यस्तो छ संसदमा अनुपस्थित हुने नेपाल समूहको तर्क

यस्तो छ संसदमा अनुपस्थित हुने नेपाल समूहको तर्क

अब बस्न लागेको प्रतिनिधिसभाको विशेष अधिवेशन तथा बैठकमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ । तर,वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । साथै विश्वासको मतसमेत नदिने निर्णय भएको छ ।

बिहानको बैठकमा सहभागी नेपाल समूहका एकजना नेताले भने ‘प्रधानमन्त्री ओलीको ह्विप उल्लंघन गर्नेछौं,बैठकमा अनुपस्थित हुनेछौं र उहाँलाई विश्वासको मत दिने छैनौं ।’

पार्टीको ह्विप उल्लंघन गर्नु राजनीतिक सुझबुझ हो र ? भन्ने जिज्ञासामा उनले भने ‘यसको मतलब के हो भने हामी अझै पार्टी एकताप्रति लचिलो छौं । केपी ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पद खोस्न गइरहेका छैनौं । हामीले नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटीलाई मान्यता दिइयोस् मात्र भनेका हौं ।’

‘जे गरेर हामी निस्किए पनि आखिर घाटा पुग्ने प्रधानमन्त्रीलाई नै हो । आज केपी ओली सरकारले विश्वासको मत नपाउने पक्का छ । हामीलाई कारबाही गरेर फालियो भने पनि सँगसँगै नयाँ सरकार बन्नको लागि पुग्ने घुमाउरो फाइदा उस्तै हो । आखिर कारबाही गर्दा पनि हुने त्यहि हो ।’

उहाँका अनुसार त्यो भनेको सर्वोच्च अदालतको फैसलालाई पालना गरियोस् भन्ने नै हो । पार्टीभित्र कसैलाई पनि काखा र पाखा नगरियोस् अनि विधिसम्मत ढंगले पार्टी सञ्चालन गरियोस् भन्नु आफ्नो गल्ती होइन ।

ती नेताले भने ‘हामीले प्रधानमन्त्री ओलीसँग कुनै पद मागेका छैनौं । उनले गरेको प्रतिनिधिसभा विघटन गलत भनेर अदालत जाने हामी,हाम्रो मागअनुसार बचेको प्रतिनिधिसभा उनैलाई जिम्मा लगाएर मैदान खाली गर्दा राम्रो सन्देश जाने देखिएन त्यसैले हामीले फ्लोर क्रससम्म गर्ने निर्णय गरेका छौं । अनुपस्थित हुने निर्णय गर्यौं तर यी सबै सामूहिक निर्णय हो । यो भनेको अझै पनि एकताको लागि हामीले ठाउँ राखेको हो ।’

आफूहरूले राजीनामा दिनु र अध्यक्ष केपीले कारबाही गरेर निकाल्नु बराबर रहेको उनको बुझाई छ । हिजोको बैठकको हवाला दिँदै उनी भन्छन् ‘जे गरेर हामी निस्किए पनि आखिर घाटा पुग्ने प्रधानमन्त्रीलाई नै हो । आज केपी ओली सरकारले विश्वासको मत नपाउने पक्का छ । हामीलाई कारबाही गरेर फालियो भने पनि सँगसँगै नयाँ सरकार बन्नको लागि पुग्ने घुमाउरो फाइदा उस्तै हो । आखिर कारबाही गर्दा पनि हुने त्यहि हो ।’

हाल प्रतिनिधिसभाको सदस्य संख्या २ सय ७१ कायम छ । माधव समूहलाई कारबाही गर्दा त्यो बाट अझ घट्छ । त्यसपछि कतिलाई कारबाही गर्ने ? कतिको संख्या पुर्याउने ? भन्दै उनी भन्छन् ‘त्यसैले नयाँ सरकार बन्नको लागि जुन संख्याले सहज हुन जान्छ तर प्रधानमन्त्रीलाई भने थप अप्ठेरो पर्छ । त्यो अवस्था उहाँले बुझ्नुपर्छ ।’

मिलेर जान अझै ठाउँ बाँकी रहेको माधव समूहले बताएको छ । तर कारबाही गरेर आफूहरूलाई फाले पनि हुने त्यहि अवस्था हो भन्दै उनै नेता भन्छन् ‘राजीनामा दिए पनि सांसद संख्या घट्ने हो तर विपक्षीलाई नयाँ सरकार बनाउन भने सहज हुन्छ ।’

टिप्पणीहरू