​कमरेडले ‘अटेर’ गर्नुको कारण

रमण श्रेष्ठले महान्यायाधिवक्ता पदबाट राजीनामा नगरेर किन अड्डी कसिरहेका होलान् ? भनेर चर्चा र आलोचना शुरु भएको छ । सामान्यतया प्रधानमन्त्री (सरकार) को कानुनी सल्लाहकारको रूपमा रहने महान्यायाधिवक्ता प्रधानमन्त्री परिवर्तन भएसँगै फेरिने चलन छ । तर, रमणले अटेर गर्नुको भित्री कारण भने बेग्लै छ । स्रोतका अनुसार, अहिले माओवादी क्याडर भनेर प्रष्टै चिनिएका न्यायाधीश सर्वोच्च अदालतमा खासै नभएको अवस्थामा त्यसको बिउ रोपेर मात्रै बहिरिने योजनाअन्तर्गत महान्यायाधिवक्ता कार्यालयमा अड्काई राखिएका हुन् ।

सर्वोच्चमा चारवटा पद रिक्त छन्, सुशीला कार्कीको अवकाशपछि गोपाल पराजुली प्रधानन्यायाधिशमा उक्लिएका छन्, जगदिश शर्मा, गोविन्द उपाध्यायसमेत घर गएर रिक्त स्थानमा आफूनिकट कुनै न कुनै वरिष्ठतमलाई छिराउने योजना बनेको हो । अब वकिल पृष्ठभूमिका दुई जना र न्याय क्षेत्रबाट बढुवा दिलाई दुई जना गरेर खाली ठाउँ पूर्ति गर्नुपर्ने छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश टंक मोक्तानले एउटा ठाउँ पाउने सम्भावना सबैभन्दा प्रबल छ । अर्को न्यायाधीशका रूपमा सुर्खेतका डम्बरबहादुर शाही छन् । शाही सिनियर र देउवाले चाहेका मान्छे पनि हुन् । यसअघिको प्रयत्नमा छुटेका थिए । यता, वकिलतर्फ कांग्रेसका गोपालकृष्ण घिमिरे र यदु खनालको पनि चर्चा छ ।

एमालेसँग कुरा मिलाएर नियुक्ति गरियो भने हरि फँुयाल पनि न्यायाधीश बन्न सक्ने बताइन्छ । अनि महान्यायाधिवक्ताको योग्यता पार गरिसकेका यिनेले मौका पाए भने २०२६ सालको जन्म भएका कारण ५ वर्ष पूरै प्रधानन्यायाधीश खान सक्छन् । अब दीपकराज जोशीले गोपाल पराजुलीको ११ महिने कार्यकालपछि प्रधानन्यायाधीशमा पालो पाउनेछन् भने त्यसपछि चोलेन्द्र समशेरले साढे ३ वर्ष, हरिकृष्ण कार्कीले अठार महिना, प्रकाशमानसिंह राउतले १ वर्ष, सपना प्रधान मल्लले ३ वर्ष न्यायालयको नेतृत्व गर्नेछन् । हरि फुयाँल सरहका मान्छे अहिले जिल्ला न्यायाधीशमा कार्यरत छन् ।

यदि, उनी उमेरका हिसाबले आफैं खुम्चिएर बसे भने कुरा बेग्लै नत्र केपी ओलीले प्रमुख प्रतिपक्षी दलको नेताको हिसाबले संवैधानिक परिषद्मा कडिकडाउ ढंगले हाम्रो मान्छे पनि हुनुपर्छ भन्दै कुरा राखे भने उनी न्यायालय छिर्ने सम्भावना रहन्छ । त्यसो त युवराज संग्रौलाको पनि नाम चर्चामा छ तर आफूभन्दा जुनियरहरु प्रधानन्यायाधीशको लाइनमा चढिसकेका र महान्यायाधिवक्ताको भूमिकासमेत निर्वाह गरिसकेका कारण उनले सर्वोच्चको न्यायाधीश बन्न मन नगर्ने बताइन्छ ।

टिप्पणीहरू