चुच्चे नक्सा नभएको पदक फिर्ता

चुच्चे नक्सा नभएको पदक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हालै वितरित पदकमा भारतद्वारा अतिक्रमण भूमि समेटिएको नयाँ नक्सा नराखिएको भन्दै पदक फिर्ताको घोषणा गरेकी पत्रकार लक्ष्मी पुनले गृह मन्त्रालयलाई पत्र लेखेकी छिन् ।

सोमबार पत्र लेख्दै उनले नेपालको लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा पदकमा नराखिएकोमा असन्तुष्टि जनाउँदै पदक फिर्ताको निर्णय गरेको उल्लेख गरेकी छिन् ।

‘मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गरिमासहित नेपालको संविधानमा उल्लेखित संघीय दुवै सदनले समेत पारित गरेको नेपालको लिम्पियाधुरा र लिपुलेक उक्त पदकमा नराखिएको अवस्थामा फिर्ता गर्ने निर्णय गरेकी छु’, पत्रमा लेखिएको छ । पत्रकार महासंघको निवर्तमान सचिवसमेत रहेकी लक्ष्मीले सरकारले पदकमा नयाँ नक्सा राखेर सच्याएको अवस्थामा पुन: स्वीकार गर्ने पनि बताएकी छन् ।

माओवादी जनयुद्धदेखि अहिलेसम्म पत्रकारितामा सक्रिय रहेकी उनले आफूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रवल जनसेवा श्री चतुर्थबाट विभूषित गरेकोमा धन्यवाद दिएकी छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई गत शुक्रवार पदक वितरण गर्नुभएको थियो । राष्ट्रिय महत्वको पदकमा अतिक्रमित भूमि समेटिएको नक्सा गायब गरिएको भन्दै लक्ष्मीले जस्तै अरुले पनि आशंका गरेका छन् ।

सरकारले भने गतवर्ष नै वितरण गर्नुपर्ने पदक कोरोना महामारी र त्यसपछि जारी भएको बन्दाबन्दीका कारण अहिले वितरण गरिएको र नयाँ नक्सा जारी हुनुअघि नै पदक बनाइएकाले त्यसमा पुरानै नक्सा रहेको स्पष्टिकरण दिएको छ ।

टिप्पणीहरू