नेपालको छनोट खेल उज्बेकिस्तानमा « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

नेपालको छनोट खेल उज्बेकिस्तानमा

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार १६:३०


नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत समूह एफको खेल न्युट्रलभेनु उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी)ले कोरोना संक्रमण बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने भनिएको प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको तुलाधरले बताए । यसअघि जारी गरेको तालिकाअनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । घरेलु मैदानमा हुने अभिलासाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्यसहित टोलीले अभ्यास गरिरहेको थियो । तर परिवर्तन भएको तालिकाले टोली केही निराश भएको छ ।

एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । बंगलादेश लगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारीसमेत गरिएको छ ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूहको शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदै छ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !