चुनावमा काजु र प्राउनका चर्चा

मकवानपुरगढी गाउँपालिकामा पर्ने साविक आमभञ्ज्याङ गाविसका क्रियाशील सदस्य एवं निवर्तमान कांग्रेस जिल्लासचिव विष्णुप्रसाद दाहालसहितका नेतालाई ६ वर्षसम्मलाई पार्टीबाट निश्कासन गरिएको छ । कांग्रेस र माओवादी गठबन्धनसमेत फेल खाएर हेटौंडा उपमहानगरपालिका प्रमुख÷उपप्रमुख र बहुमत जनप्रतिनिधि जितेको एमालेमा पनि अन्तर्घातका खबर आइरहेका छन् । अन्तर्घातकै कारण हार खाएका उम्मेदवारले जिल्ला कमिटी बैठकमा समेत खुलेर हाँस्न सकेका छैनन् । हेटौंडा उपमहानगरपालिकाभित्र वडा नं १ (एमाले जिल्ला सचिवको वडा), वडा ५, १५ लगायतमा वडाध्यक्ष हार्ने, अरू पदमा जित्ने स्थिति बनेपछि अन्तरघात प्रष्ट देखिन्छ । 

यसैबीच, तत्कालीन जनमुखी नेता रूपचन्द्र बिष्टको चेला भएर १० वर्ष सँगै हिँडेका र हाल एमाले ३ नं प्रदेश कमिटी सदस्य रहेका एकराज उप्रेतीको रिपोर्टिङले जिल्ला कमिटी बैठकमा हलचल मच्चिएको छ । कतिपय जिल्ला सदस्य पेट मिची–मिची हाँस्न बाध्य हुनेगरी उनले पीडा पोखेका थिए । उनी मनहरी गाउँपालिकामा विजयी अध्यक्ष हुन् । 

चुनावको तयारीका लागि गाउँपालिकाका कतिपय वडामा आर्थिक कुरालाई जोडेर नेताहरूले नै उचाल्ने गरेकाले चुनाव अवधिभर समस्या भोग्नुपरेको सुनाए । उनले गरिबका दिन गएछन् भन्दै एउटा वडाले चुनावको दिन खुवाउन २ केजी काजु, प्राउन, पनिर, ४५ किलोको तीनवटा खसी, पुलाउ मागेको प्रसंग सुनाए । कम्युनिष्ट पार्टीको जिल्ला बैठकमा काजु र प्राउनको प्रसंग सुन्नासाथ सबै गलल हाँसे । केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विरोध खतिवडाले ‘के के रे एकराज ?’ भन्दै फेहरिस्त फेरि सुनाउन भनेका थिए । केन्द्रीय सदस्य केदार न्यौपानेले चाहिँ गम्भीर बिषय आएको भन्दै लेखेरै दिन आग्रह गरेको बुझिएको छ ।

उप्रेतीले जिल्ला कमिटी बैठकमा कसैको पनि नाम नतोकी कार्यकर्तालाई उचालेर पैसा, काजु, प्राउन माग्न लगाएको, पैसाकै कारण चुनाव हार्ने भो भनेर राति–राति फोन गर्न लगाई मानसिक रूपमा गिराउन खोजेको, टिकट फाइनल नभइञ्जेल राति–राति मदिरा सेवन गरेर ‘हार्ने चुनाव किन उठ्न लागेको ?’ भन्दै आफ्नैबाट धम्की आएको, अघोषित रूपमा कांग्रेससँग केही नेताले वडामा एलायन्स गरेको प्रमाण नै फेला परेको सुनाएका थिए । रूपचन्द्र विष्टकै शैलीमा दफावार अभिव्यक्ति दिएका उप्रेतीको कुरा सुनेर बैठकमा भावुक हुनेहरूले हल शान्त राखेका थिए । कम्युनिष्ट पार्टीको बैठकमा काजु र प्राउनको चर्चा औपचारिक रूपमा हुन थालेपछि अब रक्सीको पनि भयो कि भन्ने जनआस्थाको प्रश्नमा उप्रेती भन्छन्, ‘त्यो पनि आएको थियो, अन्य खर्च शीर्षकमा त्यसको पनि चर्चा भो !’ मनहरी गाउँपालिकामा लोकप्रिय, इमानदार र सरल नेता मानिएका उप्रेती झण्डै हारको स्थितिमा पुगेका थिए । यद्यपि, मनहरी गाउँपालिकालाई एमालेको गढको रूपमा चिनिन्छ ।

टिप्पणीहरू