खेलमा साह्रै नमीठो जालझेल !

खेलमा साह्रै नमीठो जालझेल !

फागुन २३ गतेदेखि २५ गतेसम्म राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भयो । पक्लिहवा मावि र पक्लिहवा क्याम्पसको प्रांगणमा सम्पन्न प्रतियोगितामा ३१ वटा इभेन्ट सम्पन्न भए ।

उक्त प्रतियोगितामा एउटा गज्जबको परिदृश्य देखियो । प्रतियोगिता सम्पन्नतर्फ गइरहँदा अन्तिम दिन त्रिपल जम्प खेलाउने तयारी थियो । खेलकुदमा खटिएका राखेपका सदस्य उमा अधिकारी, प्रकाश राजभण्डारी, नगरपालिका अधिकृतसमेत रहेका प्रतियोगिता संयोजक चेतनशील लम्साल, देव ज्ञवालीलगायत सचिवालयमा प्रमाणपत्र तयारीको हतारोमा थिए । अम्पायरको भूमिकामा रहेका मोहन घले अर्को प्रतियोगिता सम्पन्न गराउन व्यस्त थिए । अर्का अम्पाएर जीवन बस्नेत भने सबैजना व्यस्त भएको मौका पारी त्रिपल जम्प गराउन थाले । बस्नेत एथलेटिक्स खेलको संयोजकसमेत हुन् । सबै खेल राम्रो हुँदाहँुदै बस्नेतले त्रिपल जम्पमा भने जालझेलको निर्णय गरे ।

त्रिपल जम्पमा एक जना मात्रै प्रतियोगी थिए । मनकामना स्कुलको प्रतियोगी मात्रै रहेको उक्त प्रतियोगिताको विजेता सहभागिताको आधारमा उनले तिनैलाई गराए । संयोगवश उक्त विद्यालयको प्राचार्य पनि उनै बस्नेत हुन् । पहिलो आफ्नै विद्यालयका खेलाडीको एकल सहभागिता रहेको प्रतियोगितामा नैतिकतावश उनी निर्णायक बस्न मिल्दैनथ्यो । दोस्रो, एक जना मात्रै खेलाडी सहभागी भएपछि उक्त प्रतियोगिता स्वतः रद्द हुन्छ । तर, बस्नेतले खेलाडी ट्र्याक लगाएर मैदानमा गएपछि विजेता घोषणा गर्नुपर्ने भन्दै निर्णय लेखेर सचिवालयमा बुझाए । उक्त विषयलाई लिएर सचिवालयमै घम्साघम्सी भयो ।

खेलकुद क्षेत्रका वरिष्ठ प्रशिक्षक मोहन घले र जीवन बस्नेतबीच झण्डै हात हालाहाल भयो । घले यो बस्नेतको निर्णय खेलकुदको नियमानुसार मान्य नहुने बताइरहेका थिए । बस्नेत खेलकुद परिषद्मा भलिबल प्रशिक्षकको रूपमा सेवा–सुविधा पाएर भर्खरै सेवानिवृत्ति भएका हुन् । राखेपमा साढे तीन दशकसम्म प्रशिक्षक रहेका बस्नेतले नियम बिर्सिएर हो वा बुझेर पनि बुझ पचाएका हुन्, त्यो केही दिनमा थाहा होला तर उनले जे गरे गलत गरे भनेर धेरैले भनिरहेका छन् । आजभोलि रूपन्देहीको खेलकुद क्षेत्रमा पूर्वप्रशिक्षक उनै बस्नेतको चर्चा छ ।

सिद्धार्थनगर पालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालका अनुसार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सबै इभेन्ट भव्य रूपमा सम्पन्न भइरहँदा त्रिपल जम्प प्रतियोगितामा एक जना मात्रै खेलाडी सहभागी भएको हँुदा खेलको नियमानुसार ती खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन नसकिएको हो ।

यसैगरी, गत शनिबार भैरहवामा सम्पन्न सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख दोस्रो महिला कपको एथलेटिक्सतर्फको रनिङ सिल्ड मनकामना बोर्डिङ स्कुल र नेपाल नालन्दा आवासीय बोर्डिङ स्कुलले संयुक्त रूपमा हात पार्न सफल भएका छन् । दुवै विद्यालयका सहभागी छात्राले प्राप्त गरेको स्वर्णपदक बराबर भएपछि दुवैलाई संयुक्त रूपमा उक्त रनिङ सिल्ड प्रदान गरिएको आयोजकले बताएका छन् ।

यसैगरी, भलिबलतर्फ मनकामना स्कुल प्रथम, आदर्श विद्यामन्दिर द्वितीय र नेपाल नालन्दा तृतीय भएका छन् । खेलमैदान अभावका कारण नेपाल प्रहरी संघीय कार्यालयको खेल मैदानमा सम्पन्न भएको थियो । खेलकुद सम्पन्न गराउन बोर्डिङ स्कुलका शिक्षकहरू खेलअवधिभर खुब खटिए । नगरपालिकाका कर्मचारी बेला–बेला आउने–जाने गरे तर सरकारी विद्यालयले भने उक्त खेल बहिष्कार नै गरे ।

सरकारी विद्यालयको असहयोगलाई लिएर खेलकुद समापन समारोहमा प्रतियोगिता संयोजकसमेत रहेका प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले सरकारी विद्यालयलाई नगरपालिकाले लिखित रूपमा स्पष्टीकरण सोध्नुपर्ने जिकिर गरेका छन् ।

पन्थीले त्यसो भने पनि नगरपालिकाले त्यो हिम्मत भने देखाउने छाँटकाँट छैन । किनकि नगरपालिकाका कर्मचारीभन्दा विद्यालयका प्राचार्यहरू बढी शक्तिशाली छन् । उनीहरू एक विद्यालयलाई छोएमा तत्कालै आन्दोलन गर्ने मुडमा छन् ।

नवदुर्गा मावि दोगरा त उद्घाटन सत्रको दिन आयोजित ¥यालीमा समेत सहभागी हुन जाँदै थियो तर एकाएक सामुदायिक विद्यालयका डनहरूको फोन आएपछि बाटोबाटै फर्कियो ।

भैरहवा उच्च मावि, खजहना निमावि, नवदुर्गा मावि दोगरा, बालबहिरा मावि, सिद्धार्थ प्रावि दर्ता भएर पनि पछि प्रतियोगितामा सहभागी भएनन् । त्यसको मूल कारण जुँगाको लडाइँ रहेको छ । सामुदायिक विद्यालय (सरकारी विद्यालय) र संस्थागत विद्यालय (निजी स्कुल) बीच चलेको द्वन्द्वको परिणाम हो यो ।
भैरहवा उच्च माविका प्राचार्य चुन्नप्रसाद पाण्डेले भने, ‘खेल हो बच्चाहरू खेल्नुपर्छ भन्ने तयारीसाथ हामीले दर्ता गरेका थियौं । तर, सामुदायिक विद्यालयका सरहरूले गेम टिचरलाई दबाब दिनुभएछ ।

आफूहरूले आयोजना गरेको खेलकुदमा असहयोग गरेपछि संस्थागत विद्यालयलाई एसइइका बेला असहयोग गर्ने बताएका छन् । संस्थागत विद्यालयले आफ्नो विद्यालयमा परीक्षा केन्द्र राख्न नदिने बताएका छन् । यसो भइहालेमा पनि त्यसको प्रत्यक्ष मार पुनः विद्यार्थीलाई नै पर्नेछ ।

टिप्पणीहरू