हुन्छ–हुन्छ भन्दै हिस्स

पहिला मन्त्री बनाउन ठिक्क पारिएकी महिला सांसद दुई जिउकी भइन् भनेर थन्किइन्, अहिलेचाहिँ नाम आउला–आउला भन्दाभन्दै अर्की महिला सांसद हिस्स परेकी छन् ।

एकसिटे प्रेमबहादुर सिंह र कुमार खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने बाध्यतामा अर्की एकसिटे क मान्यको नाममा टिपेक्स लाग्न पुगेको हो । प्रमुख प्रतिपक्षी एमालेसहित माले, नेमकिपा, जनमोर्चा, परिवार दललगायत पार्टी संविधान संशोधनको विपक्षमा उभिरहँदा केही साना पार्टीका मान्यलाई दुबई भ्रमणमा जानु दुई दिनअगाडि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले अझै चार मन्त्रालय आफूमातहत रहेका कारण साना पार्टीलाई दुई मन्त्रालय दिने विषयमा आफू सकारात्मक रहेको मात्र बताएका थिएनन् । ती एकसिटे पार्टीका मान्यसँग उनले दुई जनाको नाम पनि मागेका थिए, फुलमन्त्री बनाइदिने भन्दै ।

त्यो बेला भनेका रहेछन्, ‘तपार्इंहरू साना ५ पार्टीले संविधान संशोधनको पक्षमा समर्थन गर्नुहोस्, दुई मन्त्रालय लैजानुहोस् ।’ प्रधानमन्त्रीले नै यस्तो आग्रह गरेपछि अखण्ड पार्टीका कुमार खड्का, खम्बुवान पार्टीका आरके खम्बू, जनजागरण पार्टीका लोकमणि ढकाल, स्वतन्त्र सांसद चन्द्रेश्वर झा र दलित जनजाति पार्टी नेपालको मोर्चा बन्यो । यो पुस पहिलो साताको कुरा हो । प्रधानमन्त्री प्रचण्ड दुबई भ्रमणमा जानुअघि ठीक दुई दिनपहिले बिहान साढे १० बजे प्रधानमन्त्री कार्यालयमा यिनै ५ सांसद पुगे र २ फुलसहित एक राज्यमन्त्री माग गरे । जवाफमा प्रचण्डले टाउको हल्लाए । र, दुबईबाट फर्किएपछि साना दलबाट दुई जनालाई मन्त्री बनाउने वचन पनि दिए । सोहीअनुसार उनले नाम मागे ।

५ दलको मोर्चाले कुमार खड्का र यशोदा लामाको नाम दिए । प्रचण्ड दुबईबाट फर्किएर अस्ति ५ गते मन्त्रिपरिषद् विस्तार त गरे तर त्यहाँ पूर्वसहमतिबमोजिम यशोदाको नाम थिएन । बरु त्यो ठाउँमा कालिकोटेमन्त्री प्रेमबहादुर सिंहले बाजी मारे । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय कुमार खड्काको पोल्टामा प¥यो भने प्रेमबहादुर सिंहले पुरानै खानेपानी मन्त्रालय पाए । यशोदालाई अझै पनि राज्यमन्त्रीको आश देखाइँदै छ, तर उनले आश मारिसकेकी छन् । बरु यो बीचमा लोकमणि र आरके खम्बूहरूले हामी नै राज्यमन्त्री बन्ने हो भन्दै हिँड्न थालेका छन् ।

समावेशिताको चर्काे कुरा गर्ने प्रधानमन्त्री प्रचण्डको ४२ सदस्यीय मन्त्रिमण्डलमा जम्मा एक जना मात्र महिला फुलमन्त्री छिन् । समावेशीको चर्काे कुरा गर्दै हिँड्न प्रचण्ड कमरेडलाई अलिकति त लाज पनि लाग्नुपर्ने हो । यशोदाका लागि मन्त्री बन्ने अवसर गुमाएको यो पहिलोपटक होइन । केपी ओली प्रधानमन्त्री बन्नुपूर्व उनले एमालेको पक्षमा मतदान गर्ने बचन दिइसकेकी थिइन् । तर, एमालेसँग उनको यस्तो सल्लाह हुनेबित्तिकै कांग्रेसले केही लाख रुपैयाँ पेश्की र बाँकी रकम पछि दिने भनेपछि मोबाइल स्वीच अफ गरेर बेपत्ता भइन् । फलतः त्यो मौकाको फाइदा विश्वेन्द्र पासवानले उठाए ।

टिप्पणीहरू