लकडाउन तोड्दै इधरका माल उधरको प्रदर्शन

लकडाउन तोड्दै इधरका माल उधरको प्रदर्शन

कोरोना महामारीको कारण संसार तहसनहस भैरहेको बेला रुपन्देहीको सीमावर्ति क्षेत्र खुनगाईमा कोभिडबिरुध्द एक युवा समूहले प्रदशन गरेको छ ।

उक्त समूहले सडकमा टायर बालेर भोलिदेखि बजार खोल्ने तथा काम गर्ने बताएको छ । रुपन्देहीमा जेठ मसान्तसम्म निषेधाज्ञा छ। तर निषेधाज्ञाको उल्लंघन गर्दै अर्जुन कुर्मी नामक युवाको नेतृत्वमा निषेधाज्ञा तोड्न उक्त समूहले आह्वान गरेको हो ।

प्रहरीले जथाभावी हिंड्डुल गर्ने ब्यक्ति तथा निषेधाज्ञा सामान ओसारपसार गर्ने सवारी साधन नियन्त्रणमा लिएपछि उक्त समूहले रुपन्देहीको सीमावर्ति क्षेत्र खुनगाईमा प्रहरी प्रशासनबिरुध्द नाराबाजी गरेको बताइन्छ ।कालीदह नाकाको रुपमा परिचित उक्त क्षेत्रमा मान्छेहरुले केही दिन यता निषेधाज्ञा उल्लंघन र मास्क, स्यानिटाइजर प्रयोग नगरी हिंडिरहेका छन् । उक्त नाका चोरी तस्करीकोलागि प्रख्यात छ । उक्त क्षेत्रबाट निषेधाज्ञाको समयमा पनि चोरी तस्करी भइरहेको छ ।

रुपन्देहीका सिडिओ आस्मान तामाङले भने, “माटो बोकेका ट्याक्टर रोक्न खोज्दा आन्दोलन गरेछन् । त्यहाँ म आफै पुगें, कसैले मास्क लगाएका छैनन् । काम नपरी बाटोमा हिंडिरहेका छन् ।” तामाङले निषेधाज्ञा तोडेको तथा स्वास्थ्य मापदण्ड नअपनाएको देखेपछि कडाई गर्न थाल्दा स्थानीयको नाममा माटो बोक्ने ब्यापारीले लफडा गरेको बताए ।

केही युवाले कोरोना केही होइन भन्दै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न।१ खुनगाईमा सडकमै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।

रुपन्देही प्रशासनले निषेधाज्ञा तोड्नेलाई एक महिना जेल पठाउने गरी संक्रमण रोग एेनअनुसार कारबाही चलाएको छ । उक्त कारबाहीअनुसार अहिलेसम्म ९ जनाले एक महिना कारागार बसे बराबरको रकम तिरेर छुटेका छन् । राज्यलाई खुलेआम चुनौति दिने कुर्मीको उक्त समूहलाई प्रहरीले पक्रेर जेल पठाउँछ कि यत्तिकै छाड्छ धेरैले प्रश्न उठाएका छन् ।

टिप्पणीहरू