मुखर्जी आउँदा किन भोकै सुते माधव ?

गत हप्ता भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएको बेला एमाले वरिष्ठ नेता माधव नेपालको रात भोकै बित्यो । नेपाल–भारत सम्बन्धसम्बन्धी कार्यक्रम सकेपछि ¥याडिसनमा आयोजित रात्रिभोज छाडेर होटल द्वारिकाजमा प्रधानमन्त्री प्रचण्डले दिएको रात्रिभोजमा सहभागी हुन भोकै त्यहाँ पुगेका थिए । त्यहाँ मिलाइएको बसाइमा आफू अपमानित भएको महसुस भएपछि उनी फुत्त निस्किएर हिँडे । घर पुग्दा रातको ११ बजिसकेको थियो भने परिवारका सबै सुतिसकेको कारण चुपचाप ओछ्यानमा घुस्रिन बाध्य हुनुपरेको हो ।

रात्रिभोजका लागि सजाइएको मुख्य टेबलमा पाहुना, प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा थिए । अर्को टेबलमा बाबुराम भट्टराईलाई दुई देशका परराष्ट्र सचिवको बीचमा ठाउँ राखिएको थियो । त्यसभन्दा अलि परको टेबलमा झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र खिलराज रेग्मी बसेका देखिन्थे । यदि पूर्वप्रम हो भने सबैको हैसियत एउटै हुनुपर्ने तर कोही नजिक, कसैलाई टाढा राखेको भन्दै माधवको कन्सिरीका रौं ताते । उनी साढे ९ बजे अरुसँगै निम्तो मान्न द्वारिकाज पुगेका हुन् ।

माधव नेपालले असजिलो महसुस गरेको अनुभूत गरेपछि स्न्याक्स बाँडिदै गर्दाको त्यो क्षणमा परराष्ट्र सचिव शंकर वैरागी उनीछेउ आए । माधवले भने, ‘मेरो काम प¥यो, म जान्छु ।’ शंकरले भने, ‘हजुर, मैले कुरा बुझें तर यस्तै प¥यो ।’ माधवले दुखेसो पोखे, ‘ठाउँ नपुग्ने हो भने किन भीड जम्मा गरेको ? दुई दललाई मात्र बोलाएको भए भइहाल्थ्यो नि !’ उनैले जुक्ति निकाले, ‘म प्रधानमन्त्री र राष्ट्रपतिलाई बोलाएकोमा धन्यवाद भनेर घर फर्कन्छु ।’

वैरागीले भने, ‘हजुर, त्यसरी निस्कँदा त झन् बर्वाद भइहाल्छ नि !’ नेपालले अर्को जुक्ति फुराए, ‘त्यसोभए म शौचालय गएर त्यतैबाट गाडी बोलाउँछु अनि खुसुक्क निस्कन्छु । मैले प्रणव मुखर्जीलाई पहिले नदेखेको होइन । घरमा खान नपाएर आएको पनि होइन । अब निस्किएँ ।’ यति भनेर जुरुक्क उठी हिँडे । वैरागी वैराग मान्दै त्यहीं बसे ।

माधव नेपालले यस्तो रौद्र रूप देखाएको यो पहिलोपटक होइन । ०४९ सालमा राजा वीरेन्द्रले डिनर खान नारायणहिटी दरबारमा बोलाएका थिए । तर, पाहुना पुग्दा पनि राजा त्यहाँ नभएपछि निस्केर हिँडे । ज्ञानेन्द्रको पालामा पनि त्यस्तै कार्यक्रममा जाँदा अगाडिको गाडीलाई छाडेर आफ्नो गाडीको सुरक्षा जाँच र केरकार हुन थालेपछि फर्किएका थिए । आर्मी क्लबको एउटा कार्यक्रममा पनि त्यस्तै भयो । गिरिजाले प्रधानमन्त्री हुँदा बालुवाटारमा बोलाएका थिए । तर, त्यहाँ पुगेका नेपाललाई झुक्किएर ‘तपाईं किन आउनुभएको ?’ भनी उल्टो प्रश्न सोधिनासाथ फनक्क फर्किएर हिँडे । भोलिपल्ट बिहानै सम्बन्ध सुधार्न गिरिजा स्वयं कोटेश्वरमा चिया खान गएका थिए ।

मुखर्जीसँग माधवको मित्रता अहिलेको होइन । ०५१ सालमा परराष्ट्रमन्त्री हुँदा महाकाली सन्धिको दौरान तत्कालीन परराष्ट्रमन्त्री दिनेश सिंह बिरामी परेकाले वाणिज्यमन्त्रीको हैसियतमा यिनै मुखर्जीले माधव नेपालसँग वार्ता गरेका थिए । ०६२/६३ को आन्दोलनताका राजाको वैशाख ८ को घोषणा स्वीकार्नुप¥यो भन्दै तत्कालीन अर्थमन्त्री मुखर्जीले तीनपटकसम्म उनलाई फोन गरेर फकाउन खोजे । अहिले आउँदा पनि बेग्लै ४५ मीनेट भेटे । उनले ‘दिल्ली कहिले आउने ? चाँडै आउनुस्’ भनेर तीनचोटिसम्म निम्ता पनि दिए ।

नेपालको संविधानबारे कुरा गर्दा मुखर्जीले भारतकै संविधानलाई पनि कम्युनिष्टहरुले १०/१५ वर्ष नस्वीकारेको तर अहिले तिनैले दह्रोसँग प्रतिरक्षा गर्ने गरेको जानकारी दिए । यसको अर्थ यो पनि हुन सक्थ्यो– तिमीहरु आफ्नो अडानमा बस्यौ भने यो पछि स्वाभाविक रूपले सर्वस्वीकार्य बन्छ । अहिले नमान्नेहरूले पनि पछि अडान छाड्न सक्छन् ।

टिप्पणीहरू