सुनबुढा र गर्भवती युवतीका ताँती « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

सुनबुढा र गर्भवती युवतीका ताँती

प्रकाशित मिति :  २९ पुष २०७३, शुक्रबार ०७:५०


  • महेश्वर श्रेष्ठ

पञ्चायत जन्मेको महिना परेकाले हो कि पञ्चायतकालमा घटेका अनेक अनौठा र घतलाग्दा रमाइला कुराले गर्दा हो, पुस महिना लाग्यो कि पञ्च, पञ्चायत र तिनका पञ्चरंगी क्रियाकलापलाई असाध्यै सम्झने गर्छु ।

पञ्चायत व्यवस्थाको प्रादुर्भाव भएको केही वर्षपछि अर्थात् विक्रम संवत्को तेस्रो दशकको आधाउधीसम्म गाँजा–चरेस, भाङ धतुरो खेती, सेवन र व्यापार खुल्लमखुला हुन्थ्यो । राजधानी काठमाडौंमा त यस्ता सामग्री बेचिने होटल–रेस्टुराँ छ्यासछ्यास्ती थिए । युवा यिनै पदार्थ सेवनमा मस्त, व्यस्त हुने गर्थे । लागुपदार्थ हो, महँगो त पर्ने नै भयो । पैसाको निकै जरुरत हुन्थ्यो । यसका लागि ऐतिहासिक एवं पुरातात्विक महत्वका दस्तावेज, देवदेवीका मूर्ति तथा कलात्मक टुँडालसमेत रातारात चोरेर निकासी गर्ने व्यवसाय ह्वात्तै बढेको थियो । यो काममा दरबारदेखि भन्सारसम्म र ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय’ सबै स्तरका गिरोह सक्रिय थिए भने युवा त्यस्ता भाडामा लगाइएका थिए ।

सामान्य मानिसभन्दा अग्ला र क्रेनले उचाल्नुपर्ने भारी ढलोट एवं ढुंगाका मूर्तिसमेत चोरेर विदेश पठाउनु चानचुने कुरा थिएन । एकदमै होसियारीपूर्वक गर्नुपर्ने भएकाले यस कार्यमा शासककै प्रत्यक्ष संलग्नता र निगरानीको जरुरत पथ्र्यो । युवालाई भने लागुपदार्थ ओसारपसार गर्ने हल्का खालको काममा लगाउने गरिन्थ्यो । त्यसबेला भारतमा व्यापारिक संरक्षणवाद निकै कडाइसाथ लागू थियो । सुन आयात पनि चपेटामा परेकाले त्यसको उच्च मागलाई थोरै मात्रामा भए पनि पूरा गर्न चोरी–पैठारी हुने गथ्र्याे । त्यसैले नेपालबाट लागुपदार्थ चोरी–निकासी गर्ने तस्करले त्यसबाट आएको पैसा नगदै ल्याउनुभन्दा सुन किन्ने र भारतमा चोरी–निकासी गर्ने लहरै चलेको थियो । यसबाट उनीहरूलाई दोहोरो फाइदा पनि हुने गथ्र्याे ।
कुरा ०३३ सालको हो । बैंककबाट उडेको एउटा हवाईजहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । डेढ सय यात्रुमा ५० जना त नेपाली नै थिए । उनीहरूमा पनि आधाजति महिला । विदेश भ्रमणबाट स्वदेश घर आउँदा मानिस खुशी र प्रसन्न हुनुपर्ने हो । तर, किन हो कुन्नि ती युवती साह्रै थकित र बिरामीजस्ता देखिन्थे । जहाजबाट प्रसव हुन लागेका जस्तै भ¥याङमा अड्की–अड्की ओर्लिरहेका थिए । टर्मिनल बिल्डिङतर्फ आउँदा पनि पाइला एक फुटको दरले मात्र अघि बढेको प्रतित हुन्थ्यो । अध्यागमनको औपचारिकता सकाएपछि भन्सार क्षेत्रमा आइपुग्दा पालो पर्खने क्रममा बस्ने मेच हँुदाहुँदै उभिरहेका थिए ।

इन्टरपोलले खबर गरेकाले हो कि कोही सुराकीले पत्ता लगाएर हो, केही छिनपछि भन्सारका केही कर्मचारी र प्रहरी आएर उनीहरूलाई नजिकै रहेको शौचालयमा लगे । त्यहाँ ती युवतीको शरीरबाट जे चिज निस्कियो, त्यो देखेर सबैले जिब्रो टोक्नुपर्ने अवस्था सिर्जना भयो । करिब डेढ किलो वजनको असली सुनको लाप्सोलाई लिंगको आकारमा ढालेर योनीमा फिट गरी त्यसको मुखलाई कार्टुन टेपले टालेर ल्याइएको रहेछ । त्यसैले उनीहरू लाज, डर र शारीरिक कष्टका कारण असक्त, बिरामी र त्रसित देखिएका !

हाम्रो समाजमा कसले कसरी पैसा कमाए भन्नेसँग मतलव राखिँदैन, को कति धनी छ भनेर उसको सामाजिक प्रतिष्ठाको मापन गरिन्छ । त्यसैले अधिकांश नेपाली जसरी भए पनि धन कमाउने र त्यसबाट सामाजिक इज्जत हासिल गर्ने धन्धामा लागेका छन् । त्यसबेला शासकहरूकै संरक्षणमा हुँदै गरेको लागुपदार्थ तथा ऐतिहासिक एवं पुरातात्विक महत्वका वस्तुको विदेश तस्करी र उताबाट सुनको चोरी–पैठारीमार्पmत चाँडै धनी र प्रतिष्ठित बन्ने सपनामा समाजको एउटा ठूलै तप्का आकर्षित भएको थियो । यसै क्रममा सुन चोरी–पैठारीकै एउटा रमाइलो घटना यस्तो पनि घटेको थियो ः

०३३÷३४ सालतिरकै एक दिन । दौरा–सुरुवाल, अलि झोलिएको कोट र ढाकाटोपी लगाएको एक जना वयस्क मानिस बैंककबाट खुट्टा लर्खराउँदै र दायाँ–बायाँ हेर्दै ओर्लियो । नेपालीले सित्तै पाए ३ पाथी चुक पनि तनतनी पिउँछन् भनिन्छ । सुन्दरी थाई परिचारिकाको मधुर मुस्कानसहित जति पनि थपेर खान पाइने बियर र ह्विस्की खाएर ती बूढाले पनि नाम र जात थामेको होला भन्ठानेको, कुरा त अर्कै रहेछ । टर्मिनल भवननजिक आइपुग्दा बिचरा बुढा घुप्लुक्क लडी हाले ।

सहयात्री र प्रहरीको सहयोगले टर्मिनल भवनको आँगनमा ल्याइएका ती वरिष्ठ नागरिकको चेत फर्काउन कोट, इष्टकोटजस्ता बाहिरी लुगा फुकाल्न खोज्दा वस्त्रबाट जस्तो कुरा पोखियो, त्यसलाई देखेर सबैले जिब्रो टोक्न थाले । तिनको लुगामा भएका सबै सक्कली नक्कली खल्तीमा किलोका किलो सुनका लाप्सा थिए र उनी रक्सीको नशा र सुनको भारी थाम्न नसकेर भुइँमा लडेका थिए । एक छिनपछि एक जना प्रहरी अधिकृत आएर उनलाई स्यालुट ठोकी विशिष्ट कक्षमा पु¥याए । ती अरूजस्तो सामान्य बूढा नभएर तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा थिए । त्यति धेरै सुन बोक्ने बूढा भएकाले पछि सुनबुढाको नामले प्रख्यात भए ।

विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको विकास नभइसकेको र गोरखापत्र मात्र पढ्न पाइने जमानामा यो कथाको प्रचार–प्रसार नेपालकै पनि सीमित शहरमा मात्र सम्भव भयो । अहिलेजस्तो भइदिएको भए यस कथाको सुकीर्ति संसारभर र अन्तरीक्षमा समेत फैलिने थियो ।


प्रतिक्रिया दिनुहोस !