हाम्रो ‘चेतना’को यो स्तरः कोरोनाको त्यो आक्रमण !

हाम्रो ‘चेतना’को यो स्तरः कोरोनाको त्यो आक्रमण !

–निनाम कुलुङ ‘मंगले’
आदरणीय पाठक महानुभावहरू, यसो सोचौं त,अहिले हाम्रो देशमा चलिरहेको कोरोना महामारीको यो दोस्रो लहरले हामी आफै ‘अति जान्ने सुन्ने (अजासु)’ भएर जथाभावी व्यवहार नगरेको भए,विज्ञहरूले भनेको मानेको भए, नियम पलना गरेको भए यस्तो ठूलो स्तरमा मानिस बिरामी हुने थिएनन् कि ! जन–धनको पनि यो हदसम्म क्षति हुँदैन थियो कि !

हुन पनि नेपालमा कोरोना महामारीको दोस्रो लहरका कारण दैनिक लगभग १८० जना मानिसले मृत्युवरण गरिरहेका छन् । जुन नेपालको जनसंख्याको तुलनामा धेरै ठूलो संख्या हो । यसै क्रममा ०७८ जेठ ५ गते एकै दिन सबैभन्दा धेरै अर्थात् २४६ जना नेपालीले कोरोना महामारीको दोस्रो लहरका कारण ज्यान गुमाएका छन् भने जेठ ३ गते पनि एकै दिन २१४ नेपालीको ज्यान गएको छ । ०७८ जेठ ६ गते पनि कोरोनाको दोस्रो लहरका बिरामी भएर एकै दिन १९४ जना मानिसले जीवन गुमाएका छन् ।

त्यसो त हामी नेपालीको अति जान्ने सुन्ने (अजासुपन) का कारणले गर्दा नै होला,गत वैशाख अन्तिम ताका एकै दिन ११ हजारभन्दा बढी मानिसलाई निषेधाज्ञाको समयमा बाहिर–फेर जथाभावी हिँडेको आरोपमा प्रहरी प्रशासनले कतै–कतै दिनभरि,कतै–कतै चार घण्टासम्म होल्डमा राखेको भनी समाचार आएको थियो । यसरी हेर्दा नेपालमा कोरोना महामारीको सुरुवात भएको लगभग १४-१५ महिना हुन लाग्दा पनि मानिसलाई चेतना नआउनु,बुझाइको स्तर नबढ्नु ! भनेको के को संकेत हो ? खै के भन्नु र ? अझै कोरोनाको दोस्रो लहर पिकमा गई रहेको छ,जबकि घट्ला कि ? भन्ने विज्ञहरू अनुमान गर्दै थिए ।

मधेसको मान्छेलाई कोरोनाको महामारीले केही गर्न सक्दैन भन्नेहरूलाई ‘अनि बाँके कहाँ पर्छ ?, पर्सा कहाँ पर्छ ?,अनि मुम्बई, दिल्ली, चेन्नई, कोलकाता, बेङलुरु, आन्ध्र,गुजरात ! आदि कहाँ पर्छ ?, हिमालमा पर्छ ?’ कि … भनी तत्कालै उनीहरूलाई प्रश्न गर्ने गर्थेँ ।

त्यसो त यो पंक्तिकार कोरोना विज्ञ नभएर एक अकिञ्चन लेखक मात्रै हो है ! तापनि … जे होस्, नेपालमा जारी कोरोना महामारीको दोस्रो लहर पिकमा गएर पनि अलि कम हुँदै आउला कि ? भन्दाभन्दै अरु बढ्ने संकेत देखिदैछ । त्यसो त हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयेसोउस घेब्रेयेसोसले पनि नेपाललाई तत्कालै आपतकालीन सहयोगको आवश्यक परेको भनी घोषणा गरिसक्नुभएको छ । हुन त उहाँले नेपालका साथै भारत,श्रीलंका, भियतनाम,कम्बोडिया र थाइल्याण्डमा पनि यो

महामारीले संकट ल्याएको बताउनुभएको छ । तापनि,विश्वका महामारी रोग विज्ञ,सरुवा रोग विज्ञ,जनस्वास्थ्य विज्ञ, खोप वैज्ञानिकहरू मिलेर हतार–हतारमा (लगभग ९ महिनामा) ‘नोभेल कोरोना भाइरस’अर्थात् (कोभिड–१९) को भाइरसविरुद्ध भ्याक्सिन पनि बनाइसकेका छन् ।

त्यसले गर्दा विश्वका करोडौं मानिसलाई एक हदसम्म राहत मिलेको छ । तर, फेरि पनि कोरोनाको स्थायी उपचार विधि भनेको आखिरमा ‘सामाजिक दूरी कायम गर्नु,मास्क लगाउनु,भीडभाडमा जथाभावी नहिँड्नु,टोल,बाटो, गल्ली,घर, कोठा तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनु’ ताजा तथा तागतिलो खाना (पैसो भए!) खानु,मन तातो पानी पिउनु, ताजा फलफूल तथा तरकारी खानु,योग गर्नु, ध्यान गर्नु,अनावश्यक चिन्ता नलिनु,ताजा हावामा सास लिनु आदिलाई नै अहिलेको अचुक ! उपचार विधि मानेका छन्,विषय विज्ञहरूले ।

हामी नेपालका जनताको त के कुरो गरौं र ? यसबारे कसैले कसैलाई भनिरहनै परेन । किनकि
हामी नेपाली ज्ञान,विवेक,सिकाई, बुझाई,सिर्जनशीलता,चेतनाको स्तर, चैतन्यमा शून्य नै भए पनि हामी आफूलाई ‘विश्वकै अति जान्ने–सुन्ने, सर्वज्ञ र सर्वज्ञानी मनुवा !’ ठान्ने मान्छे न पर्यौं ! तर,हामी नेपाली साँच्चै ‘विश्वकै अति जान्ने–सुन्ने, सर्वज्ञ र सर्वज्ञानी मनुवा वा स्वविवेकी !’ मान्छे भएको भए, अथवा आफूभन्दा जान्ने, बुझ्ने र विषय विज्ञहरूले भनेको मान्ने मान्छे मात्रै भएको भए, अहिले हाम्रो देशमा दोस्रो लहरको रूपमा चलिरहेको कोरोना महामारीको यो महासमर जित्नलाई त्यति गाह्रो हुन्थेन होला कि ? भन्ने मेरो ठम्याइ हो ।
अथवा यसो पनि भन्न सकिन्छ, साँच्चै हामी नेपाली स्वविवेकी मात्रै भए अथवा आफूभन्दा जान्ने, बुझ्ने र विषय विज्ञहरूले भनेको मान्ने मान्छे भएको भए,अहिले हाम्रो देशमा दोस्रो लहरको रूपमा चलि रहेको कोरोना महामारीको दोस्रो लहरको यो हदको ताण्डव नृत्यचाहिँ देख्नु,हेर्नुपर्ने थिएन,।

यति धेरै मानिसले कोरोनासँग हार खाएर दिनका दिन मर्नुपर्ने थिएन… तर,कसैले ‘मान वा नमान म तेरो मेहमान !’ भनेझैं हामी नेपाली स्वविवेकी मात्रै नभएर अति जान्ने,सुन्ने (अजासु) ! हौं, सर्वज्ञ हौं, सर्वज्ञानी हौं । मानौं कि यो ब्रम्हाण्डमा हामी नेपालीभन्दा जान्ने,सुन्ने,विवेकी, ज्ञानी,ध्यानी,विनयशील, सहनशील आदि कोही पनि छैनन् । त्यही भएर हामीहरू आफूभन्दा जान्ने, सुन्ने, बुझ्ने खास गरेर कुनै पनि विषयका विषय विज्ञहरूले भनेको समेत मान्दैनौं ! नत्र भने त कोरोना महामारी फैलिएको लगभग १६-१७ महिना भइसक्यो । तर,पनि हामीमध्ये धेरैले अझै पनि मुखमा राम्रोसँग मास्क लगाउँदैनौं,यसो चिउँडो मात्रै छोप्ने गरी लगाउँछौं ।

हामीले लगाएको मास्क आफ्नो अमूल्य जीवन बचाउनलाई र जीवनलाई सुरक्षा प्रदान गर्नका लागि होइन, कसैको बाध्यताका लागि मात्रै हो । कतिपयले नेपालीले त ‘भेगीय हिसावले पनि कोरोना महामारीले छुने वा नछुने भन्ने महाज्ञान !’ पनि प्राप्त गरेका थिए-छन् । जस्तै ‘म मधेसको हु्ँ, त्यसैले मलाई कोरोनाले छुँदैन, कोरोना लाग्दैन ! (यस्तो कुरो मैले बाँकेको घटना घट्दासम्म पनि सार्वजनिक यातायातमा भन्ने गरेको सुन्थेँ) भन्ने महाज्ञान पनि छ । त्यस्तै म हिमाली हुँ,त्यसैले मलाई कोरोनाको महामारीले भेट दिँदैन,दर्शन गर्दैन ! (यस्तो कुरो गरेको गरेकोचाहिँ मैले  सार्वजनिक यातायातमा खासै सुनिन) भन्नेसम्मको ‘अजासु’पन पनि हामी
नेपालीमा रहेको देखिन्छ ।

माथिको प्रसंगमा भन्नु पर्दा केहीअघि (वैशाख मध्यसम्म) पनि ‘म मधेसको हु्ँ,मलाई कोरोनाले छुँदैन, कोरोना लाग्दैन वा मधेसको मान्छेलाई कोरोनाको महामारीले केही गर्न सक्दैन भन्नेहरूलाई ‘अनि बाँके कहाँ पर्छ ?, पर्सा कहाँ पर्छ ?,अनि मुम्बई, दिल्ली, चेन्नई, कोलकाता, बेङलुरु, आन्ध्र,गुजरात ! आदि कहाँ पर्छ ?, हिमालमा पर्छ ?’ कि … भनी तत्कालै
उनीहरूलाई प्रश्न गर्ने गर्थेँ । विचरा ती पनि अवोध बालक–बालिकेहरूमा पर्ने ‘अजासु !’ हरू न  हुन्, उनीहरू पनि हामी नेपाली मध्येकै एक न हुन् ! त्यसैले उनीहरू स्वविवेकी मात्रै नभएर अति जान्ने सुन्ने (अजासु) ! भई टोपल्थे । त्यही भएर मेरो प्रश्नमा ‘तैँ चुप, मै चुप’ हुन्थे किनभने आम नेपालीमा चेतनाको स्तर जुन खालको छ,बुझाईको स्तर जुन खालको छ,उनीहरूको पनि औसतमा त्यही नै हो ।

त्यसैले कोरोना महामारीबारे वास्तविकता के हो ?, सत्य–तथ्य के हो ? आफैले जाँच–परख नगरी हचुवाकै भरमा, अथवा लिम्बु भाषामा भन्नु पर्दा ‘मेन्जो–सेन्जो’मै … ‘बिग–टक’ दिई हाल्थे-हाल्छन् । अझै पनि नेपालका धेरै ठाउँमा ‘तपाईँको मास्क खोई ?’ भनी अभियान चलाएर दशौं हजार मास्क बाँड्नु परि रहेको छ, कोही ठाउँमा त प्रहरी प्रशासनले ‘नगद जरिवाना ’गराएरै मास्क लगाउनुपर्ने वाध्यता सिर्जना गरिएको छ,कोही ठाउँमा मास्क नलगाई हिँड्नेहरूलाई ‘होल्डमा राखेर’ उनीहरूको पईन हेर्नुपर्ने अवस्था पनि आइरहेको छ ।

यसरी हेर्दा हामी नेपालीले हाम्रो आफ्नै हुर्मत ‘अति जान्ने सुन्नेपन (अजासु) !, सर्वज्ञता, सर्वज्ञानीपन देखाएर लिई रहेका-दिइरहेका छौं, यो ब्रह्माण्डमा हामी नेपालीभन्दा जान्ने, सुन्ने, विवेकी, ज्ञानी, ध्यानी, विनयशील, सहनशील आदि अरु कोही छैन ! छैन भनी जबरजस्ती प्रमाणित गर्न लागी परेका छौं । त्यही भएर हामी नेपाली आफूभन्दा जान्ने, सुन्ने, बुझ्ने खासगरी कुनै पनि विषयका विषय विज्ञहरूले भनेको र उनीहरूले दिएको सही र काम लाग्ने सुझाव वा चेतावनीलाई समेत मान्दैनौं !

यसपटक पनि गत वर्ष जस्तै सरकारले आफ्ना जनताका लागि अत्यावश्यक चिजबिजहरू जस्तै खान्ते–पिन्ते, अन्य सेवा–सुविधा, औषधो–उपचार, सार्वजनिक यातायात नचलेको अवस्था, राहत प्याकेज व्यवस्थापन बिना नै निषेधाज्ञा वा लकडाउन लागू गरेको अवस्था छ । त्यसमाथि निषेधाज्ञाको समय बित्दै जाँदा फितलोपन बढ्दै गएको छ । भन्न सकिन्न,कुन दिनदेखि मानिस कोरोना महामारीको डर सबै हटाएर बाहिर आउने हुन् ? किनभने बिना राहत प्याकेज र सहुलियत लगातार लामो समयसम्म निषेधाज्ञा वा लकडाउनले गर्दा कोही पनि व्यक्ति काम गर्न जान सक्ने अवस्था सिर्जना भएकोले गर्दा विस्तारै निषेधाज्ञाका कारण धेरै सर्वसाधारण नेपालीले आफ्नो दैनिक जीवन धान्न ‘आच्छु–आच्छु !’ हुँदै जाने पक्का छ । यस्तो अवस्था लम्बिएमा धेरैजसो निमुखा,गरीब,दुःखीजनहरू छन्, जसले दिनभरि ज्यालादारी वा बनीबुतो नगरी बिहान बेलुकीको चुलो बल्दैन, परिवार बिचल्ली हुने पक्का जस्तै छ, त्यस्तो अवस्थामा भोको पेट निषेधाज्ञा मानेर मात्रै को,कञ्जिेल बस्ने ? अहिले नै किटेर भन्न सकिने अवस्था छैन ।

उता यही क्रममा नेपालका निजी क्षेत्रका अस्पतालहरूले भने कोरोना महामारीको दोस्रो लहरका बिरामीहरूलाई अक्सिजन सहज ढंगले उपलब्ध नभएका कारण भर्ना गर्न नसक्ने भनी क्षमा याचनासहित विज्ञप्ती जारी गर्न थालेका छन् । यदि कोही कोरोनाका बिरामीहरू भर्ना हुने नै भएमा ‘अक्सिजन अभावका कारण मृत्यु भई हालेमा अस्पताल जिम्मेवार नहुने !’ भन्ने आशयको कागजमा पहिले नै बिरामीका आफन्तहरूलाई सही गराएर मात्रै भर्ना लिन थालेका छन् । त्यसो त अहिले हाम्रो देश नेपालमा दोस्रो लहर सुरु भए ताकाजस्तो स्थिति नभएर बिरामीहरूले देशभरि नै सिलिन्डर, अक्सिजन बेड, अस्पतालहरूको केही न केही सहजता र सकेसम्म राम्रै व्यवस्थापन हुन थालेको छ । यो (कोरोना) महामारीको औषधि बनी सकेको नहुनाले हामी विज्ञहरूको भनाइ मान्दै, स्वविवेक प्रयोग गर्दै आफू स्वयम् ‘अति जान्ने सुन्ने (अजासु !) नबनौं, हाम्रो अमूल्य जीवनको आयू पूरा बचाऔं ! आगे हाम्रो जीवन हाम्रै हातमा ….!!!

टिप्पणीहरू