नेपालीको लाशखर्च उठाएर खाने नेता बेपत्ता

नेपालीको लाशखर्च उठाएर खाने नेता बेपत्ता

जापानको सवारी दुर्घटनामा परी मरेका नेपालीको बीमा रकम झ्वाम पार्ने एनआरएनए अध्यक्ष देवीलाल भण्डारीको अरु आर्थिक घोटालामा पनि संलग्नता भेटिएको छ । सडक दुर्घटनामा परी दिवङ्गत नवलपरासीका हृदय जिसीको नाममा आएको वीमा रकम हिनामिना गरेको भण्डारीमाथि आरोप लागेको थियो । त्यसबारे छानविन गर्दा भण्डारी अरु घोटालामा पनि संलग्न रहेको पाइएको हो ।

जिसीको बीमा रकमको हिनामिनाबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले एनआरएनएको सन् २०१७ देखि २० सम्मका आर्थिक तथा अन्य गतिविधिमाथि छानविन गरेको थियो । छानविनबाट भूकम्पताकादेखि भण्डारीको कार्यकालमा भएका आर्थिक हिनामिनासम्म को तथ्य बाहिर आएको हो ।भण्डारी उपाध्यक्ष रहेका बेला सन् २०१८ मा जापानमा नेपाल फेस्टिभल संचालन भएको थियो । त्यतिबेला एनआरएनए जापानमा अध्यक्ष टासी वाङ्ग्दी लामा थिए । फेस्टिभल कार्यक्रमको संयोजक भण्डारीलाई बनाइएको थियो । कार्यक्रममा २ करोड ७० लाख उठेकोमा एक करोड ८० लाख खर्च गरी ९० लाख बराबरको हिसाब गोलमाल पारिएको छानविन समितिले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

कति रकम आएको हो भन्न कुनै गाह्रो कुरा होइन । इन्स्योरेन्सले पैसाको इन्भोइस दिएको हुन्छ, त्यो यता पेश गर्नुस् भन्दा पनि मान्नुभएन । अस्ति उहाँ आफैले गरेको पत्रकार सम्मेलनमा पनि बिल भर्पाइ केही पेश गर्न सक्नुभएको थिएन । त्यसो हुँदा यो कुरा अस्पष्ट छ । उहाँमाथि आशंका बढेको छ’,

त्यस्तै, भण्डारीले अर्को मृतकको रकममाथि पनि अनियमितता गरेको छानविन समितिको आशंका छ । जापानमा दिवंगत भएकी नेपाली अनलाइन पत्रकार राम तामाङ्गकी श्रीमतीको शव नेपाल ल्याउँदा भण्डारीले ३६ लाख खर्च लाग्यो भनेका थिए । उक्त रकमको हरहिसाब माग्दा भण्डारीले अहिलेसम्म दिन नसकेको पीडित परिवारले बताएको छ । छानविन समितिका एक सदस्यका अनुसार भण्डारीले शव नेपाल लैजाँदा लागेको हवाई खर्चलगायतका कुनै पनि खर्चको हिसाब देखाएका छैनन् ।

जिसीको झण्डै १ करोड खाएको आशंका

भण्डारीले सन २०१७ जुलाई २३ तारिखका दिन जापानको गुन्माकेन ओइजुमीमाची साकाता भन्ने ठाउँमा गाडीको ठक्करबाट मृत्यु भएका नवलपरासीका हृदयेश जिसीको बीमा रकममाथि अनियमितता गरेको परिवारका सदस्यहरुमार्फत बाहिरिएको थियो । तत्कालीन एनआरएनए बरिष्ठ उपाध्यक्ष र हालका अध्यक्ष भण्डारीलाई बीमा कम्पनीबाट रकम निकाल्न र शव नेपाल ल्याउनका लागि जिसी परिवारले विश्वास गरेर मन्जुरीनामा दिएको थियो । त्यसैका आधारमा रकम निकालेर आफूखुशी गरेको आरोप लागेको हो ।इन्स्योरेन्सबाट आएको रकम र शव नेपाल लैजाँदा भएको खर्चको विवरण माग्दा भण्डारी तर्किन थालेपछि जिसी परिवारले छानविनका लागि एनआरएनए जापानमा उजुरी हालेको थियो । भण्डारीले लिएको र आफूहरुले पाएको रकममा ठूलो अन्तर परेपछि आशंका लागेर छानविनका लागि भनेको मृतकका दाइले बताए ।

अध्यक्ष भण्डारी स्वयमले बीमाबापत २ करोड ६० लाख आएको स्वीकार गरेका थिए । तर पीडित परिवारको खातामा भने जम्मा १ करोड ८४ लाख मात्र गएको मृतकका दाइले यसअघि नै जनआस्थालाई बताएका थिए ।

‘बीमा रकमबाट आएको एक करोड ८४ लाख ६१ हजार दुई सय ८९ उहाँ (भण्डारी) ले बुवा कुलबहादुर घर्तिको राष्ट्रिय बाणिज्य बैंकमा ट्रान्सफर गरिदिनुभएको हो । त्यसको बैंक स्टेटमेन्ट मैसँग छ । पछि उहाँले यताउता जाँदा मेरो खर्च भएको छ भनेर १३ लाख लैजानुभयो’, मृतकका दाजुले भने ।

बीमाबाट के कति रकम आएको हो,शव नेपालसम्म ल्याउँदा कति खर्च लाग्यो र वकिल खर्च कति भयो भन्ने सामान्य हिसाब आफूहरुले खोजेको पीडित परिवार बताउँछ । तर,भण्डारीले हिसाब देखाउन आनाकानी गरेपछि शंका लागेको उनीहरुको भनाइ छ ।छानविन समिति भन्छ, अनियमितताको आशंका देखियो

भण्डारीले खर्चको हिसाब दिन नसकेकाले अनियमितताको आशंकालाई थप बल पुर्याएको छानविन समितिको निश्कर्ष छ ।

समितिले घटनामा एनआरएनए कसरी जोडियो र के कसरी सहयोग गरेको हो त्यसको सम्पूर्ण विवरण पारदर्शी रुपमा बुझाउन भने पनि सोअनुसार नबुझाएको तथा शव नेपाल लैजाँदा भएको खर्च,जापानिज वकिलको शु:ल्क लगायत खर्चको लिखित विवरण बुझाउन नसकेकाले अनियमितता गरेको पुष्टि हुने छानविन समितिका सदस्य बताउँछन् ।

‘कति रकम आएको हो भन्न कुनै गाह्रो कुरा होइन । इन्स्योरेन्सले पैसाको इन्भोइस दिएको हुन्छ, त्यो यता पेश गर्नुस् भन्दा पनि मान्नुभएन । अस्ति उहाँ आफैले गरेको पत्रकार सम्मेलनमा पनि बिल भर्पाइ केही पेश गर्न सक्नुभएको थिएन । त्यसो हुँदा यो कुरा अस्पष्ट छ । उहाँमाथि आशंका बढेको छ’, छानविन समितिका एक सदस्यले भने ।

छानविन समितिका अनुसार यसअघिका १४ वटा सवारी दुर्घटनाको केशमा जोडिएको एनआरएनए जापानले एउटाको पनि लिखित रेकर्ड राखेको छैन । बैंक खातामा जम्मा भएको रकम र खर्चको बिलहरु पनि नमिलेको छानविन समितिको भनाइ छ । धेरैजसो बिलहरु खाना खर्च, पार्किङ्ग खर्च,पेट्रोल खर्चका नाममा रकम लिएको पाइएको छ ।

छानविन प्रतिवेदन एनआरएन एसिया प्यासिफिक संयोजक गोविन्दबहादुर श्रेष्ठ र केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठलाई बुझाइएको छ । केन्द्रीय अध्यक्षसहितको बैठक बसेर एक हप्ताभित्र यसबारे निर्णय हुने छानविन समितिका एक सदस्यले बताए ।

टिप्पणीहरू