के भन्छन् भित्रभित्रै यी कमरेड !

शनिबार माओवादी हेडक्वार्टरको बैठकमा प्रचण्डले भने, ‘बुटवलका जनताले ५ नम्बरबाट छुट्टिन्नौं भनी माग राख्नु स्वाभाविकै हो तर त्योभन्दा ठूलोचाहिँ एमालेको खेल हो । नयाँ कदम (संविधान संशोधन) का कारण त्यो क्षेत्रमा हाम्रो स्थिति खस्किएको छ । तर, यसलाई राष्ट्रिय आवश्यकता पूरा गर्दा पर्न गएको क्षति हो भनेर बुझ्नुपर्छ ।’

उनले अगाडि थपे, ‘मधेसी मोर्चाले प्रस्तावको समर्थन गर्छ भने गरोस् नत्र चुनावमा जाने हो । यो प्रस्ताव फिर्ता हुँदैन । मध्यमार्गी बाटो यही हो । अरु विकल्प छैन । झापा–सुनसरीलाई २ नम्बरमा मिसाउन सकिन्न । कैलाली टुक््रयाउन मिल्दैन । मधेसीले यही माग दोहो¥याएमा केही हुनेवाला छैन । कांग्रेस स्पष्ट छ, एमालेको पनि लाइन यही हो । चुनावले नै संशोधनको बाटो खोल्छ ।’

उनले थप स्पष्ट पारे, ‘मधेसीहरुले पहिले दर्ता गर्नु, पछि त्यसलाई समर्थन गर्छौं भनेकै हुन् । अहिले किन टोन फेरे त्यो थाहा भएन ।’ माओवादीभित्रैको असन्तुष्टिबारे उनको भनाइ थियो, ‘टोपबहादुरजीले पहिलेदेखि नै भन्दै आएको कुरा दोहो¥याएका हुन् । त्यसमा कुनै आश्चर्य मान्नुपर्ने छैन । बरु उपेन्द्रले मसँग किन यसरी कडिकडाउ कुरा गर्दैछन् भन्नेचाहिँ अचम्मको विषय हो । एमालेले त चुनाव हेरेको हो । उसको नक्कली राष्ट्रवाद पोखिएको हो । उसले पार्टी जोगाउन खोजेको छ, हामीले देश बचाउन चाहेका हौं ।’ उनले आफैंलाई आश्वस्त पार्दै थपे, ‘आज मधेसी नेताहरुलाई राजदूतले बोलाएका छन् भन्ने सुनेको छु । हेरौं के भन्दै आउँछन् ।’

‘प्युठान र रोल्पालाई सुर्खेत केन्द्र भन्ने भ्रम छ । बाँकीलाई पोखरा केन्द्र भन्ने लागेको छ । हामीले पहिले १० वटा प्रदेशको खाका ल्याएर पाल्पालाई मगराँतको केन्द्र बनाउने भनिसकेको हुँदा र कार्यकर्ताले यस्तै मनस्थिति बनाइसकेको हुँदा यदि पोखरा नै केन्द्र भए पनि समस्या आउँदैन’ वर्षमान पुनको दाबी थियो । शक्ति बस्नेतचाहिँ ‘यो संशोधन प्रस्ताव फिर्ता गर्दा ठीक नहोला बरु स्थगित गरेर चुनावको निम्ति छलफलमा जाऊँ, त्यसो गर्दा हाउस खुल्छ, वातावरण पनि सहज हुन्छ र एउटा निश्कर्षमा पुग्न सकिन्छ’ भन्दै थिए ।

बैठक चलिरहेका बेला माओवादीले एमालेलाई समेत सोध्यो, ‘चुनाव गराउने गरी संविधान संशोधनलाई प्याकेजमा सहमति गर्दा के हुन्छ ?’ एमालेले सकारात्मक जवाफ नदिएपछि एमाओवादीको विश्लेषण थियो, ‘उसलाई बीचका आठवटा जिल्लामा मात्र धुकचुक हो । मधेसका अरु जिल्लालाई लपेट्न सकिन्छ भन्ने विश्वास छ ।’

टिप्पणीहरू