोलेपछि शिकारी टोल आइपुग्छ, त्यहीँ छ एमाले सचिव भीम आचार्यको घर । भीम दाइ घरमा भएदेखि नमस्कार गरेर अगाडि बढौँला भन्ने थियो । तर, उहाँको घरमा थुप्रै मान्छेको ताँती । हरिनारायण भेट्न हिँडेको । 

तर, हरिनारायणसहित झण्डै ३० को संख्यामा चौधरी समुदायका एमाले अगुवा त्यहीँ देखिए । न भित्र छिरौँ, न बाहिर–बाहिरै लागौँ । त्यहाँ हरिनारायणका छोरा रामनारायण पनि थिएजस्तो लाग्यो । बोलाएपछि दुई–चार कुरा बोल्नुपर्छ । स्थानीय पार्टीको समस्यामा हामी काठमाडौंबाट गएकाले बोलिहाल्नु शोभायमान नहुने † रामनारायणलाई एसएमएस लेखेँ । ‘यहाँ बबाल छ दाजु’, उसले जवाफ फर्कायो । पंक्तिकार त्यहाँबाट झकनझोराका केही स्थानीय एमाले शुभचिन्तककहाँ पुग्यो । चौधरीहरुको एउटै चिन्ता रहेछ, इनरुवाका मतदाता छाला हेरेर भोट हाल्ने स्थितिमा छन् । भीम आचार्यसँग उनीहरुको गुनासो थियो, त्यो स्थितिलाई एमालेले बेलामा आँकलन गरेन । उनीहरु हरिनारायणलाई मेयर उठाएको भए जित्न सजिलो हुने ठम्याईमा थिए । तर, हरिनारायणले जतिबेला मेयरको दावी गरे, त्यतिबेलासम्ममा एमालेले उम्मदेवार टुंगो लगाइसकेको थियो । टुंगो लाग्नुअघि त्यो समुदायबाट वा हरिनारायणका कोही पनि शुभचिन्तकले यी कुरा उठाएनन् ।

इनरुवाको वडा नंं. ४, अर्थात् सुनसरी पुलदेखि बसस्टेण्ड चोक हुँदै गणेशपुरसम्मको इलाका । त्यहाँबाट एमालेका वडाध्यक्ष उम्मेद्वार साथी श्यामदेव मेहता । बस्तीमा पनि मेहता र चौधरीकै बर्चश्व । घरैपिच्छे सूर्यको झण्डा । मेयरका उम्मेदवार पोष्ट नेपालसहित श्यामदेवहरु गणेशपुरमा घरदैलो गर्दै थिए । श्यामदेवले तानेर भने, ‘कमरेड, यहाँ मेहेनत गर्नुपर्दैन, मेयर पनि हामीले जित्ने हो । तर, सखुवागाछी, मधेसातिर के छ ? बलाहा के छ ?’ एमालेको पुरानो पकड एरियाबाट एमालेले राम्रो भोट ल्यायो भने मेयरसहित जित्ने उनको संकेत थियो ।

सानैका साथी राकेश ढकाल आजकल कतारमा रहेछन् । राप्रपा कार्यकर्ता हुन् । राजन, राकेशसहित हामी इनरुवामा एकबेला कहलिएको ‘ग्याङ’ हौँ । जिल्ला प्रहरी कार्यालयअगाडि शशी कोइराला, राजेन्द्र पोखरेलहरुले चलाएको बर्णमाला दैनिकको अफिसमा वाइफाइसहित बसिरहँदा म्यासेञ्जर कल आयो, राकेशको । उनको भनाइ थियो, ‘मणिजी, राजनले बहुतै चिन्ता गर्दैछ । तपाईं इनरुवा पुग्नुभयो रे । राजनलाई एकपल्ट भेटिदिनुस् यार †’ ‘नाइँ’ त भनिएन । तर, राजनलाई नभेट्दै त पंक्तिकारको नाम लिएकै कारणले हजुरआमा भोट हाल्नेमा पुगिसक्नुभयो । घरका काकीहरु ‘हाम्रो त भतिजोको साथी मेयर, देउरानी उपमेयर’ भन्दै छिमेकमा भोट माग्दै थिए । यस्तो बेला राजनसँगै भेटेपछि पार्टी र आफू एकैपल्ट सकिनेबाहेक केही हुँदैन ।

साँझ दिलीप घिमिरेहरुसँग बजारकै कुनै कुनामा बसेर अरुका कुरा सुनियो । भने, ‘कोइरी (मेहता) समुदायले राजनलाई भोट हाल्ने निर्णय नै गरे ।’ वास्तविकता अब खुल्न थाल्यो, एमाले उम्मेदवार पोष्ट नेपाल गुटले माधव पक्षको । इनरुवाका प्रभावशाली एमाले नेता खेमराज पोखरेल गुटमा ओली पक्षका । सत्य के हो भने, ०७० को संविधानसभामा एमालेले एमालेलाई भोट हालेको भए अहिले खेमराज देशका विधायक भइरहेका हुन्थे । उनको जितलाई कसैले रोक्न सकेको थिएन । दिलीपले टेबुल ठोकेर भने, ‘यसपालि खेमराजले बदला लिन्छ–लिन्छ †’ कुरा बल्ल बुझियो, समस्या छालामा भन्दा बढी आफ्नैको चालामालामा रहेछ । इनरुवा– ३ मा एमालेका वडाध्यक्षलाई जति भोट मेयरलाई खसेको भए पोष्ट नेपालले जित्ने रहेछन् । शकुन्तला भण्डारीलाई उपमेयर उठाउने भनी घरदैलोमा समेत लिएर हिँड्ने र अन्तिममा अर्कैलाई टिकट दिने कुराले सिंगो वडा नं. ३ अर्को गुटको प्रभावमा परिसकेको रहेछ । त्यसमाथि कांग्रेसकी उपमेयर त्यही वडाकी । एमाले प्रभावित वडा हो त्यो, जहाँ ०४८ सालमै लालकिल्ला घोषणा गरेर ०५० सालमै मदन भण्डारीको शालिक बनाइएको छ । वडा नं. ६ का चौधरी मतदाताको मत सुरक्षा भएको भए दुई सय भोट त्यहाँबाट बढी आउने । ‘खेमराज सरको चित्त नदुखाएको भए अहिले उसलाई मेयर बनाउन हुन्थ्यो’ भन्ने एमालेहरु पूर्वटोलदेखि बलाहासम्म भेटिए । यसरी बुझौँ कि, पार्टीलाई गुटले गाँजिसकेपछि पार्टी पक्षधर मतदाताले छाला, नाताजस्ता कुरा हेरेर मतदान गर्दा रहेछन् । इनरुवामा देखिएको त्यही हो । नत्र, १० मध्ये ६ वटा वडामा प्यानलसहित जित्ने– मेयर र उपमेयरमात्र हार्ने ? यस्तो घटना बिरलै हुन्छ ।

समस्या थियो धरानमा पनि । काठमाडौं छँदै निर्वाचन परिचालन सचिवालयका साथी डम्बर गुरुङले भनेका थिए, ‘सुतीसुती जितिन्छ यार, के चिन्ता गरिराखेको ?’ तर, असारको ७ गते धरान चतरालाइनमा घरदैलो चल्दै गर्दा निर्वाचन परिचालन मूल समितिका संयोजक तथा पार्टीका नगर इञ्चार्ज जयकुमार राईले पंक्तिकारलाई खहरेको डिलमा तानेर खुसुक्क भने, ‘साथी, यसपालि खतराचाहिँ अलि–अलि छ है †’ एमालेले राई समुदायबाट मेयरको उम्मेदवार नदिँदा पनि त्यो समुदायका मतदाताको मत कतै नजाने निश्चितै हो । तर, कांग्रेस उम्मेदवार तिलक राई आफैँ किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष हुन् । यत्ति कारणले राईहरुको भोट यताउता होला कि भन्ने त्यहाँका एमालेहरुको ठम्याई । तर, असारको ८ गते, दिउँसो १२ बजेर २३ मीनेट जाँदा गणेश टाकिजगेटको चिया पसलमा बसेर जयले भनेका थिए, ‘धरानमा हामीले हाम्रै भोटको हिसाब गर्दा पनि कांग्रेसलाई १० देखि १२ हजार फरकमा जित्नुपर्ने हो । तर, यसपालि त्यत्रो फरकमा जित्दैछैनौँ ।’ (परिणामतः पाँच हजारभन्दा केही कम (चार हजार आठ सय ५५) मतको अन्तरले एमालेले धरानमा मेयर जितेको छ ।)

धरानमाचाहिँ गुट हैन, जातीय मत विभाजित भएको छ । धेरैजसो लिम्बूले एमालेलाई, केहीले माओवादीलाई, स्वतन्त्रखालका राईले कांग्रेसलाई हाल्ने हुँदा धरानमा एमालेले ‘धन्न जित्यो’ भन्नुपर्ने स्थिति छ । तारा सुब्बासँगै मेयरको प्रत्यासीमा प्रस्तावित जय राई, मोती सुनुवार, उपमेयरमा प्रस्तावित बेणु काफ्ले, सावित्री श्रेष्ठहरुले टिकट नपाउँदा पनि उनीहरु आफँैँ उठेजसरी लागे । त्यसका बाबजुद पनि एमालेले अनुमानभन्दा कम मतान्तरमा जित्नुपरेको छ ।

झुम्का बजार पुग्दा जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य धर्म निरौलासहितका  नेताहरु रामधुनी नगरपालिकाको मेयर जित्ने प्रचार योजना बनाउँदै थिए । परिचालन कार्यालयको माथिल्लो तलामा छलफल चल्दै थियो । त्यहाँकी पुरानी एमाले तारा थापा न्यास्रो अनुहार लगाएर मुनी चिया पिउँदै थिइन् । ताराभन्दा पनि पुराना एमाले नेता राम कोइराला भन्दै थिए, ‘मेयरमा ठूलो रिस्क लियौँ । यत्रो रिस्क नउठाएको भए हुन्थ्यो कि †’ र, परिणाम पनि त्यस्तै आयो । थारु बहुल नगरपालिकामा एमालेका नन्द बस्नेत भारी मतान्तरले पराजित भए । नन्दले जति भोटले हारे, त्यति नै बढी भोट ल्याएर थारु समुदायबाटै एमाले उपमेयर सविनाले जितिन् । अर्थात्, एमालेका थारुले पनि मेयरमा पार्टीलाई भोट हालेनछन् ।

सुनसरीमा गुट र जातीय सन्तुलन नमिल्नु नै एमाले क्षतिको मूल कारण हो । अबको संसदीय चुनावमा भीम आचार्यलाई पछारेर अगाडि आउनुपर्ने रेवती भण्डारीको चिन्ता, ०४८ मा मनमोहनदेखि ०७० मा कृष्णकुमार राईसम्मलाई संसदीय चुनाव जिताउँदा पनि धरानलाई एउटा क्याबिनेट मन्त्री नदिएको असन्तुष्टि । योभन्दा भयावह र बिकराल छ, मोरङको कुरा । कुनै दिन यिनै कुराले मोरङ एमालेमा काटामार चल्यो भने पनि अचम्म नमान्नुपर्ने स्थिति छ । बरु, दुश्मन प्यारा छन्, पार्टीकै फरक गुटका साथीसँग मार कि मरको सम्बन्ध बनाएका छन्, मोरङेहरुले । सुनसरी र मोरङमात्र हैन, पूर्वी तराईका प्रत्येक जिल्ला यस्तै गतिविधिबाट आक्रान्त छ । तेस्रो चरणको चुनाव बाँकी छँदै एमालेले यसबारे गम्भीर समीक्षा गरे पार लाग्ला, नत्र भन्न सकिन्नँ ।


प्रतिक्रिया दिनुहोस !