सर्वोच्चलाई जवाफै नदिई मन्त्रिपरिषद बिस्तार

सर्वोच्चलाई जवाफै नदिई मन्त्रिपरिषद बिस्तार

अघिल्लो मन्त्रिपरिषद पुनर्गठनका बिरुध्द सर्वोच्च अदालतमा परेको मुध्दामा लिखित जवाफ पेश नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रीमण्डल बिस्तारको तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अस्ति २१ गते जसपाको महन्थ खेमालाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । प्रतिनिधिसभा बिघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा कामचलाउमा परिणत भएको सरकारले गरेको मन्त्रिपरिषद बिस्तार असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

सरकारले अहिलेसम्म अदालतलाई लिखित जवाफ पेश गरेको छैन । तर,आदेश आएको दुई दिन नबित्दै मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो ।

स्रोतका अनुसार आज नियुक्त हुन लागेका मन्त्रीहरुमा अधिकांश नयाँ अनुहार छन् । बताइएअनुसार माओवादी परित्याग गरी एमाले प्रवेश गरेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । थापालाई: सन्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गर्न लागिएको बुझिएको छ ।

त्यस्तै गृहमन्त्रीमा खगराज अधिकारी कन्फर्म भएको बताइएको छ । यसअघि महेश बस्नेतको समेत गृहमन्त्रीमा चर्चा थियो । बस्नेतलाई ल्याउँदा गोकुल छुट्ने भएपछि प्रधानमन्त्रीको दोस्रो रोजाइका अधिकारीलाई गृहको जिम्मा दिन लागिएको स्रोतले बताएको छ ।

यता ईश्वर पोखरेलले सम्हाल्दै आएको प्रधानमन्त्री कार्यालय हेर्ने बिना विभागीयमा मोहन बानियाँलाई ल्याउन लागिएको बुझिएको छ । माधव नेपाल पक्ष छाडेर ओलीतिर लागेका गणेश पहाडीलाई सामान्य प्रशासनमन्त्री बनाउन लागिएको छ ।

त्यस्तै,कृषिमन्त्रीमा ज्वालाकुमारी साह, बनमन्त्रीमा नारदमुनी राना, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा बिक नियुक्त हुन लागेको बताइएको छ ।

टिप्पणीहरू