सिंहदरबारभित्रै सुब्बाको प्रदर्शन

सिंहदरबारभित्रै सुब्बाको प्रदर्शन

निजामती कर्मचारीहरुमध्ये नायव सुब्बा तहका कर्मचारीले सिंहदरबारभित्रै जुलुस प्रदर्शन गरेका छन् ।

आज बिहान उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर निजामती विधेयकमा विभेदपूर्ण प्रावधान राखिएकोमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

सुब्बाहरुले ‘माननीयज्यू नासुको आँसु देख्नु भएन ?’ ‘गिरेको मनोबल, कस्तो खोजेको प्रतिफल’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

हाल संसदमा विचाराधीन निजामती कर्मचारी सेवासम्बन्धी विधेयकमा आन्तरिक प्रतिस्पर्धालाई हटाएर खुला प्रतिस्पर्धा र अन्तरतह प्रतियोगिताको प्रावधान राखिएको छ । निजामती ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था गरिएको भन्दै त्यसको खारेजीको माग गर्दै सेवा अवरुद्ध नहुने गरी आन्दोलन थालिएको प्रदर्शनकारीहरुले बताएका छन् ।

उनीहरुले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) मा गरिएको पदपूर्तिको नयाँ व्यवस्थाप्रति पनि बिरोध जनाएका छन् । उक्त श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने सुब्बाहरुको माग रहेको छ ।

टिप्पणीहरू