गाडीको ठक्करले ड्युटीका पुलिसको ज्यान गयो, भारतीय लरीमा बाइक ठोकिंदा एकजना ठहरै

गाडीको ठक्करले ड्युटीका पुलिसको ज्यान गयो, भारतीय लरीमा बाइक ठोकिंदा एकजना ठहरै

देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । रुपन्देही, रौतहट, झापा र मकवानपुर भएका सवारी दुर्घटनामा एक प्रहरीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका–४ थकाली चोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पिकेट डिउटीमा रहेका ईलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्युठानका प्रहरी हवल्दार कर्ण बहादुर बुढामगरको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

यस्तै, रौतहटको गुजरा नगरपालिका–६ बेदौली नहरस्थित सडकमा अन टेस्ट लेखिएको टयाक्टरले ना ५५ प ६७७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार फतुवा बिजयपुर नगरपालिका–५ सन्तपुर बस्ने शिवपुजन प्रसाद यादवकी ७ वर्षीया छोरी कृतिका यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गुजरा नगरपालिका–६ बेदौलीका २० वर्षीय रमोद कुमार यादवको सोही अस्पतालमा उपचार भइरेहको बताइएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यता, झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका–१० टिकापुरस्थित सडकमा बा ६३ प २७९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कुजैहाङ लिम्बुको मृत्यु भएको हो ।

बिग्रिएर सडक छेउमा रोकी राखेको आरजे ०६ जीबी ५४२४ नम्बरको भारतीय लरी ट्रकको पछाडी उक्त मोटरसाइकल आफै अनियन्त्रित भई ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते  भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, मकवानपुर, भिमफेदी गाउँपालिका–३ कैलाश डाँडा ऐनाभिरस्थित सडकमा माटो सम्याउने क्रममा अन टेस्ट लेखिएको लोडर आफै अनियन्त्रित भई सडकबाट खसेर बुधबार राति दुर्घटना हुँदा लोडर चालक सोही गाउँपालिका चिलाउने बस्ने २५ वर्षीय राजेन्द्र घलानको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू