दरबार छाड्दा यस्ता थिए ज्ञानेन्द्रका दुखेसा « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

दरबार छाड्दा यस्ता थिए ज्ञानेन्द्रका दुखेसा

प्रकाशित मिति :  १५ पुष २०७३, शुक्रबार ०७:२७


पूर्वराजा ज्ञानेन्द्र शाहले पुस ७ मा विज्ञप्ति सार्वजनिक गरेपछि नेपाली राजनीतिको एउटा चित्र हेरौँ– भोलिपल्टैको मन्त्रिपरिषद् बैठकमा दरबार हत्याकाण्डबारे छानबिन गर्ने भनेर गृहमन्त्रीले प्रस्ताव लगे । त्यसमा माओवादीले तालि बजाउने नै भए । तर, दरबार हत्याकाण्ड, ज्ञानेन्द्रको बहिगर्मनदेखि ८ गतेको मन्त्रिपरिषद् बैठकसम्मैका घटनाक्रम हेरौँ– इतिहासका ती प्रत्येक कालखण्डको साक्षी नेपाली कांग्रेस नै हो । कांग्रेसका ती साक्षी अहिले जीवितमात्र हैन, राजनीतिको केन्द्रभागमा निर्णायक भूमिकामै छन् । तीमध्ये ज्ञानेन्द्रको एक किसिमले मुख्य बहिगर्मनकर्ता र तत्कालीन गृहमन्त्री कृष्ण सिटौला हिजो बिहान खाना खाँदै जनआस्थासँग भन्दै थिए, ‘यी बेकारका कुरा हुन् (छानबिनका) । त्यो कुरामा दिमाग लगाउनु जरुरी नै छैन । हिजोको घटनाका तीता–पीरा होलान्, ती खोतल्ने समय आज होइन ।’

संयोग पनि कस्तो भने, जतिबेला दरबार हत्याकाण्ड भइरहेको थियो (०५८ सालमा) त्यसबेला एकमना सरकार थियो, नेपाली कांग्रेसको । गृहमन्त्री थिए, रामचन्द्र पौडेल । हत्याकाण्डबारे सरकारी छानवीन टोलीको प्रतिवेदन सदर गर्ने नै उनै । उनी आज नेपाली कांग्रेसको सभापतिजत्तिकै हैसियतका नेता हुन् । सिटौला ०६३ मा गठित सरकारका गृहमन्त्री, ज्ञानेन्द्रका लागि नागार्जुन दरबार दिने, त्यसको मर्मत–सम्भारदेखि उनलाई हटाउने निर्णयबारे प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दूतका रुपमा भेट्न र पूर्वराजाका कुरा सुनेर माग पूरा गर्न अह्राइएका व्यक्ति । र, उही पार्टीका उस्तै चल्तापुर्जा नेता विमलेन्द्र निधि आजका गृहमन्त्री । जसले ज्ञानेन्द्रले आपराधिक कार्यबाट समाज प्रताडित भएको, बाह्य हस्तक्षेप बढेको, परिवर्तनका नाममा राष्ट्रलाई कमजोर पार्न खोजिएको, निषेधको राजनीतिले राष्ट्र कमजोर भएकोजस्ता प्रसंग उल्लेख गर्दै विज्ञप्ति सार्वजनिक गरेलगत्तै आफ्नै नेताले गृहमन्त्री हुँदा सदर गरेको सरकारी प्रतिवेदनलाई पनि चुनौती दिँदै छानबिनको प्रस्ताव मन्त्रिपरिषद् लगेका छन् ।

जानुअघि

१५ जेठ ०६५ मा संविधानसभाले राजतन्त्र विधिवत अन्त्यको घोषणा गरेपछि सरकारले तत्कालीन राजा र उनको परिवारको बासस्थानका रूपमा नागार्जुनको जंगल र त्यहाँ रहेको गृष्मकालीन दरबार दिने भयो । उनी त्यहाँ सर्नुअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्ण सिटौलालाई भेट्न पठाए ।

सिटौलाले भने, ‘दुनियाँमा राजतन्त्र ढल्दा दुःखद् घटना भएका छन् । इरानको राजतन्त्र २५ सय वर्षभन्दा लामो हो । हाम्रो त अढाई सय वर्ष न हो † राजतन्त्र ढलेपछि विदेश पलायन भएका त्यहाँका अन्तिम राजा मोहम्मद रेजा शाह पहेल्वीको लाश स्वदेश लैजान दिइएन । जबकि मुस्लिम संस्कारअनुसार आफ्नै भूमिमा शव दहन हुनुपर्छ । तर, नेपालमा त्यस्तो होइन । शान्तिपूर्ण जनआन्दोलनका बलमा प्रतिनिधिसभा पुनस्र्थापित भयो । त्यसले गठन गरेको सरकारले संविधानसभा निर्वाचन गरायो । संविधानसभाको पहिलो बैठकले राजतन्त्र समाप्त भएको निर्णय ग¥यो । यहाँ त्यही निर्णयअनुसार नै यो नारायणहिटी राजदरबारभन्दा बाहिर जाँदै हुनुहुन्छ । यसरी जाँदा केही समस्या छन् कि ? भए भन्नुस्, हामी समाधान गर्छौं । मलाई गिरिजाबाबुले यही प्रयोजनका लागि यहाँ पठाउनुभएको हो ।’

सिटौलाका कुरा सुनेपछि ज्ञानेन्द्रले ‘म तपाईंसँग एक्लै कुरा गर्न चाहन्छु’ भने । त्यहाँ मुख्यसचिव, गृहसचिव, निजामती सेवामा ल्याइएका दरबारका सचिवहरू थिए । उनीहरु बाहिर निकालिए । त्यसपछि ५५ मीनेट कुराकानी भयो । सिटौलाले गिरिजाको सन्देश सुनाए, ‘तपाईंको पालामा आएर शान्तिपूर्ण तवरले राजतन्त्रको अन्त्य भएको छ । त्यसैले हामी तपाईंलाई सम्मानपूर्वक बिदा गर्छौं । तपाईं देशको अन्तिम राष्ट्राध्यक्ष हो । यही हैसियतमा राज्यको तर्फबाट गर्नुपर्ने, हेर्नुपर्ने कुरा के छ ? तपाईंलाई सम्मानजनक रुपमा राख्ने सोचाइ, तयारी त हाम्रो पनि छ । तर, आफ्ना केही अलग्गै कुरा छन् कि ? म गिरिजाबाबुको दूत भएर आएको हुँ । उहाँको पालामा मात्र हैन, उहाँका दाजुहरु, उहाँका बाबु, बाजेका पालादेखि राजासँगै मिलेर काम गर्दै आएको इतिहास छ । अहिले त्यो राजतन्त्र हट्ने परिस्थिति बन्यो । तर, यो अवस्थामा पनि सम्मानजनक रुपमै सरकार तपाईंहरुसँग व्यवहार गर्न चाहन्छ, गिरिजाबाबु चाहनुहुन्छ ।’

यसपछि बल्ल ज्ञानेन्द्र बोल्न थाले, एकदमै भावुक मुद्रामा । उनको मुख्य जोड थियो, राजमुकुट, राजदण्डजस्ता कुरामा । ‘म पनि परिस्थितिबस राजा भएको हुँ । रोयल म्यासाकर (दरबार हत्याकाण्ड) पछि मैले मेरो बंशपरम्परा धान्नुपर्ने बाध्यता आयो, राजा भएँ । आज संविधानसभाले हाम्रो बंशपरम्पराको अन्त्य गरेको छ । त्यो निर्णय मान्छु । हाम्रो बंशले उहिल्यैदेखि पहिरिँदै आएको राजमुकुट, राजदण्ड हामीसँगै भए हाम्रा सन्तानले त्यसलाई सुरक्षित राख्ने थिए । बंशको चिनो पनि हो ।’ ज्ञानेन्द्रको जिकिर थियो, ‘राणाहरुले ००७ सालमा शासन ढलेपछि राजमुकुट लिएर गए । हामीले पनि पाउँछौँ होला नि !’

सिटौलाले भने, ‘हैन, त्यो राष्ट्रको सम्पत्तिका रुपमा संग्रहालयमा सुरक्षित हुन्छ । राणाहरुले लगे, बेचे कि खाए ? थाहा छैन । तर, अब त हिजोको राजसंस्थाका सबै चिज यहाँहरुको निजी विषय रहँदैनन्, सिंगो देशको इतिहासको विषय रहन्छ । राजमुकुट लगेर यहाँहरुले आफ्नो खोपीमा राख्नु र त्यो राजमुकुट हेर्न चाहने देश–विदेशका मान्छेलाई देखाउनुमा देखाउनुले जित्छ ।’

सिटौलाले यति भनेपछि ज्ञानेन्द्रले कुनै प्रतिवाद गरेनन् । अनि, सुरक्षाको कुरा सोधे । पूर्वराष्ट्राध्यक्षका हैसियतले जे पाउनुपर्ने हो, त्यही दिने सिटौलाले कुरा राखे । तर, सेनाको सुरक्षा हटाउने बताए । ज्ञानेन्द्रले सेनाबाहेक अरु सुरक्षा निकायले सट रेञ्जको तालिम नलिएको हुँदा तालिमप्राप्त सुरक्षाकर्मीको व्यवस्था गरिदिन अनुरोध गरे । त्यसपछि सिटौलाले सशस्त्र प्रहरीले तालिमप्राप्त सुरक्षाकर्मी तयार नपारुञ्जेलका लागि सेनाकै सुरक्षा दिने र सशस्त्रले त्यस्तो व्यवस्था गरेपछि स्वतः सेना विस्थापित हुने कुरा सुनाए ।

यसपछि ज्ञानेन्द्रको अर्को आग्रह थियो, मुमाबडामहारानीबारे । भने, ‘हाम्रो मुमा र सरला मुमालाई यहीँ (नारायणहिटी) राख्ने व्यवस्था मिलाइदिनुप¥यो ।’ सिटौलाले भने, ‘कुरा ठीकै हो । वृद्धावस्थामा उहाँहरूलाई कति ठाउँ कुदाउने ? यहाँहरुको मुमा हामी सबैको मुमा हो । ठीकै छ, क्याबिनेटबाट पास गराउनुपर्छ । मैँ प्रस्ताव लैजाउँला ।’ अनि, ज्ञानेन्द्रले भने, ‘मुमालाई भेट्न आइरहनुपर्छ । कुनै बाधा हुन्छ कि ?’ सिटौलाले भने, ‘गिरिजाबाबुले पनि भनिसक्नुभएको छ कि, यहाँलाई सम्मानित नागरिकको दर्जा, त्यस्तै व्यवहार गरिनेछ । सुरक्षा दिइनेछ । आवतजावतमा कुनै बाधा–अवरोध हुन दिइने छैन । भएमा त्यसलाई पन्छाउने, सजिलो बनाउने काम पनि सरकारले नै गर्नेछ । त्यसमाथि छोरालाई आमासँग भेट्न दिने नैसर्गिक अधिकारबाट वञ्चित गर्ने कुरा त झन् सोच्नै सकिँदैन । यहाँहरुलाई नारायणहिटी छिर्नमा कुनै बाधा हुनेछैन ।’

अन्तिममा ज्ञानेन्द्रले सोधे, ‘अहिले (तोकिएको दिनभित्र) म कहाँ जाऔँ ?’ सिटौलाले भने, अहिलेलाई निर्मल निवास जानुस् । राणाकालीन दरबारसमेत राष्ट्रियकरण भइसकेका छन् । नागार्जुनमा बस्नका लागि सबै व्यवस्था सरकारले गर्ने भनिसकेको छ । त्यसबाहेक यहाँले रोजेका कुनै ठाउँ, कुनै घर, दरबार केही भए भन्नुहोला, म कुरा लैजान्छु र यहाँको चाहना पूरा गर्न हरसम्भव प्रयत्न गर्छु ।’ ज्ञानेन्द्रले भने, ‘ठीक छ । मलाई तपाईंको प्रस्तुति राम्रो लाग्यो ।’ ५५ मीनेट कुरा गरेपछि सिटौलाले ‘अहिले म जाऔँ त ?’ भन्दै नमस्कार गरे । ज्ञानेन्द्रले अर्ध हाँसोमा, बसेको ठाउँबाट उठेर भने, ‘हुन्छ–हुन्छ †’


प्रतिक्रिया दिनुहोस !