तेस्रो गुरिल्ला म्याराथन हिमाल र हुमीको हातमा

तेस्रो गुरिल्ला म्याराथन हिमाल र हुमीको हातमा

रुकुम पूर्वको भूमे गाउँपालिकामा आयोजित तेस्रो गुरिल्ला म्याराथन हिजो साँझ सम्पन्न भएको छ । गुरिल्ला अल्ट्रा म्याराथनको पुरुषतर्फ भूमे गाउँपालिका–२ का हिमाल बुढा मगर प्रथम भएका छन् । उनी १ सय ७ जना प्रतियोगिलाई पछि पार्दै प्रथम भएका हुन् । ५२ किलोमिटर लामो म्याराथन हिमालले ५ घण्टा ५३ मिनेट २६ सेकेण्डमा पूरा गरेको आयोजक युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोकाले जानकारी दिएका छन् ।

प्रतियोगितामा भूमे गाउँपालिका कै करमान बुढा मगर दोस्रो भएका छन् । करमानले ६ घण्टा १९ मिनेट ३९ सेकेण्डमा उक्त दुरी पार गरेका हुन् । ६ घण्टा २२ मिनेट ४३ सेकेण्डमा दुरी पार गरेका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३, का अर्जुन बस्नेत तेस्रो र सानीभेरी गाउँपालिका–३ कै भुवन ओलीले सान्त्वना पुरस्कार पाएका छन् ।म्याराथनको महिलातर्फ प्युठानकी हुमी बुढा मगरले प्रथम स्थान हासिल गरेकी छिन् । हुमीले ८ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा ५२ किलोमिटरको दुरी पार गरेकी हुन् । भूमे गाउँपालिका–४ की रुजिना बुढा मगर दोस्रो र ३ नम्बर वडा दोमैकी निर्मला पुनले तेस्रो स्थान प्राप्त गरेकी छन् ।

रुजिनाले ८ घण्टा ३७ मिनेटमा ५२ किलोमिटर दुरी पार गरेकी हुन् भने निर्मलाले ८ घण्टा ४० मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी छन् । भूमे गाउँपालिका–६, की शान्ति रोका मगरले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । महिला र पुरुष दुबै तर्फका प्रथमले ७५, दोस्रोले ५०, तेस्रोले ३० र सान्त्वनाले १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दुबैतर्फ दशौं स्थानसम्म आएकालाई प्रमाण पत्र तथा मेडल दिइएको आयोजक संस्थाले जनाएको छ ।

भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भूमे युवा विकास केन्द्रले प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभएको छ । खेल क्षेत्रको विकास र युद्ध पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरेको युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोका मगरले जानकारी दिएका छन् ।

आयोजकका अनुसार महिलातर्फ २१ जनाले सहभागिता जनाएका थिए ।

टिप्पणीहरू