हाँगो ताछेर के हुन्छ र हजुर !

  • डा. नम्रता पाण्डे

प्रेमको अभाव, पारिवारिक तनाव, पुरातनवादी सोच, आफ्नो कब्जामा राख्न खोज्नु, आफ्नोअनुकूल बनाउन खोज्नु, एकअर्काको मनोवैज्ञानिक स्वभावको कदर नगर्नु, रूखो बोली, हेपाह प्रवृत्ति, घृणा आदि सबै हिंसाका स्वरूप हुन् । यस्ता स्वभावको प्रयोग गरी महिलाले पुरुष या पुरुषले महिलाप्रति गरिने व्यवहार नै हिंसा हो । संयुक्त राष्ट्रसंघले नै पारित गरेको १९९३को घोषणापत्रमा महिला भएकै कारणले गरिने सबैखाले हिंस्रक व्यवहार महिला हिंसाका रूप हुन्, त्यसैले यसको अन्त्य हुनुपर्छ भनेर व्याख्या गरेको पाइन्छ । महिलाको आत्मसम्मानमा चोट पु¥याउने र अस्तित्वमा आँच आउने व्यवहार, शारीरिक, मानसिक, सामाजिक, यौनिक वा अन्य कुनै प्रकारले हानि–नोक्सानी पु¥याउने र डर, धम्की, त्रास देखाएर आफ्नो सन्तुष्टि पूर्ति गराउने सबैखाले प्रवृत्ति महिलामाथि हुने हिंसा हो जुन समाजमा बढ्दै गएको छ भनेर आवाज उठ्ने गर्छ । समाजमा यस्ता घटना बढ्दै गइरहेका छन् । महिला अधिकारकर्मी यसको निर्मूलका लागि कटिबद्ध भइरहेको पाइन्छ र पनि अपेक्षित परिणाम आउन सकेको छैन । किन त ? किनकि जरामा रोग लागेको छ तर हाँगाको उपचार भइरहेको छ ।

मानिसले मानिसमाथि गर्ने अपराध पुरुष होस् या महिला दुबैलाई मान्य व्यवहार होइन । जीवन जिउन आवश्यक आहार, आचार (संस्कार, व्यवहार) र विचारप्रति कहिल्यै ध्यान दिइएको छ कि छैन ? हामी जस्तो आहार गर्छौं त्यस्तै संस्कार जन्मन्छ र जस्तो संस्कारमा हुर्किन्छौँ त्यस्तै विचारले स्थान पाएको हुन्छ । सही र गुणस्तरीय अनि शरीरलाई फाइदा पुग्ने सात्विक खानाले हाम्रो विचार पनि शान्त बनाउँछ । शान्त विचार र शुद्ध भोजन गर्ने घरका परिवारको संस्कार शिष्ट र प्रेमपूर्ण हुन्छ । प्रेमपूर्ण व्यक्तिले हिंसा गर्नै सक्दैन । हिंसा पु¥याउने व्यक्ति कुनै परिवारको सदस्य हुन्छ । ऊ किन हिंसामा उत्रिन्छ त्यसको कारण खोजिएको छ कि छैन ? मानिस विक्षिप्त भएपछि र होस् गुमेपछि हिंसामा उत्रिन्छ । उसलाई सचेत र प्रेमिल बनाउन घरदेखि नै शिक्षा, संस्कार र व्यवहारको खाँचो हुन्छ । तब मात्र यस वर्षको राष्ट्रिय नाराले सार्थकता पाउनेछ ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज’ ।

झण्डा बोकेर, सडकमा उत्रेर र महिलालाई पुरुषसरह अधिकार चाहियो भनेर अधिकार कसैले प्रदान गर्ने होइन । मातृत्वको अधिकार कसले खोस्न सक्छ ? माधुर्यता र सहनशीलता कसले डगमगाउन सक्छ ? महिलाको विराट हृदय र प्रेमको खानी, महिलाको आन्तरिक शक्ति र समर्पणको गुण कसले लुट्न सक्छ ? कोसँग माग्ने महिलाले यी महत्वपूर्ण गुण ? महिलालाई प्रकृतिले नै दिएको छ त सबै अधिकार । त्यसको अगाडि सामाजिक न्याय, समानता र मानव अधिकारका भाषणले केही गर्न सक्दैन ।

महिलाले आफ्ना गुण र स्वभाव पहिचान गर्न सक्ने र शिक्षा र अवसरबाट वञ्चित हुनु नपर्ने हो भने बाँकी तथाकथित अधिकारका विषय तुच्छ विषय हुन् । घरबाट शान्ति सुरु गर्न महिलाको मातृत्व र माधुर्यता नै काफी छ । जुन घरमा प्रेम छ, परिवारमा सुमधुर सम्बन्ध छ, विश्वास छ, संस्कार छ त्यो परिवारको सदस्य घरबाहिर गएर हिंसामा उत्रिनै सक्दैन । महिला–पुरुषबीच स्वाभाविक भिन्नता छ, प्रकृतिगत भिन्नता छ भन्ने कुरालाई किन बुझिँदैन ? जति–जति सभ्यताको विकास हुँदै आयो त्यति मानिसले प्राकृतिक कुरालाई पनि आफ्नो अनुसार परिभाषामा बदल्न थाल्यो । न्यायको दृष्टिमा स्वभावले समान स्थान पाउँदैन । रात र दिन, प्रेम र संघर्ष, सूर्य र चन्द्रजस्तै महिला र पुरुषको स्वभावगत भिन्नतामा समानता चाहियो भनेर माग गर्नुभन्दा अस्तित्वगत अलग पहिचान भनेर बुझ्दा सजिलो हुने थियो । सूर्य र चन्द्रको अस्तित्व ठूलो र सानो भनेर परिभाषा गर्न सकिँदैन, दुवैको अलग पहिचान छ, दुवैको महत्वपूर्ण स्थान छ । लैंगिक आधारमा समानता खोज्दा महिला पुरुषजस्तो भएको सुहाउँछ र ? महिलालाई प्रकृतिले दिएको गुण र पुरुषलाई दिएको महत्वाकांक्षी स्वभाव दुबैको महत्वपूर्ण स्थान र अलग पहिचान छ, जीवन जिउनका लागि । महिलाको माया गर्ने शैली, क्रोध, सहनशीलता एवं धैर्यलाई कसैसँग दाँज्न मिल्दैन ।

नेपाली महिलाले आफ्ना पखेटा हरेक क्षेत्रमा फैलाइरहेका छन् । आर्थिक, सामाजिक, व्यावसायिक, प्रशासनिक, बैंकर, कूटनीतिक आदि भूमिकामा आफूलाई दक्ष सावित गरेको कुरा पनि सर्वस्वीकार्य हुँदै गएको छ । महिला घरायसी एवं बाहिरी दुवै काममा समान रूपमा अघि बढिरहेका छन् । कुनै विशेष वर्ग र पहँुचवालालाई प्रतिनिधित्व गर्ने मात्र नभई समस्त नेपाली महिलालाई पिछडिएको वर्ग र समान शिक्षा, समान अवसर र चेतनामूलक सकारात्मक कार्यक्रम चाहियो भनेर पो आवाज उठाउने हो कि ? बर्सेनि आउने १६ दिने अभियान र नाराले समस्या समाधान हुने भए यसो गर्न १६ दिने अभियान मनाउन थालिएको २५ वर्ष भइसके पनि हिंसाका प्रवृत्ति किा परिवर्तित भएनन् ?

टिप्पणीहरू