अदालतमा यस्तोसम्म हुन थाल्यो अचेल

अदालतमा यस्तोसम्म हुन थाल्यो अचेल

‘बेञ्च सपिङ’ को कहालिलाग्दो दृश्य देखिन्छ, विशेष अदालत बबरमहलमा । कतिपय संवेदनशील मुद्दाहरू अध्यक्षको अनुपस्थितिमै टुंग्याइदिने गरी कसैका पेशी अचम्मसँग चढेका चढ्यै छन् । कतिपयका पेशी भने वर्षौं हुँदा पनि अलपत्र छन् । त्यहाँ अध्यक्ष खालि भएको लामो समय बित्दा पनि कसैलाई पठाइएको छैन ।

अहिलेचाहिँ अचम्मसँगले पेशी चढ्न थालेको मुद्दा हो, वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालिन उपकुलपति राजकुमार रौनियारको । सेवाग्राहीसँग कार्यकक्षमै आठ लाख रुपैयाँ घुस मागेको र निवासको दराजमा पौसा राखेको अभियोगमा ०७६ असार २७ मा उनी भतिज डा.रामहरिसहित पक्राउ परेका थिए । अख्तियारले उनीविरुद्ध एक करोड २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित कागजातसहित ०७६ साउनमा मुद्दा पेश गरेको थियो ।

पक्राउ पर्नुअघि उनी अनियमितता आरोपमा सिनेट बैठकबाट निलम्बनमा परेका थिए । त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका उनलाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराकै इजलाशले काममा फर्किन अन्तरिम आदेश दिएको थियो । अहिले विशेष अदालतका न्यायाधीश मोहम्मद अजिज मुसलमान र नित्यानन्द पाण्डेले हेरिरहेको उक्त मुद्दामा गत साउन २७ गते बहस नोट पेश गर्न आदेश भएको छ ।

अख्तियारले आफ्नै पैसा आरोपीबाट बरामद भएको देखाउँदै चलाउने गरेको स्टिङ अपरेशनलाई कानुनी आधार नमान्ने सर्वोच्चको फैसला छ । त्यही फैसलामा टेक्दै रौनियारलाई छिटोभन्दा छिटो मुद्दामुक्त पार्ने चाल चलिरहेको केही कानुन व्यवसायीको आशंका छ ।

अर्बौंंका अरु थुप्रै मुद्दा विशेष अदालतमा छन् । तिनका पेशी चढ्दैनन् । तर, विशेष स्वार्थ गाँसिएको रौनियारको मुद्दा भने ४–५ दिन बिराएर अचम्मसँग पेशीमा चढ्नुलाई ‘बेञ्च सपिङ’ कै रुपमा बुझ्नुपर्ने एक कानुन व्यवसायी बताउँछन् ।

यो मुद्दामा विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीको विशेष रुचि रहेको बताइन्छ । यदि रौनियारले यो मुद्दामा सफाई पाए भने त्यहाँ उपकुलपति नियुक्त भएका ज्ञानेन्द्र गिरीले हट्नुपर्ने हुन्छ । अहिलेकै हिसावले पनि राजकुमारको म्याद फागुनसम्म छ । गिरी स्वयं भ्रष्टाचारमा मुछिएकाले राजीनामाको माग उठिरहेको छ । आन्दोलन चलिरहेको छ ।

अहिले छमध्ये २ न्यायाधीश मात्र विशेष अदालतमा रहेको र अध्यक्ष नै सरुवा भएको मौका छोपेर सफाई लिई बीपीमा फर्कने र नेपाली काँग्रेससँग निकटताको नाताले पुनर्नियुक्ति लिने रौनियारको योजना छ । मुद्दामा उनका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, कृष्ण सापकोटा, भीमार्जुनका भाइ सुवास आचार्यहरूले बहस गरिरहेका छन् ।

टिप्पणीहरू