यस्ता मान्छे पनि भेटेको छु यहाँ

  • रुपबहादुर विश्वकर्मा

…श्रीमती भगवती ! माफ गर, मैले जानीजानी संबोधनको शुरुमा ‘प्रिय’ शब्द प्रयोग नगरेको हुँ । किनकि म तिम्रो तथा तिमी मेरो ‘प्रिय’ हुन सकेको भए आज हामीबीच यस्तो ‘अप्रिय’ अवस्था आउने नै थिएन । श्रीमती शब्दचाहिँ किन राखें भने भित्री कथा जेसुकै भए तापनि कानुनी रुपमा अझै पनि हामी श्रीमान–श्रीमती नै रहेछौं । त्यसैले त भावनात्मक र भौतिक रुपमा अलग भएको दुई वर्ष भइसके पनि अर्को जीवनसाथी ल्याउनासाथ तिमीले हालेको बहुविवाह मुद्दामा पक्राउ परें ।

सँगै बस्दा कहिल्यै सुख र शान्तिले बाँच्न दिइनौ । घरै छाडेर हिँड्दा पनि मैले सुख पाइन । अदालतसँग मान्छेको मन र माया पनि जाँच्ने यन्त्र हुन्थ्यो भने दाबीका साथ भन्छु, मैले बहुविवाह गर्नु कुनै गल्ती देखिन्थेन । तर, त्यस्तो यन्त्र यो संसारमै छैन सायद । त्यसैले मलाई उल्टो सावित गर्न सफल भयौ । तिमीमा अलिकति नैतिकता र मानवता भएको भए आफ्नो कानुनी अधिकार लिँदा हुन्थ्यो, जुन दिन दुई वर्षअघि नै तयार थिएँ ।

अहिले म पुर्पपक्षका लागि पक्राउ परेकै जिल्ला काभ्रेको धुलिखेलस्थित कारागारमा बन्दी जीवन बिताइरहेको छु । आफैं एउटा अधिकारकर्मी तथा सञ्चारकर्मीसमेत भएको नाताले हामीबीचको वास्तविक कथा अरुले पनि जान्न जरुरी छ भन्ने लाग्यो । ताकि अरु दम्पतीले हामीले जस्तो गल्ती नगरुन् र दुई दिनको जिन्दगी दुःखपूर्ण नबनाउन् ।

म त्यही व्यक्ति हुँ, जसले पुरुषवादी परम्परा र धर्म–संस्कारविरुद्ध तथा महिला समानताको समर्थनमा अरुभन्दा एक कदम अगाडि बढेर बोल्ने र लेख्ने गथ्र्यो । बोलेका कुरा हावामा उडेर गए पनि लैंगिक विभेदविरुद्ध मेरा लेख÷रचना पत्रपत्रिकामा सुरक्षित छन् । विचारमात्र हैन, व्यवहारमा पनि विभिन्न व्रतको नाममा अरु पुरुषले पत्नीलाई गोडा पखालेको पानी खुवाइरहँदा यो अमानवीय संस्कार हो भन्दै तिमीलाई त्यस्तो गर्न नलगाउने पति मै हुँ । तीज तथा स्वस्थानीजस्ता कुनै पनि व्रत नबस्न सिकाउने श्रीमान् पनि मै हुँ । आफूले मात्र बुझेर हुँदैन भनी महिला अधिकारसम्बन्धी विभिन्न तालिम, गोष्ठी तथा पाँच÷सात दिने दार्जीलिङसम्मका भ्रमणमा तिमीलाई पठाउने ‘महान्’ पति पनि मै हुँ ।
विडम्बना, त्यही व्यक्ति आज महिलामाथि अन्याय गर्ने एउटा अपराधीको रुपमा जेल बस्न बाध्य छु । छोरो १२ वर्ष भइसक्दा पनि तिम्रो पूर्वप्रवृत्तिमा कुनै परिवर्तन आएन, बरु बढ्दै गयो ।

‘मान् नमान् मै हुँ तेरा मेहमान’ भनेजसरी आफूखुशी गरिरहन पाउनुपर्छ र मैले स्वीकार गरिरहनुपर्छ भन्ने ठान्यौ । मानौं म तिम्रो दास हुँ, बँधुवा मजदुर हुँ । यस जेलमा मैले त्यस्ता पुरुष पनि भेटें, जो यस्तैयस्तै असमझदारीले कोही सिधै श्रीमतीलाई हत्या गरेर त कोही श्रीमतीले आत्महत्या गरेका कारण आएका रहेछन् । मैले पनि यस्तो भयावह अवस्था आउनुभन्दा बरु सम्बन्धबिच्छेद गरौं भनेर पटकपटक बिन्ती गरेकै हुँ । तिम्रो बुबाआमालाई समेत झिकाएर हामी सँगै बस्नै नसक्ने भएको जानकारी गराउँदै डिभोर्सका लागि आग्रह गरेकै हुँ । तर तिमीले उल्टै आफन्तमार्फत मलाई धम्क्याउने र तह लगाउने उपक्रम शुरु ग¥यौ । ज्यान मार्नेसम्मका फोन आउन थाले । नेपाल आउनेबित्तिकै खुकुरीमा रगत नलाग्नेगरी काट्छु भनेर विदेशबाटै धम्की दिने एकजना त तिम्रो तिनै माइली दिदी पार्वती हुन्, जो अहिले मैले बहुविवाह गरेकामा तिम्रो साक्षी बस्न आएकी छन् ।

मुद्दामामिलाको झन्झटमा फस्नुभन्दा अन्ततः म २०७२ जेठमा जागिर, सामाजिक मानसम्मान सबै छाडेर आफ्नै घरबाट विस्थापित हुन बाध्य भएँ । काठमाडौं आएँ । खै किन हो, बुझ्ने भइसकेको हाम्रो एउटै छोरो पनि तिमीसँग भन्दा मैसँग बस्न आयो तर तिमी अहिले छोरो खोसेर लगेको आरोप लगाउँछ्यौ रे ! हामी हिँडेपछि वृद्ध आमा पनि विरक्तिएर सँगै बस्न आउनुभयो । हामी काठमाडौंमा कहाँ बस्छौं भन्ने सबै जानकारी भएर पनि २०७३ मंसिर २३  अर्थात् मैले अर्की नल्याउँदासम्म खोजिनौ । तर, तिमीले माया र विश्वास दिलाउन आवश्यक नठानेको मलाई कसैले साँचो माया र साथ दिने गहिरो विश्वास दिलायो । अनि छोरासमेतको सहमतिमा मैले उनलाई आत्मैदेखि अपनाएँ त के बिराएँ ? र, सर्लाहीदेखि आएर बहुविवाहको मुद्दा हाल्यौ ? तिमीले आफ्नो इच्छाअनुसार बाँच्न पाउने, मैले नपाउने ? महिला हिंसा नगर्नुको अर्थ महिलामाथि अन्याय नगर्नु पो हो त ! उसको अन्याय पनि पुरुषले सहनुपर्ने त होइन होला नि !

मैले यही कुरा प्रहरी र अदालतमा भनें तर यस्तो कुरा कानुनले मान्दैन रे ! प्रश्न गर्न मन छ, ‘कानुनी प्रमाण लुकाउने गरीचाहिँ एउटी महिलाले आफ्ना पतिमाथि अविश्वास, अन्याय र मानसिक हिंसा हुने गतिविधि पनि गर्न पाउने हो ? श्रीमतीले सम्बन्धबिच्छेद नदिँदासम्म ती सबै सहेरै बस्नुपर्ने हो ? पुरुष भनेका मान्छे नभएर ढुंगामुढा हुन् ? जसको मन जति कुल्चिए पनि हुने ? जसको चित्त जति च्याते पनि हुने ? कि हिंसाको हिसाबकिताब महिलाको मात्र हुन्छ ? महिलाले चाहिँ आफ्ना पुरुष तथा परिवारप्रति पालना गर्नुपर्ने अनुशासन, मर्यादा र कर्तव्य केही हुँदैनन् ?

यही जेलमा मैले अरु पनि केही त्यस्ता पुरुष भेटें, जसले जेठीको ज्यादति सहन नसकेपछि सम्बन्धबिच्छेद मागे तर नपाउँदा बहुविवाह गर्न बाध्य भए । यही अवधिमा हाम्रा जेठी पत्नीहरुले अर्को विवाह गरेका भए के हामीले पनि उनीहरुलाई बहुविवाहको मुद्दा हाल्न पाउँथ्यौं ? मैल जेलमा त्यस्ता पनि पति भेटें, जो आफ्नै पत्नीमाथि जबर्जस्ती गरेको अभियोगमा आएका छन् । शारीरिक सम्बन्धजस्तो कुरा दुवैको सहमतिमा हुनुपर्छ, जबर्जस्ती गर्नु अपराध हो । तर, एउटी श्रीमतीले आफू सामान्य र स्वस्थ अवस्थामा हुँदा पनि सम्बन्ध राख्न इन्कार गरिन् भनेचाहिँ त्यो पीडित पुरुषले मेरी पत्नीले मलाई माया गरिनन् भनेर कहाँ मुद्दा हाल्ने ?

कतिपय त्यस्ता प्रेमी यहाँ छन्, जसलाई आफ्नी प्रेमिकाले मन मिलुञ्जेल आफ्नो बनाइन्, नमिल्नेबित्तिकै बलात्कारी ! हामीले खोजेको समाज पुरुषप्रधानबाट महिलाप्रधान हो कि दुवै समान ? दुवै समान हो भने पुरुषका पीडा र बाध्यतालाई पनि बुझिदिनुप¥यो नि सरकार ! महिला अधिकारका नाममा हामीले कस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्न खोजेका हौं ? समाजमा कस्तो संस्कृति निर्माण गर्न खोजेका हौं ? महिला र पुरुषबीचको पवित्र सम्बन्धलाई कस्तो बनाउन खोजेका हौं ?

तिमीले दिएको दुःखपछि लैंगिक हिंसालाई हेर्ने मेरो दृष्टिकोण नै फेरिएको छ । आँखा चिम्लेर महिला अधिकारको पक्षमा बोल्ने मुख बन्द भएको छ । अनि सशक्त रुपमा चल्ने कलम नै शिथिल भएको छ । अदालतमा उजुरी हालेर अंश र मानाचामलको मुद्दा त जित्न सकिएला तर मान्छेको मन र माया जितिन्छ र ! यो त व्यक्ति आफैंले आपसी विश्वास, सद्भाव र प्रेममार्फत सिर्जना गर्ने कुरा हो । सायद तिमीले महिला स्वतन्त्रता र अधिकार त बुझ्यौ तर यो कुरा बुझिनौ वा बुझ पचायौ । फलस्वरुप हाम्रो सानो र सुखी परिवार आज भताभुंग हुन पुग्यो । म त अझै तिम्रो भलो चाहन्छु । मैले दिनुपर्ने अधिकार त दिनुपर्छ नै, तिम्रो राम्रोका लागि मैले सक्ने थप सहयोग गर्न पनि तयार छु । तर सुन्छु, तिमी त म जेल बसेर निस्केपछि पनि ‘गुण्डा’ लगाएर मेरो जीवन बर्वाद बनाउने विचारमा छौ रे ! भाग्यमा विश्वास नगर्ने मान्छे म आज सोच्न विवश छु, के मेरो लेखान्तमै यस्तो थियो ?

यही फागुन ११ गते जिल्ला अदालत काभ्रेमा अर्को पेशी छ । कहिले फैसला हुने हो र न्यायाधीशज्यूले मेरो मर्मलाई कति बुझिदिनुहुने हो, त्यो पनि मेरो भाग्यमै भर पर्ने त होला !

टिप्पणीहरू