सरकार र जँड्याहा समान ! « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

सरकार र जँड्याहा समान !

प्रकाशित मिति :  ६ फाल्गुन २०७३, शुक्रबार ०७:३९


  • वैकुण्ठ ढकाल

रक्सी धेरै खानु र सधँै खानु राम्रो काम होइन । स्वास्थ्य बिगार्ने, सामाजिक इज्जत र मान–प्रतिष्ठा घटाउने काम हो । तैपनि, हाम्रो समाज र परिवारमा यस्ता जँड्याहाको ठूलै हुल छ । मानिस यस्ता मानिसका विषयमा भन्ने गर्छन् । यी खाले मानिसले रक्सी खाएको हुन्न । रक्सीले यिनीहरूलाई खाएको हुन्छ । नेपालमा रक्सी खाने र खुवाउने काममा सरकारले हौसला दिने भएकाले समाजमा भलाद्मी जँड्याहाको पंक्ति निकै लामो छ । सरकारले थुप्रै जुवाघर पनि खोल्न दिएको छ । कुलो र कुरो जता लगे पनि हुन्छ । तर्ककै कुरा गर्ने हो भने चोर, डाँका र हत्यारा पनि आफ्नो कामको औचित्य सावित गराउन कारण दिइरहेका हुन्छन् ।

तपाईंलाई लाग्दो हो, जँड्याहा, रक्स्याका कुरा सुनाएर दिक्क पार्न लाग्यो भनेर । भन्नेहरू भन्छन्, यो सरकार प्राकृतिक गठबन्धन हो । केही वर्षअघि टाउकाको मूल्य तोकेका शेरबहादुर देउवाले सत्ताको बागडोर पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिएका छन् । योजस्तो प्राकृतिक र प्रजातान्त्रिक गठबन्धन अरू हुनै सक्दैनथ्यो !

नयाँ संविधानलाई सर्वस्वीकार्य बनाउन, कार्यान्वयन गर्न, भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन, नेपाललाई समृद्ध बनाउन । यत्ति एजेण्डा नभए पनि अघिल्ला सरकारले गर्न नसकेका काम सम्पन्न गर्न । निर्वाचन सम्पन्न गराउन । हुन त अब यसो भन्नेहरूलाई लाज भइसक्यो, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको कुरा गर्न मन्त्री बनेका लोभिपापीको हुल । तिनले अभिव्यक्त गर्ने बोली र व्यवहार ।

तर, सबैले जानेकै छन्, सरकार भन्छ एउटा– गर्छ अर्को । निर्वाचन मिति घोषणा किन भएन ? मधेसी मोर्चालाई सहमतिमा ल्याउन नसकेर । किन सहमतिमा ल्याउन नसकेको ? एमालेले संविधान संशोधन गर्न नदिएर । संविधान संशोधन नगरी निर्वाचन गर्न सकिँदैन त ? अहँ, सकिँदै सकिन्न, संशोधनविना संविधान सर्वस्वीकार्य हुँदै हुँदैन । बिहान उठेदेखि राति नसुत्दासम्म बहाना बनाउने भन्दा अर्को कुनै काम छैन । आफूले गरेका हरेक कामका निम्ति होस् अथवा नगरेका कामका निम्ति जँड्याहाले जाँड खान जे तर्क दिन्छ, यो सरकारका मानिस उस्तै तर्क दिन्छन् । तपाईंले पत्याइरहनुभएको छ यिनका कुरा ?

पुष्पकमल दाहालले दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि भनेका थिए, ‘अघिल्लो पटक अनुभव भएन, अब फटाफट नतिजा देखिने गरी काम गर्छु । रिबन काट्न र उद्घाटनमा दौडिन्नँ ।’ तर अवस्था ठीक उल्टो छ । एक पटक उद्घाटन कार्यक्रमको फेहरिस्त हे¥यो भने सायद यसअघिका सबै प्रधानमन्त्रीलाई उछिनिसके होलान् । कतिलाई लागेको थियो होला, एक पटकको गल्तीबाट प्रधानमन्त्रीले पाठ सिक्छन् । तर, के हुन्थ्यो । नेताले उद्घाटन छाड्नु र एक नामुद जँड्याहाले रक्सी छाड्नु एकै हो । तपार्इंलाई थाहा छ नि जँड्याहाले रक्सी छोड्ने बहानामै फेरि एक पटक रक्सी खान्छ ।

प्रधानमन्त्री दाहालले निर्वाचनको मिति घोषणा गर्ने भनेर कति पटक भाका सारे, हिसाब कसैले राखेका छन् ? सरकार प्रमुखमा बस्न पुगेका व्यक्तिमा देखिएको उद्घाटन–शिलान्यास मोह पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ ।

नेपालमा जसलाई जे काम गर्ने जिम्मा दियो उसले त्यो काम गर्दैन तर त्यसको उल्टो–सुल्टो जे हुन्छ त्यो थालिहाल्छ । प्रधानमन्त्रीका रूपमा दाहाललाई जुन कामको जिम्मा छ उनी त्यो काम राम्रोसँग गरिरहेका छैनन् । सारा दुनियाँलाई यो कुरा थाहा छ । सभामुख ओनसरी घर्तीले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेजस्तो लाग्दैन । अहिलेको अवस्थामा संसद् बैठक दुई साताभन्दा बढी स्थगन गर्नु नै उनको काम हो त ?

बिचित्र लाग्छ तर विचित्र मान्नै पर्दैन । आफ्नो पैसाले हिँड्नुपरेको भए र पदमा, अझ ठूला पदमा नरहेको भए, सबैलाई थाहा छ– उद्घाटन, शिलान्यासको न यत्रो चटारो हुने थियो न यिनीहरू त्यसरी पुग्थे, न मानिसले यिनलाई त्यत्रो भाउ नै लगाउँथ्यो ।

भद्र सहमति मान्ने हो भने अहिलेको सरकारको नेतृत्व फेरिने दिन नजिकिँदै छ । अब सरकार फेरिन्छ भनेर हल्ला चल्न थालिसकेको छ । अलिअघि सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले नै सरकार ढल्छ भनिँदै थियो, अहिले फेरि प्रहरी महानिरीक्षक नियुक्तिमा देखिएको विवादले सरकार ढल्छ भनियो । तर, नेपाल प्रहरीको नेतृत्व कांग्रेसले चाहेको मान्छेले गर्ने र सशस्त्र प्रहरीको नेतृत्व माओवादीले चाहेको मान्छेले गर्ने भनेर थामिएको छ । अदालतद्वारा डामिएको छ ।

हेर्नुहोस् त विडम्बना विधिले होइन, पार्टीले प्रहरीको नेतृत्व गर्ने रे ? बाहिर जति हल्ला चल्छ यो सरकारको भविष्य छैन भनेर, यसमा बस्ने मन्त्री बाहिर जोड–तोडले चिच्याउँछन्, यो सरकार ढल्दैन ।

ज्यान गए ढल्दैन, मरिगए ढल्दैन, लौ ढालेर देखाऊ । तर, भित्र–भित्र उनीहरू त्रस्त, आतंकित छन् र के गरौं र कसो गरौंको अवस्थामा पुग्छन् । झन् चाँडो–चाँडो र ठुल्ठूला ठाउँ खोजेर पैसा खान्छन् । नराम्रा निर्णय गर्छन् । जनता–नागरिकको थाप्लोमा गिर खेल्छन् । नेपालका नेताको मन खोटो र कालो छ । सरकार र शक्तिमा पुगेपछि खोटो र अझ कालो बन्न पुग्छ ।


प्रतिक्रिया दिनुहोस !