बैंक ठगेर भागेका केदार पोर्चुगलमा समातिए

बैंक ठगेर भागेका केदार पोर्चुगलमा समातिए

नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई भागेका काभ्रेका केदार ढुंगाना पोर्चुगलबाट समातिएका छन् । काभ्रेको भुम्लु गाउँपालिका-१ का ४३ वर्षीय ढुंगानाले नक्कली सवारी दर्ता बनाएर देवः विकास बैंकका काठमाडौं र ललितपुरका विभिन्न शाखाबाट सवारी साधन कर्जाबापत २ करोड ७१ लाख ७६ हजार रकम ऋण लिएका थिए । किस्ता रकम नबुझाएपछि वैंकले सवारी साधन लिलामीका लागि यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा किर्ते गरेको खुलासा भएको हो ।

ढुंगानासहित १२ जना प्रतिवादीहरुले नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा जिल्ला अदालत ललितपुरले प्रत्येक मुद्दामा १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । ढुंगाना नेपालमा बाहिर रहेको जानकारी पाउनासाथ अन्तर्राष्ट्रियस्तरमा खोज तलास गर्न २०७५ पुस १७ गते डिफ्यूजन जारी भएको थियो । उक्त डिफ्यूजन २०७८ बैशाख ३१ गते रेड नोटिसमा रुपान्तरण भएको थियो ।

ढुंगानालाई पोर्चुगलबाट पक्राउ गरी शनिबार नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीमाथि काठमाडौं जिल्ला अदालतमा दायर भएका लिखत सम्बन्धी कसूरमा ५ वटा मुद्दा र उच्च अदालत पाटनमा दायर भएका बैंकिङ कसूर सम्बन्धी १६ वटा मुद्दा विचाराधीन छन् ।

टिप्पणीहरू