देउवा सकारात्मक बनेपछि नयाँ सत्ता समीकरणको ढोका खुलेको दाबी

देउवा सकारात्मक बनेपछि नयाँ सत्ता समीकरणको ढोका खुलेको दाबी

वैकल्पिक सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीचको आज भएको त्रिपक्षीय छलफलले नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गरेको छ । यही विषयलाई लिएर दलहरुबीच लामो समयदेखि रहेको अन्योल केही हदसम्म हटेको बताइएको छ । नयाँ सरकार गठनबारे अहिलेसम्म मौन रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाकै अग्रसरतामा छलफल भएपछि वैकल्पिक सरकार गठनको विषयले औपचारिकतासमेत पाएको छ ।

देउवाले आज माओवादी केन्द्र र जसपाका शीर्ष नेतासंग कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि सहयोग मागेपछि वैकल्पिक सरकार गठनले औपचारिकता पाएको हो । तर, आफ्नै नेतृत्वमा सरकार बनाउने देउवाको पहल के हुन्छ त्यो भने भावी सत्ता समीकरणमा निर्णायक रहेको जसपाले गर्ने निर्णयमा भर पर्छ । कांग्रेसलाई जसपाको समर्थनबिना माओवादीलाई मात्र साथ लिएर सरकार बनाउन संसद्को अंकगणित पुग्दैन । एमाले (ओली) र कांग्रेस-माओवादी दुबैतिर समानान्तर छलफल गरिरहेको जसपाले अहिलेसम्म कसलाई समर्थन गर्ने प्रष्ट निर्णय दिन सकेको छैन । यस्तो अवस्थामा वैकल्पिक सरकार गठनका लागि जसपासमेतको आजको त्रिदलीय छलफललाई ‘ब्रेक थ्रु’ मानिएको छ ।

यद्यपि आजको छलफलमा पनि जसपाले ठोस निर्णय भने दिएन । स्रोतका अनुसार आजको छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावमा जसपा सकारात्मक देखिएको बताइएको छ । स्रोतले भनेअनुसार कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएको जसपाले छिट्टै निर्णय दिने बताएको छ ।

जसपाले निर्णय नदिएकै कारण प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता हुन सकेको छैन । अविश्वासको प्रस्तावमा जसपा अनिर्णित बन्दा माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छैन । आजको छलफलले नयाँ सरकार गठनमा तीनै दल एकै ठाउँमा छन् भन्ने संदेश दिएको एकथरिको बुझाइ छ । ‘देउवाले बैठक बोलाएर छलफल गर्नु पनि एउटा प्रगति हो । यसअघि उहाँ (देउवा) आफैँ सकारात्मक हुनुहुन्नथ्यो । त्यसैले अब वैकल्पिक सरकार गठनको विषयले औपचारिकता पाएको देखिन्छ’, स्रोतले भन्यो ।

यता, सरकार गठनमा पार्टीभित्रै एकमत बन्न नसकेको जसपामा यसैलाई लिएर अन्तरद्वन्द बढेको छ । जसपाभित्र पूर्व समाजवादी खेमा ओली सरकारको बहिर्गमनको पक्षमा खुलेरै लागेको देखिन्छ भने पूर्वराजपा खेमा भने बालुवाटारसँग पनि लगातार छलफलमा छ । वैकल्पिक सरकार गठनको औपचारिक प्रस्तावमा छलफल गरिसकेकाले जसपालाई अब ओली सरकारको निरन्तरताको पक्षमा उभिन नैतिक सकस हुने स्रोत बताउँछ । ‘कि त पार्टी फुटाएर अलग्गै हुनुपर्यो, हैन भने नयाँ सरकार गठनका लागि तीन दलसँग छलफल गरिसकेपछि अब जसपा अहिलेकै सरकारको पक्षमा उभिन कसरी मिल्छ ?’

कतिपयले भने महन्थ-राजेन्द्रको बालुवाटार दौडधुपलाई भारतीय लाइन पनि भनेका छन् । त्यसैले आज छलफल हुँदैमा जसपाले काँग्रेस-माओवादी गठबन्धनलाई समर्थन गरिहाल्ने अवस्था देखिंदैन । किनभने कुनैबेला पानी बाराबारको अवस्थामा देखिएका ओली र महन्थ -राजेन्द्रबीच बढेको घनिष्ठता उतैको निर्देशनमा भएकाले के हुन्छ भन्न सकिने अवस्था नरहेको बताइन्छ । संविधान संशोधनको नामसमेत सुन्न नचाहने ओलीले थुनामा रहेकाजसपाका  कार्यकर्ता छाड्नेबाहेक उसको माग सम्बोधन गर्ने कुरा कल्पनाभन्दा परको भएको जसपाकै नेताहरु बताउँछन् ।

 

टिप्पणीहरू