भूकम्पपछिको राजनैतिक क्षति न्यूनिकरण

भूकम्पपछिको राजनैतिक क्षति न्यूनिकरण

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा बहुमतप्राप्त नगरेपछि नेकपा एमालेको दुई पक्षबीच आज बल्ल वार्ता शुरु भएको छ ।

यसबीच भएका वार्ता, भेटघाट र छलफलमा बालुवाटारले देखाएको रवैया पार्टी एकतालाई मजबुत बनाउनेभन्दा उल्टो रहेको बताइन्थ्यो । स्रोत भन्छ ‘चरम स्वार्थप्रेरित रवैया देखियो । ब्वाँसोको स्टाइलमा कन्याउने काम मात्र गरियो ।’

सामूहिक राजीनामाको प्रसंगलाई लिएर एमाले उपमहासचिव घनश्याम भुसालसँग सम्पर्क गर्दा उहाँको धारणा थियो ‘सामूहिक राजीनामाको लाइन हो । सबै टिम एकै ठाउँमा रहनको लागि निर्णय गरिएको । पहिले चाँहि फ्लोर क्रस गर्ने भन्ने थियो । त्योभन्दा बरु राजीनामा दिइन्छ भनिएको हो । त्यो नितान्त आन्तरिक छलफलमा भनिएको थियो तर बालुवाटारका मानिसले बाहिर ल्याइदिए ।’

उक्त कुरो एकाएक बाहिर आएपछि आफूहरू ब्याक हुन नसकेको भुसाल बताउनुहुन्छ । आन्तरिक छलफलमा उठेको विषयलाई बाहिर ल्याइए तापनि कुरोचाँहि त्यहि सहि भएको उहाँको निचोड छ ।

उहाँ भन्नुहुन्छ ‘कि अध्यक्षका सबै कमी कमजोरीलाई स्वीकार्नुपर्यो । होइन भने उहाँ नसच्चिएसम्म राजनीतिक स्पेश अझै बाँकी छ भनेर जाने ठाउँ पनि देखिँदैन ।’

संसदीय गणितको आधारमा पनि अहिले प्रधानमन्त्री ओलीमाथि कुनै कठिनाई नभएको उहाँको विश्लेषण छ । भुसाल भन्नुहुन्छ ‘हामीले राजीनामा दिएर पनि कठिनाई नहुन सक्छ । तर, राजीनामा दिँदा उहाँले गर्नुभएका धेरै वटा गलत कार्य र कमी कमजोरीहरूबाट आफूहरूलाई असंलग्न बनाउन सकिने मेरो धारणा हो ।’

राजीनामा नदिँदा पनि खासै त्यसले अर्थ नराख्ने वहाँको तर्क छ । ठूलो दलको आधारमा सरकार बनाए पनि सांसद पद बढीमा छ महिना कायम रहने भएकाले त्यसको त्यति धेरै महत्व नभएको उहाँको टिप्पणी छ ।

उहाँ भन्नुहुन्छ ‘टिकटै लिएर पनि गर्नु र ! आखिर यसबीचमा धेरै जना मन्त्री भए,सांसद भए,खै कसैले आफ्नो बुध्दि वर्कतअनुसार काम गर्न पाएनन् ।’

उहाँका अनुसार कम्युनिष्ट पार्टी सामूहिक नेतृत्व र भावनामा चल्नुपर्छ । तर,उहाँ (प्रधानमन्त्री) ले जहिले पनि वानम्यानसीपमा विश्वास राख्दै आउनुभएको छ । मन्त्री भएर के गर्नु,सबैमा प्रधानमन्त्रीको नियन्त्रण ।

राजीनामाको सन्दर्भमा अर्का नेताले स्पष्ट पार्दै भन्नुभयो ‘जति ढिलो भयो त्यो आफ्नै समूहलाई घाटा लाग्ने हो । हिजोको दिनमा त्यो कुरा विद्रोहको लागि गरिएको हुन्थ्यो । अब भने शेरबहादुरको सरकार बनाउनको लागि गरिएको अर्थ लाग्ने भएको छ ।’

पार्टीभित्र र बाहिरका विरोधीहरूले आफ्नो राजीनामालाई ओलीको रिसले शेरबहादुरको सरकार बनाइदिएको भनेर झ्र्यांझ्याईं पार्नेमा उहाँ सचेत देखिनुभएको छ ।

अब के हुन्छ त भन्ने जिज्ञासामा भुसालले भन्नुभयो ‘कुरो मिलेन भने अझै नयाँ सरकारको गठनपछि पनि विश्वासको मत लिनुपर्ने हुन्छ । नीति तथा कार्यक्रम र बजेट बाँकी नै छन् ।

त्यसैले कुनै न कुनै किसिमले भूकम्प आएपछि क्षति व्यहोर्नै पर्नेमा ढुक्क हुँदै आफूहरू क्षतिलाई न्यूनीकरण गर्नमा लागेका छौं ।’

टिप्पणीहरू