चार वर्षपछि नेपाल र भारत भिड्ने, एक तिहाईले हेर्ने

चार वर्षपछि नेपाल र भारत भिड्ने, एक तिहाईले हेर्ने

नेपाली फुटबल टिमले चार वर्षपछि आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपालले आफ्नो घरेलु मैदान दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज साँझ साढे ५ बजे भारतसङ्ग सामना हुँदैछ ।

नेपालले सन् २०१३ पछि भारतलाई फुटबलमा जित्न सकेको छैन । यस्तो अवस्थामा आजको खेल जितेर आगामी साफ च्याम्पियनसिपमा आफू बलियो रहेको सन्देश दिनुपर्ने बाध्यता छ । नेपाल र भारतबीच दक्षिण एसियाली खेलकुदमा सन १९८५ मा पहिलोपटक प्रतिस्पर्धा भएको थियो । आजभन्दा ३६ वर्षअघिको उक्त खेलसहित दुई देशका टिमले अहिलेसम्म १९ पटक प्रतिस्पर्धा गरेका छन् ।

नेपाल र भारतबीच भएका १९ खेलमध्ये भारतले १३ खेलमा जित निकालेको छ । नेपालले २ खेलमा मात्रै जित आफ्नो पोल्टामा पारेको छ । चार खेल बराबरीमा सकिएका छन् । नेपाल भारतबीचका १९ खेलमा जम्मा ४२ गोल भएको छ । त्यसमा नेपालले ९ गोल भारतीय पोष्टमा छिराएको छ भने बाँकी ३३ गोल भारतले गरेको छ ।

त्यसो त सन् २०१३ पछि पनि नेपाल र भारतबीच पाँच खेल भएकोमा भारतले ४ खेल जित्यो । १ खेलमा बराबरीमा भारतलाई रोक्नसक्नु पनि नेपालका लागि सफलता मानिएको छ । पछिल्लो पटक नेपाल र भारतबीच ६ जुन २०१७ मा प्रतिस्पर्धा भएको थियो । मुम्बईमा भएको सो खेलमा भारत २–० ले विजयी भएको थियो ।

दुई टिमबीच दशरथ रंगशालामा भने सन् २०१५ पछि प्रतिस्पर्धा हुन लागेको हो । विश्वकप छनोटको दोस्रो लीगको त्यो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । त्यसपछि सन् २०१३ मा साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले २–१ को रोमाञ्चक जित हात पारेको थियो । त्यो जीत नै नेपालको सम्झनाका रुपमा अहिलेसम्म ताजै छ ।

आज साँझको खेलमा रंगशालाको दर्शकदीर्घामा पनि उपस्थिति हुने भएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर आजको खेलमा रंगशालाको कूल क्षमताको तीन भागको एक भाग दर्शक हुने बताइएको छ । दर्शकले दुबै खोप लगाएको कागजात र खोप नलगाएकाले पीसीआर रिपोर्ट बोक्नुपर्ने छ ।

टिकट अनलाइनबाट खरिद गर्ने व्यवस्था मिलाइएको छ । आज रंगशालामा दर्शक र पदाधिकारी गरेर झण्डै ६ हजार जनाको उपस्थिति रहनेछ ।

टिप्पणीहरू