खेलकुदलाई चलायमान बनाउनुपर्छ : सदस्य सचिव सिलवाल

खेलकुदलाई चलायमान बनाउनुपर्छ : सदस्य सचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले कोरोना महामारीको बहानामा खेलकुद गतिबिधिलाई रोक्न उचित नहुने बताउनुभएको छ । उहाँले स्वास्थ्य मापदण्डको पालना गरेर खेलकुदलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

कोरोना महामारीको दोस्रो लहरसँगै मुलुकको खेलकुद क्षेत्र शिथिल बनेको छ । सरकारले निषेधाज्ञा केही खुकुलो बनाए पनि खेलकुद गतिबिधि सञ्चालन गर्न अनुमति दिएको छैन । यद्यपि राखेपले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेललाई भने स्वास्थ्य सर्तकता र तोकिएको मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिइएको छ ।

सदस्य सचिव सिलवालले कोभिड १९ को महामारीमा पनि खेल क्षेत्र चलयामान हुनैपर्ने तर्क गर्दै भन्नुभएको छ, ‘खेलाडी, प्रशिक्षकहरु फिजिकल्ली र मेन्टल्ली फिट हुनुपर्छ । त्यसैले खेलकुद क्षेत्रलाई कोभिड–१९ को दोस्रो लहरबाट बचाउन सरकारले जारी गरेका मापदण्डलाई सम्बोधन गर्दै लक्ष्यमा अघि बढेका छौं ।’

उहाँले खेलकुद प्रतियोगिताको सञ्चालन विभिन्न खेलकुद संघ र परिषद्को मात्र दायित्व नभई नागरिकको चासोको विषय बन्नुपर्ने बताउनुभएको छ । यसका लागि तीन वटै तहका सरकारले खेलकुदलाई चासोका साथ हेर्नुपर्ने बेला आएकोमा उहाँको जोड रहेको छ ।

सिलवालले विगत केही वर्षलाई हेर्दा र केलाउँदा खेलकुदको निम्ति छुट्ट्याइएका बजेट अपर्याप्त भएको बताउँदै सबै खेलकुदमा आशातित नतिजा निकाल्न लागि अहिले छुट्याइएको बजेट पर्याप्त नभएको बताउनुभयो । त्यसको लागि कम्तिमा कुल बजेटको १ प्रतिशत खेलकुदमा लगानी गर्नुपर्ने उहाँको जोड छ ।

उहाँले भन्नुभयो ‘नीतिगत र अन्य विषय कार्यान्वयनको लागि बजेट चाहिन्छ । तर अपर्याप्त छ ।’

टिप्पणीहरू