कम्युनिष्टको विवाद र हाम्रो मनोदशा

कम्युनिष्टको विवाद र हाम्रो मनोदशा

शरद अधिकारी

देशको ठूलो पार्टी नेकपाको एउटा खेमा सत्तामा छ । अर्काे पार्टीभित्रै प्रतिपक्षजस्तो हालतमा छ । जो सत्तामा छ उसले देश ठीकठाक चलिरहेको कुरा गर्छ देश विकास भएको र समृद्धिको यात्रामा गएको दाबी गर्छ । अर्काे पक्षले पार्टीलाई विधिसम्मत तरिकाले चलाउन प्रथम अध्यक्ष तयार नभएको गुनासो गर्छ । जनताले खोजेको विकास भइरहेको छैन भन्ने सबैलाई थाहा छ । सरकारमा बसिरहेकाहरूले पनि सरकार चल्नुपर्ने जसरी चल्न नसकेको कुरा गरिरहेका छन् । जबकि दलभित्रको कुरा दलभित्रै बसेर मिलाउने र देशलाई सुशासन दिनुपर्ने बेला हो यो ।
जनता नेकपालाई राजनीतिक स्थिरताका लागि मत दिएका थिए । विश्व कोरोनाले आक्रान्त छ । त्यसलाई कसरी परास्त गर्ने, विकास कसरी गर्ने भनेर गहन छलफल हुनुपर्ने हो । संविधानमा लेखेर मात्रै समृद्धि आउँदैन । जाने बाटो बनाउनुपर्छ । जनताको बहुदलीय जनवाद मात्रै जपेर हुन्छ कि ? एक्काइसौं शताब्दीको जनवाद त्यागेको गुनासो गरेर मात्रै हुन्छ ?

नेकपाको विवाद बाहिरको व्यक्ति, संस्था वा कुनै मुलुकले समाधान गरिदिने हैन । बाहिरकाहरूले समस्यामा खेल्ने मात्रै हुन् । छिमेकी भारत र चीनबीच बढ्दै गएको तिक्ततालाई कसरी कम गर्ने भन्नेबारे विश्वका अन्य मुलुकले चासो र चिन्ता राख्नेभन्दा पनि नेपालले नै पहल गर्नुपर्छ । हामीले आफ्नो भूमि कसैविरुद्ध प्रयोग हुन नदिने भनिरहेका छौँ । तर, नेपाली भूमि नै यतिबेला राजनीतिक अस्थिरताको गोलचक्करमा फसिरहेको छ । नेकपा जनमत मात्रै होइन अनुभवका हिसाबले पनि धनी छ । पूर्व प्रधानमन्त्रीहरू एक से एक छन् । राजनीतिक दर्शनकाबारे लेख्न, बोल्न र तर्क गर्न सक्नेहरू पनि एक से एक छन् ।

लाखौं मत र मनको जगेर्ना कसरी गर्ने भन्नेबारे नेकपाका नेताको ध्यान जान सकेको छैन । ढाई वर्षदेखि कमिटीविहीन अवस्था छ । हिजो एमालेमा के थियो ? वा माओवादीमा के थियो यो अर्को कुरा हो । माओवादी फौजी शैलीबाट अघि बढ्न खोज्छ होला । संगठनका हिसाबले लथलिंग होला । रूपान्तरण भएर शान्ति प्रक्रियामा आइसकेको अवस्थामा विगतको सोचलाई नै घोंचिरहनु पक्कै पनि मनासिव हुँदैन । हिजोका दिनमा के भयो ? कसले के गर्‍यो भन्नेतर्फ भन्दा पनि आगामी दिनमा कसरी जाने यसबारे सोच्नुपर्छ । यतिवेला नेकपामा साविकको सदस्यता कसरी बृद्धि गर्ने भन्ने रणनीति शुरु भएको छ । थोरै सदस्य हुँदा पनि ती प्रतिबद्ध भए भने कुनै दिन काम लाग्लान् तर अनुत्पादक भीडको अर्थ रहँदैन । नेकपासंग नेपाली जनता र मतदाताले गरेको अपेक्षाको मात्रै ख्याल गरिदिने हो भने समस्या समाधान हुन्छ । पार्टीलाई विधिसम्मत तरिकाले अघि बढाउनेबारे मात्रै सोचियो भने विवाद हुँदैन । विवाद आउँछ भने विधिबाटै समाधान गर्नुपर्छ । विधिलाई आत्मसात् गरियो भने राजनीतिक यात्रा लामो जान सक्छ । म मात्रै वा मेरा मात्रै, वा म भए ठीक अर्को भए बेठीक भन्ने खालको चिन्तनले कतै पनि पु¥याउँदैन ।

टिप्पणीहरू