कुन मनोबलले चल्छ अब देश जोगाउने काम ?

नेकपा (एमाले) को शान्तिपूर्ण मेची–महाकाली यात्रा अस्ति सोमबार सप्तरी सदरमुकामनजिकै पुग्दा एकाएक हिंसात्मक रुप लियो । एमालेको सभाभर शान्त रहेको त्यहाँ कार्यक्रम सकिएलगत्तै गोली चल्दा अन्ततः ६ प्रदर्शनकारीले ज्यान गुमाउने गरी घटना हुनुको कारण कोट्याउँदै एमालेले पनि भनेको छ, ‘गृहमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएको छ ।’ 

सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिएको सप्तरीमा एमाले सभा हुने र मधेसी मोर्चाले प्रतिकार सूचना पाइसकेका गृहमन्त्री विमलेन्द्र निधीले आखिर प्रधानमन्त्रीको निर्देशनसमेत अवज्ञा गर्दै त्यसदिन किन काठमाडौं छाडे ? गम्भीर प्रश्न उठेको छ । उनी त्यसदिन कैलालीमा थिए । त्यही कैलाली, जहाँ दुई वर्षअघि हिंसात्मक भिडन्तमा ठूलो क्षति पुगेको थियो । प्रचण्ड सरकारको गृहमन्त्रीमा बहाली भएलगत्तै निधीले ७ भदौ २०७२ को टीकापुर हत्याकाण्डमा सुरक्षाकर्मीको ज्यान लिनेहरूउपर चलाइएको मुद्दा फिर्ता लिने प्रक्रिया शुरु गरेका थिए ।

नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका सात प्रहरी र एक बालकको ज्यान जाने गरी टीकापुर– २ मनुवा गाउँनजिकै थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएको उत्तेजित भीडलाई प्रहरीले सम्झाएर स्थितिलाई नियन्त्रणमा लिन खोजेको थियो । तर, आपराधिक जत्थाको घुसपैठका कारण प्रहरीको शान्तिपूर्ण प्रयास हिंसात्मक घटनामा परिणत भए । जब निधीले गृहमन्त्री बनेलगत्तै मुद्दा फिर्ताको तयारी थाले, तब प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग भनाभन नै चल्यो । महानिरीक्षकको तर्क थियो, ‘राज्यका विरुद्ध लड्ने र राज्यका लागि लड्नेमाथिको व्यवहार एउटै हुन्छ ?’ उनले उक्त घटनाका दोषीउपरको कारवाही फिर्ता लिँदा मृतकका परिवारसहित सिंगो प्रहरी फोर्सको मनोबल गिर्ने र त्यसले देशको सुरक्षास्थितिमा गम्भीर समस्या ल्याउने चेतावनी दिए । निधीले दोषी भनिएका व्यक्तिका परिवार, उनीहरुका पार्टीको तीव्र दबाब थेग्न सकिएन भन्दै फिर्ताकै पक्षमा आफूलाई उभ्याए । त्यसपछि प्रहरी महानिरीक्षकले जवाफ दिए, ‘म अहिल्यै मृतक प्रहरीका श्रीमतीहरुलाई यहाँ उभ्याइदिऔँ ? के भन्नुहुन्छ उनीहरुलाई ? के जवाफ छ तपाईंसँग ?’

यस्तो लामो गलफत्तिपछि टीकापुर घटनाका दोषीउपर चलाइएको मुद्दा फिर्ता लिने प्रक्रिया रोकिएको छ । सोमबार सप्तरी भिडन्तको अत्यधिक सम्भावनाबारे पर्याप्त सूचना हुँदाहुँदै निधी त्यहीँ पुगे, जहाँ दुई वर्षअघि नियोजित रुपमा बितण्डा मच्चाइएको थियो । एक त प्रहरी नेतृत्व डाक्टरको हातमा छ । उसको आफ्नै चेन अफ कमाण्ड यतिबेला कमजोर छ । केन्द्रीय प्रहरी नेतृत्वमा अझै पदका लागि झगडा बाँकी नै छ । त्यसबाट जिल्ला–जिल्लाका प्रहरी प्रभावित नहुने कुरै छैन । प्रधानमन्त्री बल प्रयोगविरुद्ध, गृहमन्त्री बल प्रयोगको आदेश हाँकेर एकातिर चलिदिने † यस्तोमा प्रहरीले प्रधानमन्त्रीको निर्देशन मान्नु कि गृहमन्त्रीको ? गृहमन्त्रीको हवाला दिँदै निमित्त प्रहरी महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेल पन्छिएका छन् । र, घटनाको भोलिपल्टै, अर्थात् हिजो अपराह्न सप्तरीका सिडिओ, एसपी, डिएसपीहरु काठमाडौं फिर्ता भएका छन् ।

गम्भीर प्रश्न छ, आदेश मानेर काम गर्दा पनि कारवाहीस्वरुप तानिनुपर्ने नियतिका बिचरा कर्मचारीहरुले गर्ने भनिएको स्थानीय तहको निर्वाचनका काम अगाडि बढाउँछन् कसरी ? सप्तरीबाट हिजो तानिएका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना सात दिनअघि मात्र त्यहाँ हाजिर भएका थिए । नेपाल प्रहरीका एसपी दिवेश लोहनी, सशस्त्रका एसपी जयबहादुर खड्का, प्रहरी डिएसपी दानबहादुर कार्कीहरु हिजो दिउँसो विराटनगरबाट एउटै जहाज चढेर काठमाडौं ओर्लिएका छन् । अहिले सप्तरीको प्रशासनिक कमाण्ड सहसचिवबाट शाखा अधिकृत प्रेम उपाध्यायमा  र सुरक्षा कमाण्ड एसपी (राप द्वितीय श्रेणीसरहको) बाट शाखा अधिकृतस्तरका इन्स्पेक्टर विजय श्रेष्ठले गर्दैछन् । त्यहाँ हालसालै सिन्धुलीबाट बढुवा भएका एसपी अनुरागकुमार द्विवेदी, गुप्तचरबाट प्रहरीमा गई डिएसपी भएका, पूर्वी तराईका बासिन्दा, लामो समय सुनसरी दंगामा बसेका सञ्जिव शर्मा दास सरुवा भएका छन् । हिजो एकथरि कमाण्डरहरु आदेश मान्दामान्दै तानिएर हिँडेका छन् । भोलि जाने यी अर्काथरि कमाण्डरले कुन मनोबल बोकेर ड्युटी गर्ने हुन् ? हेर्न बाँकी नै छ । 

सभा, सम्मेलन गर्न पाउने, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउनेजस्ता मानिसका मौलिक अधिकारभित्रै रहेर एमालेले सप्तरीमा सभा र यात्रा चलाएको थियो । त्यसलाई बिथोल्नका लागि छँदाखाँदा उमेरका कलिला युवकलाई जोस्याउने र ज्यान गुमाउने तहमा लैैजाने नेतृत्वबारे सरकारले के भन्छ ? प्रश्नहरु अनुत्तरित नै छन् । 

टिप्पणीहरू