ज्वाला संग्रौलाका पति-पत्नीवीच पोल खोलाखोल

ज्वाला संग्रौलाका पति-पत्नीवीच पोल खोलाखोल

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा खेपिरहेकी स्वघोषित सामाजिक अभियन्ता ज्वाला संग्रौला तारेखमा छुटेर मिडियामा मनपरी लेखिरहेकी छन् । प्रहरी र सरकारी वकिलसामु साविती वयान दिएकी उनले अदालतमा भने वयान फेरेको पाइन्छ । सोहिबमोजिम काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालले असार २९ गते उनलाई तारेखमा छोडी मुद्दाको पुर्पक्ष गर्न आदेश दिनुभएको हो ।

यस प्रकरणमा अर्याल श्रीमानले मिसिल नहेरी मन कोमल बनाएबाट उहाँले जातीय तथा सामाजिक भेदभावको पीडा अनुभूत नगरेको प्रष्ट देखिन्छ । धुलो,धुवाँ खाएर सडकमा अहोरात्र ड्युटी गर्ने तल्लो दर्जाका सिपाहीको मर्म र मधेसको मनोविज्ञान नबुझिदिएकोमा श्रीमानप्रति सिपाहीहरुले गुनासो पोखेका छन् ।

संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय,शर्मिला राई र यमबहादुर खड्काविरुध्द जातीय तथा सामाजिक भेदभाव विरुध्दको कसुरमा मुध्दा दायर भएको थियो । चारै जनालाई जेठ ९ गते (निषेधाज्ञाको समय) महाराजगन्ज चोकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई अपशव्द प्रयोग गरी हुलहुज्जत गरेको र जातीय तथा सामाजिक विभेद हुने शव्द प्रयोग गरेको अभियोग लागेको थियो ।

मुद्दाको सुनुवाईपछि न्यायाधीश अर्यालको इजलासले ज्वालासहितलाई तारेखमा छोडेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशमा मुलुकी फौजदारी कार्यसंहिता २०७४ को दफा ६९ बमोजिम तारेखमा छोडी मुद्दाको पुर्पक्ष गर्नू भनिएको छ ।

ज्वालासहितले ट्राफिक प्रहरीका असई मणिकान्त झालाई ‘तँ मधिसे,मधेशमै गएर बस्’ भनेर होच्याई जातीय कुरा गरेको, राष्ट्रसेवक कर्मचारीलाई मनोबल गिराउने गरी अनर्गल प्रचार गरेको र राष्ट्रसेवकउपर वितृष्णा फैलाएको भन्दै प्रतिवेदकले छुवाछुत र भेदभाव (कसुर र सजाय ) ऐन २०६८ को दफा ३ (१) ले निषेधित, दफा ४ (१)ले वर्णित र दफा ४ (४) र (५) अनुरुपको जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर गरेको पुष्टि हुन आएकाले ऐनको दफा ७ (१) (क) बमोजिमको सजाय मागदावी गरेका थिए ।

प्रहरी प्रतिवेदनमा मोटरसाइकलमा आएका यमबहादुर खड्का र ज्वाला संग्रौलाले आवश्यक कागजात माग गर्दा नदिई ड्युटीमा खटिएका प्रहरी जवानलाई गालिगलौज गरेको र पछि हिमाल र शर्मिलालाई बोलाई चोक र प्रहरी वृत्तमा प्रतिवेदक असई झालाई ‘तँ मधेसी,मधेसमै गएर बस्’ भनी होच्च्याई बोलेकाले जातीय विभेदविरुध्दको कसूरमा सजाय जिकिर गरिएको थियो ।

ज्वालाले इजलासलाई दिएको बयान

तपाईंको बाजे,बुबा, आमा, तपाईंको नाम थर, उमेर,पेशा र घर कहाँ पर्छ बताई दिनुहोस्

-मेरो बाजेको नाम लक्ष्मीप्रसाद संग्रौला हो,बुबाको नाम विष्णुप्रसाद संग्रौला हो,आमाको नाम गङ्गा संग्रौला हो,पतिको नाम हिमालप्रसाद उपाध्याय हो, मेरो फेसबुक आइडी ज्वाला संग्रौला हो भने वास्तविक नाम टिका संग्रौला हो । म ३७ वर्षकी भएँ । जापानबाट भर्खरै फर्की आएकी हुँ । म दु:खी गरिबलाई सहयोग गर्दै हिंडिरहेको छु । केही गर्ने सोचमा छु । मेरो माइतीघर झापा जिल्ला, बिर्तामोड नगरपालिका वडा नं. १० मा हो भने श्रीमानको घर अछाम मंगलसेन हो । हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नमूनाचोकमा बस्छु । मैले स्नातक तह अध्ययन गरेको छु ।

 तपाईं आज अदालतमा किन आउनुभएको हो ?

-प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मसमेत भएको जातीय तथा सामाजिक भेदभाव मुद्दामा बयान गर्न उपस्थित भएको छु ।

 तपाईंको घर परिवारमा को-को हुनुहुन्छ ? आर्थिक अवस्था कस्तो छ ? जग्गा जमिनहरु कहाँ,कसको नाममा कति रहेको छ ?

-म र मेरो श्रीमान मात्र काठमाडौँमा बसेका छौँ तर हाम्रो संयुक्त परिवार ९ जनाको छ । आर्थिक अवस्था ठीकै छ । हाम्रो सबै सम्पत्ति सासू ससुराको नाममा अछाममा रहेको छ । अन्य कसैको र मेरो नाममा कुनै चल अचल सम्पत्ति छैन ।

मिति २०७८/२/९ गते बिहान ९:२० बजेको समयमा तपाईं यमबहादुर खड्काले चलाएको स्कुटरमा बसी काठमाडौँ नारायणगोपाल चोकमा पुग्दा निषेधाज्ञाको समय ड्युटीमा बसेका प्रहरी टोलीमध्येका प्रभु गौतमले उक्त मोटरसाइकल रोकी चेक जाँचका लागि कागजात माग्दा नदिई उल्टै धम्क्याई अन्य व्यक्तिहरु समेतलाई फोन गरी बोलाई टोली प्रमुख मणिकान्त झा आई सम्झाउँदासमेत तँ मधेशी होस्, मधेशमा गई बस् भनी जातीय विभेद गरी उक्त भिडियोसमेत सामाजिक सञ्जालमा आएकाले तपाईंसमेतलाई जातीय विभेद मुद्दामा कारवाही गरी पाऊँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदनको सम्पूर्ण व्यहोरा पढीबाँची सुनाई देखाइन्छ, तपाईंले किन ड्युटीमा बसेका प्रहरीलाई जातीय विभेद हुनेगरी गाली गलौज गर्नुभयो भएको हो,व्यहोरा के कसो हो खुलाईदिनुहोस् ।

– म एक सामाजिक सहयोग गर्ने सामाजिक मान्छे हुँ,जापान ७ वर्ष बस्दा धुर्मुस-सुन्तली फाउन्डेसनलगायत थुप्रै संस्थालाई सहयोग गरेकी थिएँ । रवि लामिछानेले खोल्नुभएको जनमैत्री अस्पतालमा म समेतको सहयोग रहेको थियो ।

उक्त दिन मिति २०७८/२/९ गते नारायणगोपाल चोक पुग्दा ड्युटीमा बसेका प्रहरी प्रभु गौतमले हामीलाई रोकी मोटरसाइकलसम्बन्धी कागजात माग्दा हामीले ब्लु बुक देखाएका हौँ । यमबहादुर खड्काको लाइसेन्सको म्याद सकिएकाले उक्त लाइसेन्स छाँयाकपि समेत देखाएका हौँ । मसँग प्रशासनले दिएको पाससमेत थियो । उक्त पास देखाई सामाजिक काममा जान लागेकी मान्छे हुँ भन्दा समेत प्रहरीले जान नदिई उल्टै ठूलो स्वरले हामीलाई थर्काएका हुन् ।

ड्युटी टोलीको प्रमुख मणिकान्त झा आउँदा समेत हाम्रो समस्या नबुझ्दा मैले सिलिन्डर लिन जानैपर्ने भएकाले प्रतिवादी शर्मिला राईलाई सवारी साधन ल्याई आउन भनी फोन गर्दा निज आएकी हुन् । निजले मेरो पतिलाई खबर गरेपछि मेरो पतिसमेत आएका हुन् । म एक सामाजिक अभियन्ता भएकीले मैले प्रहरीसँग सामाजिक कामका लागि जानलाई सवाल जवाफ गर्नुपरेको हो ।

तपाईंले मिति २०७८/३/१४ गते अनुसन्धान अधिकारीसमक्ष गरेको बयानको सम्पूर्ण व्यहोरा पढीबाँची सुनाई देखाइन्छ,यसमा भएको व्यहोरा र सहीछाप तपाईंको हो, होइन भनिदिनुहोस् !

मैले मेरो अनुसन्धान अधिकारीसमक्ष मिति २०७८/३/१४ मा गरेको बयानको सम्पूर्ण व्यहोरा पढीबाँची सुनी देखाई पाएँ । यसमा भएको सम्पूर्ण व्यहोरा ठीक साँचो छ । सहीछापसमेत मेरै हो ।

तपाईंलाई मिसिल सामेल भएको पेन ड्राइभमा भएको सम्पूर्ण व्यहोराको भिडियो क्लिप प्ले गरी देखाई सुनाइन्छ,यसमा बोलिएका शव्द को कसले के-के बोलेका हुन्, कहाँ,कहिले र कसरी तयार भएको हो । खुलाई दिनुहोस् –

-मैले मिसिल सामेल भएको पेन ड्राइभको भिडियो देखाई सुनाई पाएँ । प्रस्तुत भिडियो बनाएको ठाउँ ट्राफिक प्रहरी कार्यालय महाराजगन्जमा नै हो । उक्त ठाउँमा अरु मानिस र प्रहरी स्टाफसमेत भएकाले मधेसतिर खेति किसान गर भन्ने शव्द कसले बोलेका हुन् थाहा भएन ।

तपाईंलाई प्र. ज. संगीताकुमारी चौधरी,प्र. ज. धनेन्द्र जबेगु, प्र.ज. प्रभु गौतम,प्र. ह. मुरारीप्रसाद बराल, प्र. स.नि.मानबहादुर ठगुन्नाले तपाईंसमेतले जातीय विभेद हुने गरी गालिगलौज गर्नुभएकाले कारवाही हुनुपर्छ भनी गर्नुभएको घटना विवरण कागज पढीबाँची सुनाइन्छ । विवरण कसो हो खुलाई दिनुहोस् ।

– प्रमाणका रुपमा पेन ड्राइभ नै पेश भएकाले मैले भने नभनेको त्यसैबाट थाहा भइहाल्छ ।

तपाईंले प्रतिवेदकमाथि जातीय तथा सामाजिक विभेद नगरेको भए सह-प्रतिवादी हिमाल उपाध्याय र यमबहादुर खड्काले आफ्नो अनुसन्धानको बयानमा किन तपाईंलाई आवेगमा आई प्रतिवेदकलाई झा हुनुहुँदो रहेछ मधेशतिरै जानु, तपाईंलाई सरुवाको माग गर्छौ भनेकी हुन् भनेर लेखाई दिएका हुन् खुलाईदिनुहोस् ?

– प्रतिवादीहरुले आफ्नो बयानमा किन त्यस्तो व्यहोरा लेखाए थाहा भएन । उनीहरुलाई नै थाहा होला ।

तपाईंसमेतलाई प्रस्तुत मुद्दाका अन्य सह-प्रतिवादीहरुसंगको मिलेमतोमा ड्युटीमा बसेका प्रहरीलाई जातीय तथा सामाजिक भेदभाव हुने गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर सजाय) ऐन, २०६८ को दफा ३ को उपदफा (१) र दफा ४ बमोजिम वर्णित कसूर गरेकाले सोही संहिताको दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम सजाय हुन र सोही ऐनको दफा ७ को उपदफा १ को खण्ड (क) बमोजिम सजाय गरी क्षतिपूर्ति समेत भराई दिलाई पाउँ भनी अभियोग मागदावी बमोजिमको कसूर गरेको हो होइन ? तपाईंलाई अभियोग माग बमोजिम सजाय हुनुपर्ने हो होइन ? खुलाईदिनुहोस् ।

– यस्तो कार्य गर्न मेरो मर्यादाले समेत नदिने हुँदा प्रस्तुत मुद्दामा मलाई अभियोग मागदावी बमोजिम सजाय हुनुपर्ने होइन ।

ज्वालाले इजलाससमक्ष जातीय विभेद हुने गरी अभिव्यक्ति नदिएको जिकीर गरे पनि प्रहरी अनुसन्धानका क्रममा उनलाई मोटरसाइकलमा बोकी हिंड्ने यमबहादुर खड्काले भने ज्वालाले मणिकान्त झालाई तथानाम गाली गरेको बयान दिएका छन् ।

सरकारी वकिल सुदिपकुमार दंगाललाई बुझाइएको प्रहरी प्रतिवेदनमा एकले अर्काको पोल खोलाखोल गरेको देखिएको छ । अनुसन्धानको क्रममा हिमालले कसूर स्वीकार गरेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘प्रतिवादी हिमालप्रसाद उपाध्यायले कसूर स्वीकार गर्दै झालाई तपाईं मणिकान्त झा हुनुहुँदो रहेछ, तपाईं मधेसतिर जानु भनी रिसको आवेगमा भनेको हो । सोसम्बन्धमा क्षमासमेत मागिसकेका छौं भनेर बयान व्यहोरा देखियो ।’

हिमालको वयानमा अझै प्रष्ट स्वीकारोक्ति यस्तो छ (ज.१३)-उक्त भिडियोमा भएको वहाँलाई यहाँ बस्न दिँदैनौं, एनी हाउ सरुवा गराइदिन्छौँ भनी मेरी श्रीमती ज्वाला भनिने टीका सङ्ग्रौलाले बोलेकी हुन् ।”

साक्षीहरुको प्रहरी बयान

मिति २०७८/०२/०९ गते बिहान महाराजगन्ज चोकमा ड्युटीमा खटिएको थिएँ । सो अवस्थामा मलगायत प्रहरी जवान प्रभु गौतम, राजेन्द्र कुंवर,धनेन्द्र जवेगुसमेत खटिएको र हामीहरुको कमाण्डरको रुपमा प्रहरी सहायक निरीक्षक मणिकान्त झा खटिनुभएको थियो ।

बिहान अन्दाजी ९:२० बजेको समयमा महाराजगन्ज चोकमा प्रदेश ३/०२/०१५ प २४९९ नम्बरको मोटरसाइकल पुरुष व्यक्तिले चलाई पछाडि महिला व्यक्ति सवार भई आएको हुँदा उक्त मोटरसाइकललाई सोही ठाउँमा ड्युटीमा खटिनुभएका प्र. ज. प्रभु गौतमले रोकेकोमा सो ठाउँमा नरोकेको हुँदा दाइले रोक्नु भनी म समेतलाई भनेको हुँदा मलगायत सोही ठाउँमा खटिएका अन्य ट्राफिक प्रहरी कर्मचारीसमेत भई उक्त मोटरसाइकल रोकेको । र मोटरसाइकल रोकी मोटरसाइकलमा सवार भई आएका व्यक्तिहरुलाई मोटरसाइकल चलाउन चाहिने सवारी पास तथा मोटरसाइकलको सवारी दर्ता किताब (ब्लु बुक) र सवारी चालक अनुमति पत्रसमेत माग गर्दा निजहरुले ब्लु बुक मात्र देखाएको ।

सोबाहेक अन्य कुनै कागजपत्र देखाउन नसकेको कारण मोटरसाइकल साइड लगाउनुस् भनी जानकारी गराएपछि निजहरुले विभिन्न प्रकारको अश्लिल शव्द प्रयोग गरी कमान्डर तथा हामीहरु समेतलाई गालिगलौज गरी हुल हुज्जतसमेत गर्नुभएको । र,सोही अवस्थामा निजहरुले अन्य व्यक्तिहरु समेतलाई फोन गरी बोलाई मानिसहरु भेला जम्मा पारी हामीहरुको काम कारवाहीमा बाधा अवरोध पुर्याएको कारण कमाण्डरले यो सार्वजनिक स्थानमा हो-हल्ला नगर्नुस् केही छलफल गर्नु पर्ने भए कार्यालयमा गई छलफल गर्नुहोस् भनी जानकारी गराएको हुँदा उक्त मोटरसाइकलमा सवार भई आएका पुरुष तथा महिला र निजहरुले फोन गरी बोलाएका अन्य केही व्यक्तिहरु समेत छलफल गर्न भनी कार्यालय गएका हुन् ।

पछि निजहरु कार्यालयमा गैसकेपछि छलफलको क्रममा निजहरुले हामीहरुको कमान्डरको रुपमा खटिएका मणिकान्त झालाई ‘तँ मधिसे,मधेशमै गएर बस्’ भनी होच्च्याई गालि गलौज गरेका रहेछन् भन्ने व्यहोराको महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्र.ज. संगीता कुमारी चौधरीको घटना विवरण कागज ।

अन्य साक्षीहरुले पनि यस्तै व्यहोराको कागज गरेका छन् ।

ज्वाला र उनको श्रीमान भनिएका हिमालमाथि लिखतसम्बन्धी कसुर र अभद्र व्यवहारविरुद्धको मुध्दा पनि चलाइएको थियो । सामाजिक सञ्जालमा सिमान्तहीन गालिगलौजका शब्द लेख्ने गरेको र प्रहरी चौकीमै साथी खुश्बू घिमिरेलाई कुटपिट गरेको अभियोगमा प्रहरी खोरमा पुगेकी झापाकी ज्वाला र अछामका हिमालको कागजात भिडाउने क्रममा प्रहरी,सरकारी वकिल र अदालतले किर्ते गरेको ठहर्याएका हुन् ।

लिखतसम्बन्धी कसुरको अभियोग पत्रमा ज्वाला दम्पत्तिले अछामको मंगलसेन नगरपालिका र पाँचथरको साविक सुभांग गाविसको लेटरप्याड आफैंले तयार गरी आफ्नो विवरण भरेर फोटो टाँसेको साथै उक्त कार्यालयको छाप तथा स्थानीय पन्जिकाधिकारीको दस्तखतसमेत आफैं गरी नक्कली छाप लगाएर सम्बन्ध विच्छेदको किर्ते प्रमाणपत्र तयार गरेको उल्लेख छ ।

त्यस्तै, राहत वितरणसम्बन्धी अनुमति पत्रमा समेत प्रहरीले कैफियत जनाएको छ ।

ज्वाला र हिमालमाथि युवासंघमा आवद्ध खुश्वु घिमिरेमाथि प्रहरी चौकीमै कुटपिट र अभद्र व्यवहार गरेको अभियोग पनि लागेको छ ।

टिप्पणीहरू