चन्द्रागिरीमा केपीलाई फेरि कविता फुर्यो,२ दर्जन सर्जकसँग भलाकुसारी

चन्द्रागिरीमा केपीलाई फेरि कविता फुर्यो,२ दर्जन सर्जकसँग भलाकुसारी

केपी शर्मा ओली झण्डै ४० महिनासम्म शक्तिशाली प्रधानमन्त्री र शक्तिशाली नेकपाको अध्यक्ष बन्नुहुँदा बालुवाटारमा खासै भाउ नपाएका साहित्यकार,कलाकार,चित्रकार र नाटककारले हिजो उहाँलाई डाँडामा बोलाएर सम्मान गरेका छन् । हिजो दिउँसो चन्द्रागिरी केबुलकार चढेर चन्द्रागिरी हिल्स पुग्नुभएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले उहाँहरुसँग तीन घण्टा बिताउनुभएको छ ।

साहित्यकारहरुसँगको समिपमा रहेर ओलीले हिजो पनि कविता पाठ गर्नुभयो । दुई वर्षअघि उहाँले त्यहि ठाउँमा कविता लेख्नुभएको थियो । हिजो उहाँ पत्नी राधिकासहित चन्द्रागिरी पुग्दा २ दर्जनभन्दा बढी साहित्यकार, पत्रकार,कलाकार,चित्रकार, नाटककारले स्वागत र भलाकुसारी गरेका थिए ।

अध्यक्ष ओली हिजो अपरान्ह बालकोट फर्के पनि स्रष्टाहरु सबै आज पनि उतै छन् । आजको दिवा भोजनपछि मात्रै राजधानी खाल्डो ओर्लने कार्यक्रम रहेको छ । हिजो दिवा भोजनको समयमा ओलीले त्यहिँ लेखेर कविता पाठ गर्नुभएको बताइन्छ । अरुले चन्द्रागिरीमा दिवा भोजन गरेपनि उहाँले भने खानु भएन ।

हिजोको कार्यक्रममा सहभागी चर्चित साहित्यकारहरुमा वासुदेव अधिकारी,शशि लुमुम्बु, जीवेन्द्र गिरी,फूलमान बल,अनिता लामा हुनुहुन्थ्यो । अधिकारीलाई ओली सरकारले नेपाल बैंकको अध्यक्षबाट हठात् हटाएको थियो ।

त्यसैगरी चित्रकारहरुमा राजन काफ्ले,सरस्वती चौधरीलगायत सहभागी हुनुहुन्छ । हिजो ओलीले धेरै लामो नबोल्नुभएको एक जना साहित्यकारले जनआस्थालाई बताउनुभएको छ । ओलीको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरुको अभियानलाई शुभकामना । मैले जे जति गरेँ ठीकै गरेँ । अब अहिले अभियन्ताहरुलाई पहिलेजस्तो गाह्रो पनि छैन । त्यसैले अभियन्ताहरु पनि धेरै हुनुहुन्छ ।’

कार्यक्रमस्थलमा चन्द्रगिरी हिल्सका महाप्रबन्धक अभिषेक शाह र एक जना सञ्चालकले उहाँको स्वागत गरेका थिए ।

टिप्पणीहरू