चुनाव हारेर पनि मुख्यमन्त्री

चुनाव हारेर पनि मुख्यमन्त्री

भारतको विधानसभा निर्वाचनमा पराजित भएकी ममता बनर्जी तेस्रो पटक पश्चिम बंगालको मुख्यमन्त्री बनेकी छन् । आफूले चुनाव हारेपनि उनकै नेतृत्वमा त्रिणमुल कंग्रेसले शानदार जित हासिल गरेपछि उनी मुख्यमन्त्री बनेकी हुन् ।

पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा निर्वाचनमा त्रिणमुल कंग्रेसले जित हासिल गर्दा बनर्जी भने नन्दीग्रामबाट भाजपाका उम्मेदवार शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् ।

मुख्यमन्त्री पदको शपथ लिएलगत्तै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने उद्घोष गरेकी छन् । मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम चलिरहँदा बाहिर सडकमा प्रमुख विपक्षी भारतीय जनता पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।

पश्चिम बंगालमा भाजपाले पनि उल्लेख्य जित हात पारेको छ । यसअघिको निर्वाचनमा मुश्किलले १० सिटको हाराहारीमा जितेको भाजपाले यसपटक ८० सिट ल्याएको छ ।

कम्युनिष्टको राम्रो प्रभाव क्षेत्र मानिएको पश्चिम बंगालमा पछिल्लो समय मार्क्सवादी भने नराम्रोसँग बढारिएको छ । ३४ वर्षसम्म सत्ता चलाएको कम्युनिष्ट पार्टीलाई हारको स्वाद चखाउँदै सन् २०११ मा त्रिणमुल कांग्रेस पश्चिम बंगालमा उदाएको थियो । त्यसयता वामपन्थीहरुले शर्मनाक हार व्यहोर्दै आइरहेका छन् । यसपटक काँग्रेस आईलाई समेत त्यहाँ शून्य हात लागेको छ ।

यता,तामिलनाडुमा क्षेत्रीय विपक्षी दल डीएमकेले सत्ता हात पारेको छ । केरलामा वाम गठबन्धनले नतिजा आफ्नो पक्षमा पार्दा बिजेपी बढारिएको छ । वामपन्थीहरुको बर्चस्व रहेको केरलामा भाजपा शून्य सिटमा खुम्चिएको छ ।

टिप्पणीहरू