विघटनको मुद्दामा वरिष्ठहरुले बहस गर्ने

विघटनको मुद्दामा वरिष्ठहरुले बहस गर्ने

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च बारका तर्फबाट द्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरी (अदालतको सहयोगी) मा सिफारिस हुनुभएको छ । आज बसेको सर्वोच्च बारको बैठकले उहाँहरुलाई एमिकसमा पठाउने निर्णय गरेको बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई-दुई जना बरिष्ठ अधिवक्तालाई एमिकसका रुपमा पठाउन माग गरेको थियो । सोही मागबमोजिम दुई वरिष्ठलाई सिफारिस गरिएको घिमिरेले बताउनुभयो ।

एमिकसमा सिफारिस हुनुभएका दुवै अधिवक्ताहरू पूर्ण व्यावसायिक,इमान्दार,निष्ठावान कानुन व्यवसायीका रुपमा चिनिएकाले सर्वसम्मतिका साथ सिफारिस गरिएको सचिव घिमिरेको दावी छ । कोमलप्रकाश सर्वोच्च बारको पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिनिधिसभा विघटनको मुध्दा अहिले संवैधानिक इजलासमा विचाराधीन छ । असार ९ गतेदेखि निरन्तर सुनुवाई हुने गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको नेतृत्वमा बरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा मुद्दाको सुनुवाई हुनेछ ।

अदालतले गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने मुद्दामा राय लिन आवश्यक ठाने एमिकस क्युरी माग गर्ने प्रचलन छ । अघिल्लो प्रतिनिधिसभा विघटनको मुद्दामा पनि यस्तै गरिएको थियो ।

टिप्पणीहरू