सेनाबाटै सैनिक साथीको सफाया

सेनाबाटै सैनिक साथीको सफाया

गत बिहीबार चितवनमा गोली चल्यो । नेपाली सेनामा कार्यरत हुद्दालाई नेपाली सेनाकै एक सिपाहीले एसएमजी हतियारद्वारा कन्चटमा गोली हानी हत्या गरेको रहस्य खुल्यो । सोही दिन हत्यारालाई पक्राउ गर्न चितवन प्रहरी सफल भएको छ । मृतक धादिङको नीलकण्ठ नगरपालिका–१३ घर भई दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत ३६ वर्षीय भरत गुरुङ र हत्यारा भरतपुर महानगरपालिका–२१ वतन भई दि फेमस महिन्द्र दल गण शिवपुरीमै कार्यरत २६ वर्षीय गंगाधर ढकाल रहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रहरीका अनुसार बिहान साढे आठ बजेतिर भरतपुर–१७ मानसिंहचोक नजिक सिमलडाँडा खेतको कुलोमा एकजना पुरुषको लाश फेला परेको भन्ने सूचना प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरीको अनुसन्धान टोली घटनास्थल पुग्दा खेतको कुलोको पानीमा लाश भेटियो । लाशदेखि केहीपर पिच सडक किनारामा एकथान गोलीको खोका फेला परेको प्रहरीको भनाइ छ ।

घटनास्थलको प्रकृति,मृतकको शरीरमा लागेको चोटपटक हेर्दा कोही कसैले गोली प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार हत्याराको खोजी गर्ने क्रममा शंकास्पद व्यक्ति गंगाधर ढकाल भरतपुर–२० चनौलीबाट समातिएका हुन् । ढकालले नै पैसाको निम्ति भरत गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।बताइएअनुसार गत साउन २ गते ढकाल भरत गुरुङको ग्लोबल आईएमई बैंकको खाली चेक बोकेर काठमाडौंबाट चितवन आए । ३ गते भरतको चेकमा आफैंले हस्ताक्षर गरी बैंकबाट नौ लाख रकम निकाले । नौ लाखमध्ये एकलाख आफैंले राखी आठ लाख आफ्नो घरपरिवारलाई दिए । ५ गते भरतले जग्गा पासको लागि चितवन आउनुपर्ने भएकोले फोन गरी काठमाडौंमा लिन आउनू भनी बोलाएपछि गंगाधर काठमाडौं गए । ५ गते नै गंगाधरको मोटरसाईकल चढी उनीहरु चितवन आएर होटलमा बास बसे । भरत गुरुङ अत्यधिक मदिरा सेवन गर्थे ।

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार ६ गते दिन र रातिको समयमा गंगाधरले भरतलाई खाना तथा खाजा खाने बहानामा धेरै मात्रामा मादक पदार्थ सेवन गराई मोटरसाइकलमा घुमाई ७ गते बिहान ५ बजेतिर घटनास्थल पुर्याए । त्यहाँ पिसाब फेर्ने बहानामा गंगाधर मोटरसाइकलबाट झरे । पिसाब फेरी झोलाबाट हतियार निकालेर गोली लोड गरे । अनि मोटरसाइकलको पछाडि बसिरहेका भरत गुरुङको दायाँ कानमा हतियार ताकी फायर गरे । भरत मोटरसाइकलबाट भुइँमा लडेपछि बोकेर ७/८ मीटरको दूरीमा रहेको कुलोमा फाली घटनास्थलबाट फरार भए ।

आफ्नो कपडा,जुत्ता र मोटरसाइकलमा लागेको रगत केही पर गई कुलोको पानीमा पखाली साथमा भएको हतियार भरतपुर–८ गरुवा कामक्ष मन्दिर एरिया टोलस्थित सडक किनारामा रहेको झाडीमा फालेर गंगाधर सौराहाचोकस्थित फुपूको घरमा गएको अनुसन्धानबाट खुलेको छ । त्यहाँ पनि आफ्नो मोटरसाइकल, जुत्ता,कपडामा लागेको रगत पुनः धोई पखाली भरतको लागि खरिद गरेको जुत्ता लगाई हिँडेको पाइएको प्रहरीले बतायो ।

गंगाधरले आफ्नो मोटरसाइकल लिएर हिंड्दा पक्राउ परिने डरले भरतपुर–१०, बालमन्दिर रोडस्थित हुण्डाई कार शोेरुमको गेटबाहिर छोडेका थिए । त्यसपछि काकाको छोराको बाइक लिई हिँडेकोमा त्यहि दिन दिउँसो उनलाई चनौलीबाट प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताएका छन् ।

घटनास्थलबाट प्रहरीले एकथान गोलीको खोका,बीसहजारी ताल गेट नजिकबाट एकथान एसएमजी हतियार, गंगाधरको दिदीको घर सौराहाचोक टाँडीबाट सात राउण्ड गोली,उनको परिवारका सदस्यहरुबाट आठलाख नगद, भाइ पर्नेबाट घटनामा प्रयोग भएको मोटरसाइकल,दिदीको घरबाट घटनामा प्रयोग भएको झोला,घटनाको समयमा उनले लगाएको एकजोर जुत्ता,माथि लगाउने एकथान कम्ब्याट चुस्ता बरामद गरेको छ ।

मुलुकी अपराध संहिता २०७४, परिच्छेद–१२ ज्यानसम्बन्धी कसुर अन्तर्गत दफा १७७ अनुसार गंगाधरलाई जन्मकैद हुन सक्ने देखिएको एसपी अधिकारी बताउँछन् ।

– अजय गोर्खाली, चितवन

टिप्पणीहरू