हिजो ढाड भाँचे, आज निधार थापे

– उमा केसी


१ फागुन सबैभन्दा ठूलो चाड मानिन्थ्यो । जनता अबिर, माला अनि मीठो खानेकुरा बोकेर ब्यारेकभित्र आउँथे, जनतासँगै बसेर जनयुद्ध दिवस मनाइन्थ्यो । दशैं आउँथ्यो–जान्थ्यो खासै मतलवै हँुदैनथ्यो । शान्तिप्रक्रियापछि भने फेरि परम्परागत दशैं । राम्रो लुगा र गहनाको प्रतिस्पर्धा अनि भगवान्ले रक्षा गरून् भन्ने आशीष शुरु भएको छ । युद्धकालीन र वर्तमान संस्कृतिको तुलना गर्छिन्– पूर्वमाओवादी लडाकु पम्फा पुन ‘अभियात्री’ ।
यस वर्षको दशैंलाई मान्यजनबाट आशिष लिँदै राम्रा कपडा र मिठो खाएर मनाए । पूर्वमाओवादी लडाकु बटालियन भाइस कमाण्डर फविन्द्र आचार्य क्षितिजले ।
यी दुई पात्र रोल्पा सदरमुकाम लिवाङमा भेटिएका हुन् । दुवै स्वेच्छिक अवकाश रोजेर सामान्य जीवनयापनतर्फ फर्किएका । पम्फा गृहिणीको रूपमा छिन् भने फविन्द्रको सदरमुकाममा पसल छ । जनयुद्धको उर्वर भूमि मानिने रोल्पाबाट सहभागी हजारौं पूर्वलडाकुमध्ये गाउँमा खोज्ने हो भने औंलामा गन्न सकिने मात्र भेटिन्छन् । शान्ति प्रक्रियाका केही वर्ष देशमै बसेर परिवर्तनका लागि लड्छांै भन्नेहरू अहिले विदेशिएका छन् ।
रोल्पामा राज्य र विद्रोही दुवैबाट झण्डै हजार हाराहारीमा मारिए भने ५ दर्जन बढी अझै बेपत्ता छन् । घाइते र अंगभंगको  त लेखाजोखा नै छैन यहाँ । युद्धकालीन परिस्थितिमा दसैं, तिहारजस्ता चाडपर्व पनि प्रभावित थिए । सदरमुकाम आसपासमा बस्नेहरूले मात्र स्वतन्त्रपूर्वक चाडपर्व मनाउन पाउँथे ।
यस वर्षको दशैंमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टीका नलगाएको निकै चर्चा भयो । रोल्पामै जन्मिएका नेत्रविक्रम चन्दको दशैंबारे आमसञ्चार बेखवर रह्यो । सौन्दर्यशास्त्री मोहन वैद्यको दशैं कसैको चासोको विषय रहेन । बाबुराम भट्टराई वा पुष्पकमल दाहालको दसैंमा केन्द्रित हाम्रो सञ्चार जगत् चन्द र वैद्यको सन्दर्भमा मौनजस्तै देखियो । माओवादी पार्टी जसरी विभिन्न चिरामा विभाजित छ । दशैं–तिहारजस्ता चाडपर्वबारे उनीहरूको धारणा पनि त्यस्तै देखिन्छ । हिजो दौरा–सुरुवालमा पञ्चायतको धङधङी देख्ने फविन्द्रले यस वर्षको दशैंमा भने त्यही पोशाक लगाएर बाबु–आमा र गाउँका मान्यजनबाट टीका र आशिष थापे । यता विप्लव नेतृत्वको माओवादी जिल्ला सदस्य तथा दलित मुक्तिमोर्चा अध्यक्ष लालबहादुर सुनारले भने टीका लगाएनन् । परिवारका अन्य सदस्यले मनाए पनि आफूले भने टीका नलगाएको संक्षिप्त प्रतिक्रिया दिए ।
दशैंको पूर्वसन्ध्यामा विप्लव माओवादीले १९ असोजको दिन  रोल्पा घर भई विभिन्न जिल्लामा कार्यरत नेता–कार्यकर्ताको भेला ग¥यो आफ्ना नेताले अध्ययन गरेको बालकल्याण मावि लिवाङमा । सम्भवतः दशैं मान्न घर आउने भएका कारण कार्यक्रमको चाँजोपाँजो पनि यही बेला पारेर मिलाएको हुनुपर्छ । उक्त भेलाको ठीक १० दिनपछि २९ असोजमा प्रचण्ड नेतृत्वको माओवादीले त्यस्तै कार्यक्रम ग¥यो रोल्पा उद्योग वाणिज्य संघको हलमा । अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेत्री जयपुरी घर्ती, नेता कुलप्रसाद केसीलगायतको उपस्थितिमा सम्पन्न त्यो कार्यक्रम पनि दशैंलगत्तै भएको थियो ।
यी दुई माओवादीको कार्यक्रम दशैंकै मुखमा हुनु, सामाजिक सञ्जालमा कतिपय कार्यकर्ताले दशैंको अवसरमा यस्ता कार्यक्रम भए भनेर स्टाटस लेख्नुले पनि के पुष्टि गर्छ भने कार्यनीतिबारे जति अलमल छ, माओवादीमा त्योभन्दा बढी अलमल चाडपर्वबारे छ ।

टिप्पणीहरू