स्वीस बैंकमा भारतीयले थुपारे २० हजार करोड

स्वीस बैंकमा भारतीयले थुपारे २० हजार करोड

पछिल्लो सात वर्षमा भारतीयहरूले स्विट्जरल्याण्डका बैंकमा थुपारेको रकम २० हजार करोड पुगेको बताइएको छ । उक्त रकम पछिल्लो १३ वर्षकै सर्वाधिक हो ।

स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ । यसअघि सन् २०१९ मा ती बैंकमा भारतीय नागरिकले जम्मा गरेको कूल रकम ६ हजार करोड मात्रै थियो । त्यसपछि उक्त रकममा केही कमि आए पनि सन् २०२१ मा पछिल्लो १३ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

भारतीय अर्थ मन्त्रालयले स्वीस अधिकारीहरूसँग २०२१ मा नसोचेको ढंगले रकम बढ्नुको कारण र विवरणहरू मागेको बताइएको छ । यसैबीच मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त तथ्याङ्कले स्विट्जरल्याण्डमा भारतीयहरूले जम्मा गरेको रकम कालोधन, विवादास्पद वा कथित धनलाई संकेत नगर्ने जनाएको छ ।उक्त तथ्याङ्क सार्वजनिक भएपछि भारतमा प्रधानमन्त्री मोदीविरुद्ध सर्वसाधारणले आगो नै ओकलेका छन् । उनले सन् २०१४ मा कालोधनलाई रोक्ने वाचा गरेपनि अहिले ७ वर्षको बीचमा त्यस्तो रकम उच्च देखिएकाले उनको कथनी र करनीमा फरक परेको बताइएको छ ।

सन् २०१४ मा प्रधानमन्त्री मोदीले कालो धनलाई रोकेसङ्गै १ अर्ब ३० करोड प्रत्येक भारतीयको बैंक खातामा १५ लाख रुपैयाँ जम्मा हुने भाषण गरेका थिए । उनले त्यतिबेला पेट्रोल ३० रुपैयाँ प्रतिलिटर उपलब्ध गराउने वचन दिएका थिए तर अहिले भारु. १ सय पुगेको छ ।

मोदीले आफ्नो कार्यकालमा प्रत्येक वर्ष २ करोड भारतीयलाई वार्षिक रुपमा नयाँ रोजगारी उपलब्ध गराउने वचन दिएका थिए । तर कोरोना महामारी शुरु भएपछि झण्डै २ करोडले रोजगारी गुमाएको बताइन्छ । त्यसैगरी उनले भारतीय अर्थतन्त्रलाई ५ ट्रिलियन अमेरिकी डलर बराबरको बनाउने भाषण गरे पनि अहिले कूल गार्हस्थ्य उत्पादनमा ७ दशमलव २ प्रतिशतले कमि आएको छ ।

यी सबै सन्दर्भ जोडेर भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री मोदीलाई इतिहासकै विनाशकारी प्रधानमन्त्रीको विशेषण भिराइदिएका छन् ।

टिप्पणीहरू