एर्दोगन र मोदी जित्ने, ट्रम्प हार्ने ?

एर्दोगन र मोदी जित्ने, ट्रम्प हार्ने ?

अमेरिकी राष्ट्रपतीय निर्वाचन स्थानीय समयअनुसार आगामी मंगलबार हुँदैछ । यो वर्ष विगतमा झैं २४ घण्टाभित्र अन्तिम नतिजा आउने सम्भावना देखिँदैन । कोभिड–१९ को कारण कतिपय मत हुलाकबाट पठाइने भएकाले यसपटक नतिजा ढिलो आउने भएको हो । चार वर्षअघि सबैको अनुमानलाई गलत साबित गराउँदै रिपब्लिकन पार्टीको तर्फबाट अर्बपति डोनाल्ड ट्रम्पले डेमोक्रयाट उम्मेदवार पूर्व प्रथम महिला तथा विदेशमन्त्री हिलारी क्लिण्टनलाई पराजित गरेका थिए ।

निर्वाचनको लागि मुश्किलले ७२ घण्टा बाँकी छँदा यसपटक डेमोक्रयाट उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले बाजी मार्ने अधिकांश न्यूज एजेन्सीहरूले भविश्यवाणी गरेका छन् । हुन तः अघिल्लो पटक पनि मतदानको दिनसम्म यसैगरी श्रीमती क्लिण्टनको जीतको सुनिश्चित भविश्यवाणी गरिएको थियो । चार वर्षअघि राष्ट्रवादको नारा लगाउँदै अमेरिकामा ट्रम्पले जसरी चुनाव जितेका थिए त्यसैगरी त्यो ताका भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र टर्कीमा राष्ट्रपति रेसिप तैयिप एर्दोगानले ‘ल्याण्डस्लाइड भिक्ट्री’  गरेका थिए ।

विश्वका अन्यत्रबाट आई अमेरिकामा बसोबास गरेका आप्रवासीहरूप्रति कडा रवैया अपनाउने र मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने तर खर्च मेक्सिकोलाई व्यहोर्न लगाउने जस्ता हावादारी नारा अघि सारेर ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने अभियानलाई अघि सारेका थिए । यसबीच ती सबै नारा ओझेलमा परेपछि उनी चुनावभन्दा झण्डै ९ महिना अघिदेखि शुरु भएको विश्वव्यापी कोरोना महामारीको झोंकामा परेका छन् । अनुहारमा लगाउने मास्क र लकडाउनको घोर बिरोधी उनी केही समयअघि आफैँ संक्रमित बन्न पुगेका थिए ।

विश्वको महाशक्ति राष्ट्र अमेरिकाले दशकौंदेखि विश्व राजनीति र अर्थनीतिको नेतृत्व गर्दै आएको छ । तर,राजनीतिक मूल्य-मान्यताको न्यूनतम योग्यतासमेत नभएका राष्ट्रपति ट्रम्पले आफ्ना दुई डेमोगोग्स (प्रजातान्त्रिक तवरले सर्वसाधारणको भावना र चाहनामाथि नपत्याउँदो तवरले राजनीति गर्न सफल नेता) सँगी अर्थात् निर्वाचित तानाशाह टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक चातुर्यबाट पाठ सिक्न निकै ढिलो भइसकेको बताइन्छ । एर्दोगन र मोदी दुबैले सतहमा चर्को राष्ट्रवादको नारा लगाएपनि व्यवहारमा विश्वव्यापी बहुराजनीतिक र आर्थिक विकासको पक्षपोषण गरेरै चुनाव जितिरहेका छन् ।

ट्रम्प झैँ भिन्न तथा विशिष्ट राजनीतिक प्रणालीका एर्दोगन र मोदी दुबैजना स्वयम् घोषित प्रजातान्त्रिक नेताहरू पनि वैदेशिक बहुराष्ट्रिय कम्पनीहरूप्रति चर्को असन्तुष्टि पोख्दै विकल्पमा ‘स्थानीयको बीऊ’ रोपेर एकाएक आन्तरिक राजनीतिक प्रतिस्पर्धामा खरो उत्रिएका हुन् । दुबैले स्थानीय कुलीन वर्गमा व्याप्त भ्रष्टाचार र नातावादको बिरूद्ध शंखनाद गर्दै विपक्षीहरूलाई निकै पछाडि पारिदिए । त्यस्ता आकर्षक नारालाई उनीहरूले ट्रम्पले जस्तै करोडौं सर्वसाधारणको जीवित अनुभवसँग समेत जोडिदिएका थिए । त्यससँगै आफ्नो मुलुकका स्थापित राजनीतिज्ञ र मूलधारका सञ्चार माध्यमले ती विषयलाई वर्षौंदेखि बेवास्ता गरेको आरोपसमेत लगाउन भ्याए ।

पछिल्ला दिनमा ट्रम्प,एर्दोगन र मोदीको सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति र गहना नै चर्को राष्ट्रवादी भावना रहिआएको छ । उक्त भावना र आफ्ना मुलुकमा पुराना सम्भ्रान्त वर्गलाई प्रभावकारी ढंगले पाखा लगाएपछि एर्दोगन र मोदीलाई स्वःघोषित राष्ट्रिय महानताको दर्शन नवीकरण गर्न जनताले फेरि एक पटक अनुमति दिएका छन् । पछिल्ला भविश्यवाणीले असफलता हात लाग्ने खबर बाहिर आइरहेको क्षणमा ट्रम्पको हकमा भने अझै केही दिन कुर्नुपर्ने भएको छ ।

एर्दोगन र मोदी सरकारले डिजिटल टेक्नोलोजी र सामाजिक सञ्जालमा मात्र सफलता प्राप्त गरेका छैनन् ‘लिगेसी मिडिया’ लाई मनोवैज्ञानिक तवरले डराउने र थुरथुर  बनाउने प्रणालीमार्फत् नियन्त्रण गर्न समेत सफल भएका छन् ।

पछिल्लो समयमा विश्व राजनीति र अर्थनीति सम्बन्धमा एर्दोगन र मोदी दुबै अमेरिकी राष्ट्रपतिभन्दा धेरै सफल देखिएका छन् । विश्लेषकहरूका अनुसार आफ्ना समर्थकहरूको लागि गरिने षड्यन्त्ररूपी नक्कली सिद्धान्त र ‘फेक समाचार’ को माध्यमबाट नयाँ वास्तविकताहरूको एकपक्षीय हल्लाका कारण उनीहरूलाई सफलता हात लागेको हो । यसबीच एर्दोगन र मोदी सरकारले डिजिटल टेक्नोलोजी र सामाजिक सञ्जालमा मात्र सफलता प्राप्त गरेका छैनन् ‘लिगेसी मिडिया’ लाई मनोवैज्ञानिक तवरले डराउने र थुरथुर  बनाउने प्रणालीमार्फत् नियन्त्रण गर्न समेत सफल भएका छन् । यसबाट आफ्ना आलोचकहरूको मुख बन्द गराइएको छ भने अर्कोतर्फ बेरोकतोक आफू अनुकूलको एकोहोरो व्याख्या र प्रचार गरिएको छ ।

ट्रम्पले सर्वोच्च अदालतलाई अदालतको भौतिक घेराभित्र सिमित गराउन सफल भएका छन् । चार वर्ष देखि एक मात्र फक्स न्यूजको कडा समर्थन उनलाई प्राप्त छ । तरपनि उनले मोदी र एर्दोगनलेझैँ राष्ट्रिय संस्थाहरू मार्फत् मुलुकको शिक्षा प्रणाली र टेलिभिजन च्यानलहरूबाट सेनाभित्र दह्रो पकड जमाउन सकेको देखिएन । भारत र टर्कीमाझैँ लामो समयदेखि उनले रिपब्लिकन पार्टीको लागि दिलोज्यान दिएर खट्ने वैचारिक कार्यकर्ताहरूप्रति राजनीतिक समर्पणको भावना र व्यवहारसमेत प्रदर्शन गर्न नसकेको बताइन्छ ।

टर्किस राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले निर्वाचनमा सफलता पाउन समयानुकूल विभिन्न हत्कण्डा  प्रयोग गरेका थिए । चुनाव आउनु एकाध वर्षअगावै मोदीले भारतीय अर्थतन्त्रबाट बिरोधीको हात झिक्नको लागि भारुको ‘डिमोनिटाइजेसन’ गराएका थिए । उक्त कदमलाई प्रभावकारी रूपमा सर्वसाधारण जनताको भावना र सोचको एक नयाँ संसार सिर्जनाको रुपमा प्रस्तुत गरेपछि मोदीले अधिकांश भारतीयलाई विश्वस्त तुल्याउँदै उक्त काम आफूले धनी र भ्रष्ट कुलीन वर्गको खोजीमा गरेको सबैभन्दा उत्तम रहेको बताउन थाले ।

आफ्ना गल्ती र कमजोरीबाट पीडितहरूका लागि मोदीले हिन्दू धर्मको आडमा बलिदानको निम्ति आव्हान गर्न पछाडि नपरी भन्ने गरेका छन् ‘पीडा र निजीकरण नागरिकले राष्ट्रिय महानताको लागि तिर्ने अमूल्य योगदान हो ।’ उता, एक बफादार मुस्लिमको पहिचान बनाएका एर्दोगनले पनि आफ्नो व्यक्तित्वले त्यस्ता धेरै भक्त र टर्किसहरूलाई त्यसैगरी गुमराहमा राख्न सफल भइरहेका छन् ।

तर,आफ्ना समकालीन विश्व राजनीतिका सँगीहरूको अभियान र सफलताको विपरित ट्रम्पले भने आंशिक रूपमा पराजयको सामना गरिसकेको आभाष मिलेको बताइन्छ । किनभने उनी मोदी र एर्दोगनले झैँ न आत्मिक र नैतिक परम्परातर्फ आकर्षित हुन सक्छन्,न अब प्रबुद्ध स्वार्थको लागि अपिल नै गर्नसक्ने अवस्थामा छन् । उनका ती सम्भावना विगतको मेक्सिकोको सिमानामा खडा गर्ने भनिएको पर्खाल र अमेरिकालाई फेरि एकपटक महान बनाउने भनिएको असफल लक्ष्यसँग विलीन भइसकेको छ ।

चुनावको मुखैमा आइपुग्दासम्म उनले चर्को स्वरमा चीन,चिनियाँ राजनीति र उसको महत्वाकांक्षी अन्तर्राष्ट्रिय नीति बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को आलोचना गरेका छन् । चीनले अघि बढाएको बीआरआईलाई ‘सांस्कृतिक मार्क्सवादी’ भनेर निन्दा गरेका छन् भने विश्वव्यापी कोभिड–१९ को महामारीलाई केही समयअघि हल्का ढंगले चिनियाँ भाइरसको विशेषण नै भिराइ दिएपछि नराम्रोसँग विवादमा फसेका थिए ।

यसपटक विगतमा झैँ गोरो छाला भएका मतदाताहरूले मात्रै नाटकीय जित हासिल गराउन नसक्ने अवस्था देखिँदै गएको हो ।

तर, कुनै पनि डेमोगोगको लागि आन्तरिक र वाह्य दुश्मनको छवि पहिचान अपरिहार्य हुन्छ । ट्रम्पको हकमा त्यो लागू भएको देखिँदैन । अर्कोतर्फ राजनीतिक सिद्धान्त र पहिचानलाई तिलाञ्जली दिए सरहका अमेरिकी राष्ट्रपतिको निम्ति यसपटक विगतमा झैँ गोरो छाला भएका मतदाताहरूले मात्रै नाटकीय जित हासिल गराउन नसक्ने अवस्था देखिँदै गएको हो । पछिल्लो चार वर्षको कार्यकालमा उनले अल्पसंख्यक अमेरिकी झैँ शिक्षित गोरा मतदाताको समेत मन अमिलो बनाइदिएका छन् ।

यसरी हेर्दा बरु मोदी र एर्दोगनले ट्रम्पकोभन्दा राजनीतिक कलामा निपुणता हासिल गरेका छन् भन्न सकिन्छ । एकजना इस्लामवादी भएर पनि एर्दोगन धर्मनिरपेक्ष र अतिवादी राष्ट्रवादी आन्दोलन पार्टी (एमएचपी) को समेत समर्थन लिन सफल भएका छन् । उता मोदी पनि चर्को हिन्दूवादी हुँदाहुँदै साना क्षेत्रीय पार्टी र धर्मनिरपेक्ष राजनीतिज्ञहरूको सहयोगमा थप विस्तारित  भएका छन् । कतिसम्म भने मोदी र एर्दोगन दुबैले आफू र आफ्नो दल अत्यधिक बहुमतमा हुँदाहुँदै पनि कमजोर विपक्षीबाट समेत फाइदा लिने राजनीतिक कार्यलाई जारी राखेका छन् । तर ट्रम्पले कार्यकालको सुरुदेखि नै आफ्नै कारण गम्भीर राजनीतिक र कानुनी चुनौतीहरूको सामना गर्नुपरेको छ ।

विभिन्न एजेन्सीका समाचारमा आधारित ।

टिप्पणीहरू