यता असर

संसारमा जहाँ जेसुकै होस्, त्यसको असर भने नेपालमा पर्ने नयाँ चलन सुरु भएको छ । हालै भारतले पाँच सय र हजारको भारु नोटमा प्रतिबन्ध लगायो । तर, त्यसको असर भने नेपालमा परिरहेको छ । भारुमा प्रतिबन्ध लागेर नेपालमा हाहाकार मच्चिएको छ । यस्तो हाहाकार तर नेरुमै प्रतिबन्ध लागे पनि मच्चिँदैन होला । भारुमा प्रतिबन्ध लागेर हामीलाई किन चासो ?

(पुनश्च: भारतमा भारु प्रतिबन्धित भए पनि नेपालमा नेरु प्रतिबन्धित भएको छैन । भारतमा पनि नेरुकै पाँच सय र हजारको नोट चलाउने हो कि ?)

उता, अमेरिकामा चुनाव भयो । जिते डोनाल्ड ट्रम्पले । ट्रम्प जित्दा त्यसको असर पनि नेपाललाई नै परिरहेको छ । उता, ट्रम्पले जितेर यता हाहाकार मच्चिरहेको छ । धेरै नेपाली भनिरहेका छन्, ट्रम्पले जितेर बर्बादै भयो । अमेरिकी चुनावमा जो जिते पनि हामीलाई किन चासो ? अर्को देशको चुनावमा यही जित्नुपर्छ भन्छौं भने त्यो त उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप पो हुने भयो ।

के हामीले अमेरिकाको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुन्छ ? हामी त असंलग्न नीतिका अभियन्ता । त्यसैले अमेरिकाको आन्तरिक मामिलामा हामीले हस्तक्षेप गर्न मिल्दैन । नेपालको चुनावमा प्रचण्डले जिते हामी बर्बाद भएनौं । खड्ग ओलीले जिते, बर्बाद भएन । देउवाले जिते, बर्बाद भएन । ट्रम्पले जितेर कसरी बर्बाद हुन्छ ?

टिप्पणीहरू