तनहुँको बन्दीपुरमा पहिरोले दुईको मृत्यु, चिदी खोलाले डुबायो प्रहरी चौकी

तनहुँको बन्दीपुरमा पहिरोले दुईको मृत्यु, चिदी खोलाले डुबायो प्रहरी चौकी

तनहुँको बन्दीपुर गाउँपालिकामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ३, पामुङ्गमा आज बिहान गएको पहिरोमा परि स्थानीय ३५ वर्षकी सरस्वती थापा र ७५ वर्षकी हरिमाया बसेलको मृत्यु भएको हो । पहिरोले दुई घर बगाएको छ ।

पहिरोमा परेका ५ जनाको सकुशल उद्धार गरिएको पालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । थापाका अनुसार पहिरो झर्ने क्रम जारी छ । अहिले उक्त स्थानमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरेर उद्धार, स्थानान्तरण तथा राहत व्यवस्थापनलगायतका कार्य भइरहेको छ ।

पालिका भएर बग्ने सबै नदी र खेलामा पानीको वहाब बढेको थापाले बताउनुभएको छ । तत्काल पहिरोग्रसित क्षेत्रका स्थानीयलाई स्थानान्तरण गर्न सम्भव नभएकाले आफूहरु त्रिपालको व्यवस्थापनमा लागिपरेको उहाँले बताउनुभएको छ ।

चिदी खोलामा आएको बाढीले प्रहरी चौकी समेत डुबाएको छ । प्रहरी चौकीमा भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । बाढीले एउटा पुल समेत बगाएकाे स्थानीयले बताएका छन् ।

टिप्पणीहरू