नयाँ शक्तिलाई बिगार्ने र सिँगार्नेका नालिबेली « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

नयाँ शक्तिलाई बिगार्ने र सिँगार्नेका नालिबेली

प्रकाशित मिति :  १ श्रावण २०७४, आईतवार १९:१६


  • विदुर खड्का

नयाँ शक्ति पार्टी निर्माणको एक वर्ष पूरा भएको छ । चुनाव चिह्नसमेत पाउन नसकेको पार्टीले अर्को दलको चिह्न सापटी मागेर लड्दा मतदातामा भ्रम र संशयसमेत पैदा हुन गई  अनपेक्षित परिणाम आएको छ । के जनताले साँच्चै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस नगरेकै हुन् त ? वा नयाँ शक्ति पार्टी नयाँ वैकल्पिक राजनीतिक शक्ति बन्न नसकेकै हो ? कमजोर मनस्थिति भएका केही मानिस संगठनबाट अलग हुने प्रक्रिया पनि शुरु भएको छ । परिणामले जनस्तर र तल कार्यकर्तामा सामान्य भ्रम पर्न जानु स्वभाविक भए पनि यसले यदाकदा माथिका नेताहरूमा समेत मनोवैज्ञानिक तरंग पैदा गरेको देखिन्छ । पार्टीभित्र एक किसिमको बहस नचाहँदा नचाहँदै पनि शुरु भएको छ । यसबारेमा नबोली बस्दा युगप्रति अन्याय हुने ठान्दछु । 

व्यवस्था परिवर्तनको नेतृत्व गरेका नेता, पार्टी र कार्यकर्ताबाट अवको अवस्था परिवर्तनको नेतृत्व सम्भव छैन, राजनीतिक व्यवस्था परिवर्तन त पटकपटक भयो तर जनताको जीवनस्तर, सामाजिक–आर्थिक अवस्थामा हेरफेर भएकै छैन भन्ने कोणबाट पनि बहस उठान गरिएको छ । यसकारण यस्तो चाहियो अब अवस्था परिवर्तन गर्नसक्ने संगठन, नेता, कार्यकर्ता र कार्यक्रम भनेर बहस गर्ने बेला भएको छ । 

परिवर्तनको नेतृत्व त आन्दोलन, संघर्ष, त्याग, जेलनेल, यातना र विचारले गरायो । अवस्था परिवर्तनको नेतृत्व अब कस्तो मान्छेले गर्ने ? कस्ता मान्छे यसमा सहभागी हुने ? अवस्था परिवर्तनको चरणमा कसको भूमिका कस्तो खालको हुने ? संगठन कस्तो हुने ? नेता कस्तो हुने ? कार्यकर्ता कस्तो हुने ? पृष्ठभूमि कस्तो हुनुपर्ने ? के भए हुने, के नभैन्हुने र  के हुनै नहुने ?

नयाँ शक्ति पार्टीमा माओवादीभन्दा बाहिरबाट आएका केही नेताले बाबुराम र मुमाराम ठीक, असाध्यै राम्रा तर देवेन्द्र पौडेल, कुमार, वामदेवलगायत सबै अपराधी हुन्, यिनले तुरुन्तै पार्टी नछाडे यो नयाँ शक्ति बन्दै बन्दैन भनेर जहिले पनि बखेडा झिक्ने गरेका छन् । जसको कारण पार्टी अकर्मण्यताको शिकार भइरहेको छ । के जनयुद्धको नेतृत्व गर्ने बाबुराम साधु र उसैको लाइनअनुसार उसैको मातहतमा आदेश कार्यन्वयन गर्ने तप्का मात्रै दोषी र अपराधी हुनसक्छ ? 

मान्छे आवेग, संवेग, भावना, रिस, खुशी, दुःख, तरंगसहितको चेतनशील प्राणी हो । घटनाहरुले निरन्तर पछ्याइरहे मान्छेलाई त्यसले प्रभावमा पार्छ । र, मान्छेले कहिलेकाहीँ अप्रिय निर्णय पनि लिन सक्छ । यसरी पूर्वमाओवादीहरुमाथि पार्टीभित्र जिम्मेवार पक्षबाट निरन्तर भैरहने आन्तरिक हिंसाले कतै दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन । समयमै यसको उचित हल खोज्नु आवश्यक छ । नेतृत्वमा भौतिक, मनोवैज्ञानिक र बैचारिक गहनता, स्थिरता र परिपक्वता हुनैपर्छ ।  

विराटनगर राष्ट्रिय सम्मेलनपछि सबै जिल्लामा समानान्तर पार्टी संगठन बनाएर, त्यस्तै काम गरेर पार्टीलाई सुध्रिन दवाव दिइएको भएता पनि तत्काल पार्टी फुटाउने मनशायमा बाबुराम भट्टराई र देवेन्द्र पौडेलहरु थिएनन् । टोपबहादुर रायमाझी, खगराज भट्ट, देवराज भण्डारी, देवी खड्काहरू बाबुरामलाई तत्काल पार्टी फुटाउन दबाब दिइरहेका थिए । तर बाबुराम र देवेन्द्र तत्काल पार्टी फोर्ने वा नयाँ बनाउने मनशायमा थिएनन् ।

२०७२ साल असोज ३ गते संविधान जारी गरेपछि आफूबाहेक एकजना नेतालाई पनि जानकारी नदिई सबैलाई चकित पार्दै बाबुरामले असोज ९ गते माओवादी पार्टी र निर्वाचित सांसद पद त्यागको घोषणा गरे । यो कदमबाट अचम्भित गंगानारायण श्रेष्ठ, हिसिला यमीलगायत २१ जना केन्द्रीय सदस्यले केही दिनपछि छलफल गरेर स्थायी समिति सदस्य देवेन्द्र पौडेलको नेतृत्वमा माओवादीसँग नाता तोडे ।

नयाँ बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनिएकोले यसमा माओवादी मात्रै नभएर दुई तिहाई बाहिरका स्वतन्त्र व्यक्तित्व र अरु पार्टीबाट आएका मान्छेलाई सहभागी गराउने कुरा भयो । विभिन्न अन्तरक्रिया गरिए । विभिन्न क्षेत्रका मानिसहरुको उत्साहजनक सहभागिता पनि रहेकै हो । तर सबैभन्दा बढी आशा गरिएका लीलामणि पौडेल सहभागी भएनन् । रामेश्वर खनालले पनि दोमन भएर सहभागिता जनाए । 
इन्द्रेणी ब्याँक्वेटमा ३५ सदस्यीय केन्द्रीय समिति घोषणा हुँदा देवेन्द्र पौडेल मात्रै पूर्व माओवादीबाट त्यसमा राखिए । साथीहरूले सोही बेलुका गुनासो गरेपछि २३ जनालाई थपेर ५८ सदस्यीय के.स. बनाइयो । पछि दशजना बाहिरका मान्छे राखी ६८ पु¥याइयो । यतिबेलासम्म विवेकशील पार्टी र रविन्द्र मिश्र पदीय हिसावकिताव नमिलेरै नयाँ शक्तिमा नमिसिने निर्णयमा पुगिसकेका थिए । 

यसरी हेर्दा, उनले जे बताए पनि, एक्लै निस्कनुको कारण माओवादी इतरका मान्छे राखेर गैरकम्युनिष्टहरुको र गैरकम्युनिष्ट चरित्रको पार्टी बनाउनु थियो । जुन कुरा यो एक÷डेढ वर्षमा उनले गरेकोे अभ्यासले प्रष्ट देखाउँछ ।

संगठन विभागलाई दोस्रो ठूलो कार्यकारी पद अथवा महासचिवसरह मानिने भएकाले त्यसमा मुमारामको पनि दाबी थियो, तर पाएनन् । त्यहाँबाट शुरु भयो खासगरी देवेन्द्र पौडेल र बाँकी पूर्व माओवादी नेताहरुमाथि सीधा प्रहार र षडयन्त्र । देशभरि संगठन निर्माण र सुदृढीकरणको काममा देवेन्द्र पौडेल अहोरात्र खट्न थाले भने बाबुराम विभिन्न सार्वजनिक कार्यक्रममा पार्टीलाई स्थापित गर्न कुद्न थाले । मुमारामलगायत केही नेता तारे होटलका स्विमिङ पुलमा टहलिएर देवेन्द्र पौडेल र बाँकी माओवादीलाई कसरी नयाँ शक्तिबाट आउट गर्ने वा साइजमा ल्याउने भन्ने माकुरीजाल बुन्न तल्लिन भए । अरुले पनि आफ्नो जिम्मेवारी अनुसारको काम त गरे तर बाबुराम र देवेन्द्रको बढी नै सक्रियताबाट त्रसित भए । उनीहरुले देवेन्द्र पौडेल यसरी सबैतिर कुद्न नहुने र सबै कार्यक्रममा बाबुराम जानु नहुने भनेर बैठकमै धुलो उडाए । त्यसपछि मुमारामको नेतृत्वमा एघार सदस्य भएको वक्ता टोली बनाएर देशव्यापी कार्यक्रम गर्ने भए । इटहरीमा ठिकै कार्यक्रम गरेका उनीहरु हेटौंडासम्म पुग्दा निरीह भए र चितवनमा त समाप्तै भए ।

२०७३ जेष्ठ ३०, ३१ र ३२ गते सम्पन्न स्थापना भेलाले मुमारामको सारा सपना स्वाहा पारिदियो । क्लष्टरको हिसाबले तीन सहसंयोजक छानिँदा उनको पोजिशन दशौंतिर आएर थन्कियो । अब उनी निहूँ खोज्न र पूर्व माओवादी नयाँ शक्तिमा रहेसम्म यो वैकल्पिक राजनीतिक शक्ति बन्नै नसक्ने बताउन थाले । माओवादीभन्दा बाहिरी पृष्ठभूमिबाट आएका गैरराजनीतिक ब्यक्तित्वमा समेत यसले भ्रम सिर्जना हुन गयो । जसको परिणामस्वरुप रामेश्वर खनालहरु निष्क्रििय भए । मुमारामको महत्वाकांक्षामा कुठाराघात भएपछि पार्टी तहसन्हस बनाउन खोजे । त्यो नसकेपछि पार्टी छाडे र अहिले रवीन्द्र मिश्रले खोलेको साझा पार्टीमा देवेन्द्र पौडेल भएका छन् अर्थात संगठन विभाग प्रमुख ।

सहसंयोजक जस्तो गरिमामय पद थेग्न नसकेर महेश कर्मोचा विजय गच्छदारको पार्टीमा गए । आफूलाई प्रधानमन्त्री झलनाथ खनालको पिए भएको गर्वसाथ बताउने निर्मल भट्टराईलगायत मुमारामको इशारामा चल्ने केही मान्छे टुहुराजस्ता भए र निस्किए । मुमारामले बनाएकोे गुट समाप्त हुन गयो ।
आखिर किन गरिन्छ नेतृत्वबाट बारम्बार यस्ता गैरजिम्मेवार कार्य ? के कम्युनिष्ट पृष्ठभूमिबाट आएका नेताकार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा बलियो र दरिलो मनोविज्ञानका साथ काम गर्दा कसैलाई साच्चै थरर काप्नुपर्ने अवस्था भएको हो र ? 

जुनसुकै स्थान र स्वरुपमा माक्र्सवादी चरित्रका मान्छेहरु मात्रै समय र परिवर्तनको आवश्यकताअनुसार रुपान्तरित भएर इतिहासले सुम्पेका हरेक जिम्मेवारी बहन गर्न आफूलाई हरदम तयारी हालतमा राख्नसक्ने चेतनशील प्राणी हुन् ।  आफूलाई जलाएर समाजलाई प्रकाश दिनसक्ने हिम्मत समाज रुपान्तरणमा जीवन अर्पण गरेको तप्कामा अलि बढी हुन्छ । आवश्यक परे त्यो तप्का अझै बल्न तयार छ । तर एउटा यस्तो खेमा छ जो अरुले बालेको  प्रकाशमा हात सेक्छ र त्यही बलिदान गर्ने तप्कालाई सराप्दै युगलाई अल्मलाइरहेको हुन्छ । 

माक्र्सवादीहरुले नै समाजका हरेक चरित्रको पहिचान गरेर उनीहरुको मनोविज्ञान अनुसार समाजलाई रुपान्तरण गरी बढीभन्दा बढी मानिसको हितमा हुने ढंगले काम गर्न सक्छन् । समाजका हरेक खाले चरित्र र पात्रलाई सहजढंगले बुझ्न र स्वीकार गर्न सक्छन् । र त भनिएको छ, समाजका सबैखाले बिभेदको अन्त्यसँगै सम्पूर्ण मानवीय समृद्धि र मुक्तिका लागि माक्र्सवादी दर्शन हो, मानव जातिको समृद्धिको विज्ञान हो । किनकि माक्र्सवाद सार्वभौम विज्ञान हो र विज्ञानको नियमअनुसार चल्ने मान्छेले मात्रै हरेकखाले भूमिका निर्वाह गर्न आफूलाई त्यसैअनुरुप तयार पार्नसक्छ । अरुले पनि कोसिस गर्छन् । तर समय र परिस्थितिअनुसार परिवर्तन गर्न अन्य पृष्ठभूमिका मान्छेलाई सजिलो हुँदैन । किनकि उनीहरुले माक्र्सवादलाई सतही रुपले धनको विज्ञानका रुपमा मात्रै लिएका हुन्छन् । माक्र्सवाद परिवर्तन र समृद्धि सबै कुराको विज्ञान हो भनेर स्वीकार गर्दैनन् । मुमाराम, रामेश्वर, कर्मोचा, रविन्द्र, विवेकशीलहरु नयाँ शक्ति माओवादीमय भयो भन्दै भाग्नुको कारण पनि यही हो । कमसेकम बाबुरामले यो कुरा बुझेका छन् । 

बुझ्न जरुरी छ कि माक्र्सवादीहरु जड हुँदैनन्, जडसूत्री माक्र्सवादी चलायमान हुन सक्दैनन् । चलायमान हुन नसक्नेले समृद्धि र परिवर्तनको नेतृत्व गर्न सक्दैनन् । समाजको कुनै एउटा परिवर्तनको काम सकिएपछि माक्र्सवादको औचित्य सकियो भन्ठान्नु माक्र्सवादलाई नबुझ्नु, नस्वीकार्नु वा कसैलाई खुशी पार्न नाटक गर्नु हो । कसैले होइन भनेर प्रमाणित गर्न खोज्नु स्वयंलाई धोका दिनु वा झुटो बोल्नु हो । 
एउटा कुरा अकाट्य के हो भने नयाँ युवा पुस्तालाई नेतृत्व र अवसरबाट कहिल्यै बञ्चित गर्नु हुँदैन । तर जिन्दगीभरी राजनीति गरेर संगालेको समृद्ध अनुभव, सामाजिक अन्तरसंघर्षको चरित्र बुझ्ने क्षमता र हल गर्ने उपाय भनेको जीवनभरि राजनीति गरेकै ब्यक्तित्वमा हुन्छ । नयाँ पुस्ताले त त्यसलाई किताबमा मात्रै पढेको हुन्छ । 

नयाँ पुस्ताको नयाँ उत्साह, ज्ञान, शक्ति र उत्सुकतालाई अनुभवी पुस्ताको समृद्ध अनुभव, दृढता र धैर्यतासँग मिलाएर मात्रै सबैखाले परिवर्तनको सपना साकार पार्न सकिन्छ । एउटासँग अर्कोलाई अलग्याएर समृद्धि वा परिवर्तन सम्भव छैन । 

सबै कुरा त्यागेर सामाजिक रुपान्तरणको लागि जीवन न्यौछावर गरेको पुरानो पुस्ताको बलिदानलाई सम्मान गर्न नसक्ने नयाँ पुस्ताले समृद्धिको नेतृत्व गर्न सक्दैन । त्यसैगरी नयाँ पुस्ताको बल र बुद्धि बिना पुरानो पुस्ताले नयाँ ढंगले परिवर्तनलाई साकार पार्न सक्दैन । यी दुईबीचको द्वन्द्वात्मक एकताबाट नै नयाँ वैकल्पिक राजनीतिको राजमार्ग निर्माण सम्भव छ जसबाट समाजले राष्ट्रिय समृद्धिको ढोका उघार्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस !