अब जीवनलाई उज्यालो बनाउन लागौँ

अब जीवनलाई उज्यालो बनाउन लागौँ

वस्तुलाई हेरेर, छामेर तथा अनुभव गरेर अनुभूति प्राप्त हुन्छ । अनुभूतिजन्य उत्सुकताले जानकारी प्राप्त हुन्छ । अनुभूतिपछि प्राप्त जानकारी नै ज्ञानको पहिलो स्रोत हो । ज्ञान आफैँमा शंका र प्रश्नहरूको निदानको उपज पनि हो । नयाँ–नयाँ कुरा जान्न उत्सुक मस्तिष्कजन्य चञ्चलता ज्ञानको अन्तरनिहित आधार हो । मस्तिष्कजन्य चञ्चलतामार्फत मानिस ज्ञानको सागरतर्फ डो¥याइन्छ । ज्ञानबाट विद्या र विद्याबाट बुद्धि (पात्रता ) प्राप्त हुन्छ । ज्ञान र बुद्धिको सबैभन्दा ठूलो शत्रु आफैँभित्र निहित अहंकार हो । आफैँलाई गुणी, ज्ञानी र सर्वश्रेष्ठ बुझ्ने लाल–बुझक्कड प्रवृत्ति ज्ञानको अझ ठूलो शत्रु हो । आफैँ सर्वज्ञानी भएको भ्रमले मानिसलाई ज्ञानका ढोका बन्द गरेर लम्पट तथा अहंकारी बनाइदिन्छ । लम्पट तथा अहंकारी व्यक्तिको मूर्खताको सीमा हुँदैन ।

मानिसमा असीमित ज्ञानको भण्डार हुन्छ । ज्ञानको भण्डार कहिल्यै भरिँदैन । यो ब्रह्माण्ड बोधगम्य र विशालकाय छ । सम्पूर्ण ब्रह्माण्डको अध्ययन जारी छ । जीवन र जगतलाई जुनीभरि अध्ययन गरेका विद्वान्हरूसमेत आफ्नो ज्ञानमा शंका गरिरहेका हुन्छन् । पूर्वीय दर्शन र ज्ञानको भण्डार अझ व्यापक छ । यसले नामुद विद्वान् र वैज्ञानीकहरूलाई समेत थकाई सकेको छ । फेरीपनी निरन्तर अध्ययन अनुसन्धान जारी छ । सम्पूर्ण ध्यान लक्षमा लक्षमा केन्द्रीत गर्न सक्दा मात्र सफलता हात पर्दछ । सफलता पूर्वको हल्लाको अर्थ हुदैन । निरन्तर मेहनत पछि प्राप्त सफलतामा उत्सव मनाऊनु मात्र जायज हुन्छ । संसारले सफलता खोजीरहेको हुन्छ । मान्छेको मुल्य पनि सफलतामा निहीत हुन्छ ।

तथ्य वाट सत्य पत्ता लगाऊने हो । तथ्यहरूले पुष्टी गरेपछि सत्य स्थापित हुने हो । सत्य आफूलाई खास विचार सही सत्य लागेको छ । कुनै काम ठीक लागेको छ भने त्यही मार्गमा हिँड्न सुरु गर्नुपर्छ। सत्यको बाटोमा कोही हिँड्न मान्दैन भने एक्लै हिँड्ने आँट गर्नुपर्छ । आफूले पाइला चालेपछि मात्र अरूले साथ दिने हुन् । अरूलाई विश्वास लागेपछि मात्र पछि लाग्न थाल्छन् । विश्वास बढ्दै जान्छ । साथ दिनेहरूको ताँती बढ्दै जान्छ । यदि, बाटो सही छ भने हजारौँ पछि लाग्दै जान्छन् । गन्ती एकबाट शुरु हुन्छ । एकबाट सय र सयबाट हजार, लाख हुँदै जान्छ । विजयपछि लाखौँ जनताको सम्पत्ति बन्छ ।

एउटा सफल मान्छेले आफ्नो निर्णयबाट दुनियाँलाई बदलिदिन्छ । सफल मान्छे त्यही हुन्छ । जसले ठीकको पक्षमा खडा हुने आटँ गर्छ । जो सही र सत्यलाई साथ दिन तयार हुन्छ । अनि दुनियाँलाई आफ्नो अठोट सही, सत्य र सफल हुनेमा विश्वास दिलाउन सक्छ । दुनियाँले ठीक र सत्यलाई मात्र साथ दिइरहेको हुन्छ । कहिले काहीँ झुट र बेठिकले पनि फुर्ती लगाउने अवसर पाउँछ । यो क्षणिक हुन्छ । झुटको साथी कहिल्यै पनि सफल हुन सक्दैन । गलत आधारमा खडा भएको संसार आफैँ भताभुंग भएर जान्छ । तसर्थ सही र सफल मानिसले दुनियाँलाई बदलिदिन्छ । आफू अघि लागेर अरूलाई पछि लगाउने काम गर्छ ।
व्यक्ति सफल हुन सबभन्दा पहिले आफैलाई परिवर्तन गर्नुपर्छ । समाजको परिवर्तन पनि अरूबाट आस गरेर हुँदैन । परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ । आफू परिवर्तन भएर मात्र अरूलाई परिवर्तन गर्न सकिन्छ । अरूलाई केवल ठुल्ठूला उपदेश दिएर आफूलाई महान् ठान्ने तरिकाले दुनियाँ जड भएर बस्छ । जड दुनियाँ र त्यसको अगुवाले पनि असफल हुनु अनिवार्य छ । असफल अगुवा आफै भीडमा रमाइरहेको हुन्छ र आफूलाई भीडको एउटा जन्तु बनाएर छाडिरहेको हुन्छ । सफल अगुवाले आफूसँगै दुनियाँलाई बदलेर हिँडाउँछ ।

खतरा मोल्न डराउनेले विजय प्राप्त गर्न सक्दैन । अप्ठेरो काम छाडेर भाग्दै हिँड्ने हो भने लक्ष्यमा पुग्न सम्भव हँुदैन । भनिन्छ, नो रिस्क, नो गेन अर्थात् रिस्क मोल्न सकिँदैन भने प्राप्ति पनि सम्भव हुँदैन । हिम्मत र अठोट गरेर अघि बढ्याे भने मात्र विजय प्राप्त हुन्छ । साँचो अर्थमा जो संघर्ष गर्न तयार हुन्छ । त्यही व्यक्ति विजयी हुन्छ । जो जस्तोसुकै खतरासँग भिड्न तयार हुन्छ । उही सफल हुन्छ । जो लड्नसँग डराउँछ त्यही व्यक्ति पराजित हुन्छ । समाजसँग डराउने र संघर्षबाट भाग्ने व्यक्ति लक्ष्यमा पुग्न सक्दैन । विजयका लागि समाजको साथ र संघर्ष गर्ने आँट अनिवार्य चाहिन्छ ।

यदि, हामी सूर्यजस्तै चम्किन चाहन्छौँ भने सूर्यझैँ तेज गतिमा कुद्ने आँट गर्नुपर्छ । भनिन्छ, जस्तो गति त्यस्तै प्रगति हुन्छ । अर्थात् जस्तो मति त्यस्ती गति पनि भन्छन् । जस्तो मति त्यही मात्रामा प्रगति हुने हो । प्रगति गर्नका लागि गति बढाउन आवश्यक छ र आफ्नो मतिलाई सुधार गरेर परिवर्तनतिर डो¥याउनुपर्छ । सुमतिले मनुष्यलाई ज्ञान र शक्तिले भरिपूर्ण बनाइदिन्छ । कुमतिले मनुष्यको ज्ञान र बुद्धि भ्रष्ट बनाइदिन्छ । शक्तिको भाँडो रित्तो बनाइदिन्छ । भनिन्छ, उँधो मति, उँधो गति हुन्छ । कुमतिले व्यक्तिलाई बुद्धिहीन र शक्तिक्षीण बनाएर सुकाइदिन्छ ।

संसार जित्न इच्छा गरेर मात्र पुग्दैन । ठूलो मान्छे बन्न या महापुरुष बन्न चहाना राखेर मात्र पनि पुग्दैन । इच्छा र चाहना पूरा गर्न दृढ निश्चय आवश्यक हुन्छ । अटल विश्वास र दृढ निश्चयले मानिसलाई लक्ष्यमा पु¥याउने काम गर्छ । निष्काम कर्म गर्न तयार हुनुपर्छ । स्वार्थ, लोभ र मोहले मनुष्यलाई अत्यन्त कमजोर बनाइदिन्छ । स्वार्थरहित र दृढ इच्छाशक्ति भएको मानिस लक्ष्यमा पुग्नु अनिवार्य छ । लक्ष्यमा पुग्ने मानिसले मात्र इज्जत, प्रतिष्ठा र सम्मान पाउँछ । मान–सम्मान र इज्जत मागेर पाइने चिज होइन । इज्जत कमाउनुपर्छ । यो सबभन्दा महँगो सम्पत्ति हो । इमान, लगन सफलताले मात्र सम्मान कमाइन्छ । इज्जत र प्रतिष्ठा सत्कर्म र सत्–विचारमा अन्तरनिहित हुन्छ ।

‘काम गर, फलको आस नगर ।’ यो गीताको सार हो । गीताले निष्काम कर्मको वकालत गर्छ । तर माक्र्सवादले परिणाम को खोजी गर्छ । ‘गर्दै जाऊ–हुंदै जान्छ’ यो माक्र्सवादको सार हो । अर्थात् काम गर्नेले मात्र परिणाम प्राप्त गर्छ । काम गर्नेले गल्ती गर्न सक्छ । गल्ती गर्नेले आफैं सही मार्ग पहिल्याउन पनि सक्छ । काम नगर्नेले गल्ती पनि गर्दैन । गल्ती गर्दैन भने अनुभव र शिक्षा पनि पाउँदैन । अनुभव, अनुभूति एवं शिक्षाबिना सफलता सम्भव हँुदैन । त्यसैले काम गर्दै जाऊ । परिणाम हात लाग्दै जान्छ । असल परिणाम नै सफलताको कसी हो । तत्काल सफलता खोजेर हुँदैन । निरन्तर असफल भए आफैँलाई सच्याउन तयार हुनुपर्छ ।

आफ्नो जीवन बुझ्न हरेकले पछाडि फर्केर हेर्नुपर्छ । आफ्नो विगतलाई राम्रोसँग नियाल्नुपर्छ । विगतका दुःख, पीडा र संघर्षलाई सम्झनुपर्छ । आफ्नो वर्तमान कसरी निर्माण भयो, त्यसलाई गम्भीर समीक्षा गर्नुपर्छ । अनि मात्र भविष्य सुन्दर बनाउन सकिन्छ । आफ्नो विगतलाई बिर्सेर सुन्दर भविष्यको कुरा गर्नु बकबास मात्र हुन्छ । कसैले एकै पटक आकाश चुमेको परिकल्पना गर्छ भने उसले छाँगाबाट खस्नै पर्छ । भविष्य बनाउनु छ भने क्रमशः अघि बढ्नुपर्छ । यथास्थितिबाट जीवन बन्दै–बन्दैन । जीवनको सुन्दरता गतिमा छ । गतिको आधार सत् विचार हो । सत् विचार र सत्कर्ममा जीवन उज्यालो हुन्छ । जीवनको भविष्य पनि उज्यालो देखिन्छ । अब जीवनलाई उज्यालो बनाउनतिर लागाँै।

टिप्पणीहरू