चिर्पटले हानेर हत्या गर्ने नाबालकसहित ३ जना पक्राउ

चिर्पटले हानेर हत्या गर्ने नाबालकसहित ३ जना पक्राउ

आपसी विवादमा युवाहरुबीच झगडा पर्दा प्युठानमा एक युवाले ज्यान गुमाएका छन् । प्युठान नगरपालिका–१०, कोटका २४ वर्षीय नगेन्द्र पुनलाई स्थानीय तीन जना युवाले दाउराको चिर्पटले हानेर हत्या गरेका थिए ।

आक्रमणमा परी गम्भीर घाइते भएका २५ वर्षीय सुरेश वस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यलय प्युठानले हत्या आरोपमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेहरुमा मल्लरानी गाउँपालिका–३, धनुबाँसका १८ वर्षका रेमबहादुर घर्तीसहित प्युठान नगरपालिका–१०, नेपानेका १७ र १५ वर्षका दुई बालक समेत रहेका छन् ।

असार १३ गते मृतक ‘हेमन्त’ भन्ने नरेन्द्र पुनसहित घाइते सुरेशको आफ्नी दिदीको गोठ बनाउने कामबाट घर फर्किने क्रममा नेपाने गाउँका युवाहरुसँग विवाद भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु स्थानीय ढेब्रि पसलमा मादक पदार्थ सेवन गरी घरतर्फ जाँदै गर्दा अभियुक्तहरुलाई अश्लिल शब्दले गाली गलौज गरेको भन्दै तीन जना युवाले बाटो कुरेर मृतक नरेन्द्र र सुरेसलाई चिर्पटले हानेको प्रहरीले बताएको छ ।

राती साढे ९ बजे भएको उक्त घटनापछि अभियुक्तहरु त्यहाँबाट आ–आफ्नो घरमा गई सुतेका थिए । घटनामा संलग्न रेमबहादुर भने अभियुक्तमध्ये एक बालकको घरमा गई सुतेका थिए । असार १४ गते स्थानीयहरुले नगेन्द्र र सुरेशलाई बाटोमा लडिरहेको अवस्थामा भेट्टाएका थिए । त्यस बेलासम्म नगेन्द्रको ज्यान गइसकेको थियो भने गम्भीर घाइते सुरेशलाई जिल्ला अस्पताल बिजुबजार पठाइए पनि अस्पतालले थप उपचारका लागि रुपन्देहीको मेडिकल कलेजमा रिफर गरेको हो ।

टिप्पणीहरू