जाडाको कथा, बोकाको व्यथा

जाडाको कथा, बोकाको व्यथा

पुसको चिसाले कठ्याङ्ग्रिएर मरेको
म एक मुसहर
ए, मेरो अन्त्येष्टिमा दाहसंस्कार नगर
मलाई आगाले झन् बढी ठिहि¥याउँछ
किन तिमीहरू गाउँ नगरमा दाउरा बालेर धुनी जगाउन सक्दैनौ
किन तिमीहरू गरीब बस्तीमा कम्बल डस्ना बाँड्न सक्दैनौ
तिम्रो बिजुलीको भारकटौतीले हामीलाई रातबिहान ठण्डाराम पार्छाै
अब दाउरा नखोज
तिम्रो चिताले मलाई अझ चिस्याउँछ

संयोगवश गत वर्ष चिसाले मानिस बितेनन् । केपी शर्मा ओली सरकारले ठूलो श्रेय पायो । प्रधानमन्त्रीले आफ्नो सरकारको कार्यकालमा चिसोले कोही पनि नमर्ने भनी बताएको कुरा सावित भयो । यस वर्ष मुलुकमा मनसुनी वायु फर्केर गइसकेको छ र चिसो बढ्दै छ । मानिसले जाडाको जोहो गर्न लागिसके । तीन तहका सरकारले जनजीवनलाई न्यानो बनाउने कुनै योजना वा कार्यक्रम ल्याए नल्याएकोबारे भने केही थाहा छैन । जाडोसँगै बढ्ने वायु प्रदूषणप्रति त सरकार पूरै उदासीन छ । काठमाडौँकै वायुमा स–साना कणको मात्रा मापदण्डभन्दा पाँच गुणा बढी रहेको विज्ञले बताएकै छन् । यहाँ धुलोधुवाँ अब केही महिनामै निमिट्यान्न हुन्छ भन्ने सरकारी बोलीबारे जनताले जिज्ञासा राख्न पनि छाडेका छन् । धुलोधुवाँ जनजीवनकै अङ्ग बनिसकेको छ र सबैको नाक दुर्गन्ध र प्रदूषण प्रुफ भइसकेको छ । अनि बाढीपहिराबाट मर्न नदिन पनि कुनै उपाय छ भने घोषणा गरिए हुन्थ्यो । भीर, पहरा, टुप्पा, खोलानदी छेउमा बसेकाहरूलाई मैदानी भागमा ओरालेर एकीकृत बस्ती बसाउने कुरोचाहिँ कता गयो कुन्नि ?

अनि यो जाडो नि ः अँ, बालखको जाडो बोकाले खाइहाल्छ । बलियाबाङ्गा बाघलाई, बूढाबूढी माघलाई भइहाले । बाँकी रहे तन्नेरीहरू । ती एकथरिलाई चुरोट र अर्काथरिलाई वासः छँदै छ । बिहानभरि चार कप र दिउँसो आठ कप चिया खाएर भए पनि जाडो त भगाइन्छ भन्छन् चियाका शौखिनहरू । छ लुगा, छ जाडो, छैन लुगा केको जाडो ? अदुवा, लसुन, बेसार, हिङ, ज्वानो, जुल्फी, सुत्केरी मसला, कागती अनेक थरि छन् नेपालीका जाडा भगाउने तत्व । तैपनि यहाँ कुमारकुमारीहरू गुनासो गरी गाइरहन्छन्ः

रुई, फुई र दुई –यति तीन थोक चाहिन्छ जाडामहाँ
दुःखी छु रुई, फुई छ तर पनि दुई नहुँदामहाँ (मोतीराम भट्ट)

भएका जङ्गल उहिले ३६ सालमा सकिए । बाँकी बहुदलकालमा । अनि यो गणतन्त्रकालमा विकासका नाममा कैयौँ वनजङ्गल नाशिएको देखेकै छौँ । गोल, कोइला दाउरा कहाँ पाउनू ? दाउरापछि भुसे चुलो, ब्रिकेट, गुइँठा, गोबरग्यास, सौर्यचुल्हो आए तर जाडो गएन । एयरकन्डिसन्ड गाडी, बङ्गला र कार्यालयमा बस्नेलाई त जाडो कहाँ छ ? जसका आम्दानी छ्रैनन्, तिनले चाहिँ मर्नुपर्ने ? जसोतसो ढाड ढाके पनि टाउको, कान, तिघ्रा र खुट्टा चिसाको चिसै । कतै हिमपात त कतै चिसो लहर । काठमाडौँकै जाडो छ जीउ ठिहिराउने । कति नाक माड्नू, कति स्युस्यु गर्नू ? तराई –मधेशको मुटु रोप्ने जाडो सहन नसकी मरेका कथा पनि कति सुन्नू ? शीतलहर कुर्दै छन् दाजुभाइ, दिदीबहिनी । लौ न केही बन्दोबस्त गर्देऊ टायममै ।

कोरोनाकाल छ । अनि यो जाडामा कोभिड झन् बढ्छ भन्छन् । देउसीभैलो खेल्न नपाएकाहरू वनभोज गई रमाइलो गर्ने समय कुर्दै होलान् । कर्मचारी कार्यालयकै हिटर बालेर सुखदुःखका बात गर्न झुम्मिइसके । कोही घाम ताप्दै देशविदेशका कथा हाल्दै छन् । नरदेवी र प्राकृतिक चिकित्सालयहरूको निःशुल्क जडिबुटी र अरु औषधिले कोरोना जाला जस्तो छैन । चीन, अमेरिका र रुसको खोप कहिले आइपुग्ने ? युरोप र अमेरिकालाई भाग नपु¥याई यो गरीब देशाँ कसले दिने भ्याक्सिन ? बरु भारत कि आफू रुस दौडेको छ कि अमेरिकालाई आफूतिर ल्याएको छ । चीनसँग खोप झार्न उहान–३ गर्न पनि ऊ पछि पर्दैन । रहलपहल बाँकी भए विश्वनाथले पशुपतिनाथलाई पठाइदिन्छन् कि ?

गरीबका लागि एउटा कम्बल बाँड्न नसक्ने
वस्त्रहीनलाई एक धरो दिन नसक्ने
हिउँदभर दाउरा र बिजुली दिन नसक्नेहरू,

तिम्रा मान्छेलाई भनिदेऊ–मलाई नजलाऊ, खरानी नपार
बरु मेरो मृत देह कुनै सङ्ग्रहालयमा राखेर
भावी पुस्ताका लागि प्रदर्शन गर
थाहा पाऊन् ती मेरा भविष्यहरूले पनि

“उहिले उहिलेको नेपालमा कठ्याङ्ग्रिएर पनि मान्छे मर्दा रहेछन्
उहिले उहिलेको नेपालमा कम्बल बाँड्न पनि विदेशी सहायता पर्खनुपर्दाेरहेछ ।

[email protected]

टिप्पणीहरू