ग्लोबल पिस इन्डेक्स : कोरोनामा पनि विश्व अशान्त

ग्लोबल पिस इन्डेक्स : कोरोनामा पनि विश्व अशान्त

विश्वको अर्थतन्त्र र सामाजिक अमनचयनको बारेमा अध्ययन गर्ने संस्था इन्ष्टिच्युट फर इकोनोमिक्स एण्ड पिसको वार्षिक विवरणमा पछिल्लो वर्ष पनि विश्व तुलनात्मक रुपमा अशान्त रहेको उल्लेख छ । ग्लोबल पिस इन्डेक्सको १५ औं वार्षिक विवरणमा विश्वव्यापी शान्ति र अमनचयनको अवस्थामा औसत रुपमा कमी आएको जनाइएको छ ।

अष्ट्रेलियमा मुख्य कार्यालय रहेको उक्त संस्थाले भनेको छ ‘यो वर्ष विश्वव्यापी शान्ति र अमनचयनको औसत स्तरमा ०.०७ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको तुलनामा ८७ वटा देशको अवस्थामा सुधार आएको छ । ७३ वटा देशको अवस्था खस्केको छ ।’

विश्वका १ सय ६० वटा देशमा गरिएको सर्वेक्षणले कतिपय देशले विगतमा झेलेको तनाव र द्वन्द्वको अवस्थामा सन् २०२१ मा कमी आएको छ । तर, विश्वव्यापी कोरोना महामारीले ती पहिलेका तनाव र द्वन्द्वको अवस्थालाई प्रतिस्थापन गरेको कारण अवस्था उस्तै देखिन आएको छ ।

२०२० मा विश्वका १ सय ६० वटा मुलुकमा १४ हजार ८ सय ७१ वटा ठूला हिंसात्मक प्रदर्शन, विरोध प्रदर्शन र दंगा भएका थिए । सन् २००८ देखि विश्वको सबैभन्दा शान्तिमय देशको स्थान बनाउँदै आएको आइसल्यान्डले यो वर्ष पनि उक्त स्थान कायम राखेको छ । अफगानिस्तान लगातार चौथो वर्ष विश्वकै अशान्त मुलुकमा रहेको छ ।

शान्ति र अमनचयनमा सबैभन्दा ठूलो सुधार मध्यपूर्व र उत्तर अफ्रिकी मुलुकहरूमा भएको छ । उनीहरूले वर्षौंदेखिका आन्तरिक द्वन्द्वमा उल्लेखनीय सुधार गरेका छन् । तर पनि ती क्षेत्र विश्वका अन्य क्षेत्रको तुलनामा अशान्त नै देखिन्छन् ।

इराकले युक्रेनपछि शान्ति र अमनचयनमा विश्वमै दोस्रो ठूलो सुधार कायम गरेको छ । बुर्किनाफासो १३ स्थान तल झरेको छ । धेरै शान्त र अमनचयन कायम रहेका मुलुकमा आर्थिक क्रियाकलाप र गतिबिधि पनि त्यहि ढंगले अघि बढेको पाइएको छ ।

कोरोना महामारीको समयमा शान्तिपूर्ण देशहरूको तुलनामा अशान्त देशहरूले तीन गुणा बढी निषेधाज्ञा र सेवा कटौती गरेको पनि रिपोर्टमा उल्लेख छ । ग्लोबल पिस इन्डेक्सले पोष्ट महामारीको अवस्था लामो समयसम्म रहने अनुमान गरेको छ । आर्थिक रुपमा कमजोर मुलुकलाई उक्त अवस्थाबाट मुक्ति पाउन झन् गाह्रो हुने बताइएको छ ।

टिप्पणीहरू