मन्त्री हो कि भरिया ?

मन्त्री हो कि भरिया ?

अक्सर मन्त्रिमण्डल गठन गर्दा प्रधानमन्त्रीलाई हुने समस्या भनेकै मन्त्रीको संख्या बढी हुनु हो । मन्त्रालय थोरै हुन्छ, मन्त्री बन्न इच्छुक मान्छेहरू धेरै हुन्छन् । अनि सरकार गठनमै समस्या हुन थाल्छ । यो गरौं कि त्यो गरौँ । स्थिति यस्तोसम्म आइदिने कि मन्त्रीहरूलाई भाग मिलाउन मन्त्रालय नै फोड्नुपर्ने ।

त्यो पहिले पहिलेको कुरो थियो । अहिले चाहिँ स्थिति यस्तो भइदिएको छ कि मन्त्रालय फालाफाल, मन्त्री हुनेचाहिँ मान्छ्यै छैनन् । एउटै मन्त्रीले पनि पाँच पाँच वटा मन्त्रालय बोक्नु पर्ने भइरहेको छ । मन्त्री हो कि भरिया हो ! पहिले बिना विभागीय मन्त्रीहरू समेत हुने गर्थे, अहिले विभागै विभागका मन्त्रीहरू छन् ।

प्रधानमन्त्री ओलीले पहिले पनि भन्दै आउनुभएको हो, उहाँ काम गर्न चाहनुहुन्छ तर पार्टीका साथीहरूले कामै गर्न दिएनन् । पहिले पार्टीका नेताहरूले मात्रै काम गर्न नदिने गर्थे, अहिले सर्वोच्च अदालतले समेत उहाँलाई काम गर्न नदिन थालेको छ ।

उदाहरण यही हो, उहाँले आफ्नो सरकारमा अब मन्त्रीहरू थप्न पाउनुहुन्न रे ! मन्त्री नै थप्न नपाएपछि काम कसरी हुन्छ ? काम गर्न नपाएपछि देशको विकास कसरी हुन्छ ?

साथीहरूले काम गर्न नदिएपछि उहाँले संसद भंग गर्नुभएको थियो । अहिले न्यायाधीशहरूले काम गर्न दिइरहेका छैनन् । अब सर्वोच्च अदालत पनि भंग गर्ने हो कि ?

टिप्पणीहरू